YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 18:16-36

भजनसंग्रह 18:16-36 NNRV

उहाँले माथिबाट आफ्‍नो बाहुली पसारेर मलाई समात्‍नुभयो। उहाँले गहिरो सागरबाट मलाई तानेर निकाल्‍नुभयो। उहाँले मलाई मेरा शक्तिशाली शत्रुबाट छुटाउनुभयो, मेरा शत्रुहरूबाट, जो मभन्‍दा अत्‍यन्‍तै शक्तिशाली थिए। मेरो विपत्तिको दिनमा तिनीहरू ममाथि आइलागे, तर परमप्रभु मेरा सहारा हुनुभयो। उहाँले मलाई फराकिलो ठाउँमा ल्‍याउनुभयो, उहाँले मलाई उद्धार गरिदिनुभयो, किनकि उहाँ मसँग प्रसन्‍न हुनुभएको थियो। मेरो धार्मिकताअनुसार परमप्रभुले मसँग व्‍यवहार गर्नुभयो। मेरा हातका शुद्धताको अनुरूप उहाँले मलाई प्रतिफल दिनुभयो। किनकि म परमप्रभुको मार्गमा चलेको छु, मेरा परमेश्‍वरबाट तर्केर मैले दुष्‍टता गरेको छैनँ। उहाँका सारा नियमहरू मेरै सामुन्‍ने छन्‌, र उहाँका कानूनहरू मैले त्‍यागेको छैनँ। उहाँको दृष्‍टिमा म निर्दोष थिएँ, र दोषबाट मैले आफैलाई अलग्‍ग राखें। परमप्रभुले मेरो धार्मिकताअनुसार र उहाँको दृष्‍टिमा मेरा हातका शुद्धता अनुरूप मलाई प्रतिफल दिनुभएको छ। वफादारप्रति तपाईं वफादार हुनुहुन्‍छ, निर्दोषसँग तपाईं आफूलाई निर्दोष प्रकट गर्नुहुन्‍छ। शुद्धसँग तपाईं आफै शुद्धै देखा पर्नुहुन्‍छ, तर बाङ्गोसँग तपाईं आफूलाई चतुर प्रकट गर्नुहुन्‍छ। दीन-हीन मानिसहरूलाई तपाईं छुटाउनुहुन्‍छ, तर अहङ्कारी आँखा हुनेहरूलाई तपाईंले झुकाइदिनुहुनेछ। हे परमप्रभु, तपाईंले मेरो दियो बालिराख्‍नुहुन्‍छ, मेरा परमेश्‍वरले मेरो अन्‍धकारलाई उज्‍यालोमा परिवर्तन गर्नुहुन्‍छ। तपाईंको सहायताले म फौजमाथि आक्रमण गर्न सक्‍छु, र मेरा परमेश्‍वरको सहायताले म पर्खाल नाघ्‍‌न सक्‍छु। परमेश्‍वरको विषयमा भन्‍ने हो भने, उहाँको मार्गचाहिँ सिद्ध छ, परमप्रभुको वचन सच्‍चा छ। उहाँमा शरण लिनेहरू सबैका उहाँ ढाल हुनुहुन्‍छ। किनकि परमप्रभुबाहेक अरू को परमेश्‍वर छ र? हाम्रा परमेश्‍वरबाहेक अरू चट्टान को छ र? उनै परमेश्‍वर, जसले मलाई शक्तिशाली तुल्‍याउनुहुन्‍छ, र मेरो मार्गलाई सिद्ध तुल्‍याउनुहुन्‍छ। उहाँले मेरा खुट्टाहरू मृगको खुट्टाजस्‍तै तुल्‍याउनुहुन्‍छ, र उच्‍च स्‍थानमा खड़ा हुन मलाई सक्षम बनाउनुहुन्‍छ। उहाँले मेरा हातहरूलाई युद्धको निम्‍ति तालीम दिनुहुन्‍छ, यसैले मेरा पाखुराले काँसाको धनु झुकाउन सक्‍छन्‌। तपाईंले मलाई आफ्‍नो विजयको ढाल दिनुभएको छ, र तपाईंको दाहिने बाहुलीले मलाई सहारा दिएको छ। मलाई महान्‌ बनाउन तपाईं स्‍वयम्‌ झुक्‍नुहुन्‍छ। मेरा पाइलाहरूका निम्‍ति तपाईं फराकिलो बाटो बनाउनुहुन्‍छ, र मेरा गोडा चिप्‍लनेछैनन्‌।