YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 57:1-11

भजनसंग्रह 57:1-11 NNRV

ममाथि कृपा गर्नुहोस्‌, हे परमेश्‍वर, ममाथि कृपा गर्नुहोस्‌, किनकि मेरो प्राणले तपाईंमा शरण लिन्‍छ। यो आपत्‌ नहटुञ्‍जेल, तपाईंकै पखेटाको छायामुनि म शरण लिनेछु। सर्वोच्‍च परमेश्‍वरमा म पुकारा गर्छु, परमेश्‍वरमा, जसले मेरो निम्‍ति आफ्‍नो अभिप्राय पूर्ण गर्नुहुन्‍छ। स्‍वर्गबाट उहाँले पठाउनुहुन्‍छ र मलाई बचाउनुहुन्‍छ, र मलाई क्रूरतासँग पिछा गर्नेहरूलाई हप्‍काउनुहुन्‍छ। परमेश्‍वर आफ्‍नो करुणा र विश्‍वसनीयता प्रकट गर्नुहुन्‍छ। सेला म सिंहहरूका बीचमा छु, म भक्षक जनावरहरूका बीचमा सुत्दछु। मानिसहरू जसका दाँत बर्छा र बाण हुन्‌, जसका जिब्रा धारिला तरवारझैँ छन्‌। हे परमेश्‍वर, तपाईं स्‍वर्गभन्‍दा पनि उच्‍च हुनुहोस्‌, तपाईंको महिमा सारा पृथ्‍वीभरि व्‍याप्‍त होस्‌। तिनीहरूले मेरा गोडाका निम्‍ति जाल बिछाएका छन्‌, म सङ्कष्‍टले तल नुहेको छु। तिनीहरूले मेरो सामुन्‍ने एउटा खाड़ल खनेका छन्‌, तर तिनीहरू आफै त्‍यसमा परेका छन्‌। सेला मेरो हृदय स्‍थिर छ, हे परमेश्‍वर, मेरो हृदय स्‍थिर छ, म गाउनेछु, म राग बजाउनेछु। हे मेरो प्राण, जाग्‌, हे वीणा र सारङ्गी, जाग, म प्रभातलाई जगाउनेछु। हे परमप्रभु, जातिहरूका बीचमा म तपाईंको प्रशंसा गाउनेछु। मानिसहरूका बीचमा म तपाईंको विषयमा गाउनेछु। किनकि तपाईंको करुणा स्‍वर्गसम्‍म महान्‌ छ, र तपाईंको विश्‍वसनीयताले आकाशै छुन्‍छ। हे परमेश्‍वर, तपाईं स्‍वर्गभन्‍दा पनि उच्‍च हुनुहोस्‌, तपाईंको महिमा सारा पृथ्‍वीभरि व्‍याप्‍त होस्‌!