YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 18:16-36

भजनसंग्रह 18:16-36 NCV

उहाँले माथि उच्‍चबाट हात पसारेर मलाई समातेर थाम्नुभयो; उहाँले मलाई गहिरो सागरबाट तानेर निकाल्नुभयो। उहाँले मलाई मेरा शक्तिशाली शत्रुबाट छुटाउनुभयो, मेरा वैरीहरूबाट, जो मभन्दा धेरै बलिया थिए। मेरा विपत्तिका दिनमा तिनीहरू ममाथि आइलागे, तर याहवेह मेरा सहारा हुनुभयो। उहाँले मलाई एउटा फराकिलो ठाउँमा निकालेर ल्याउनुभयो; उहाँले मलाई छुटाउनुभयो; किनकि उहाँ मसँग प्रसन्‍न हुनुहुन्थ्यो। याहवेहले मेरो धार्मिकताअनुसार मसँग व्यवहार गर्नुभएको छ; मेरा हातका शुद्धताअनुसार उहाँले मलाई प्रतिफल दिनुभएको छ। किनकि म याहवेहको मार्गमा चलेको छु; मेरा परमेश्‍वरबाट तर्केर मैले दुष्‍टता गरेको छैनँ। उहाँका सारा नियमहरू मेरा अगि छन्; उहाँका उर्दीहरूबाट म तर्केर हिँडेको छैनँ। म उहाँको अगि निर्दोष रहेको छु; र मैले आफूलाई पापबाट जोगाइराखेको छु। याहवेहले मेरो धार्मिकताअनुसार, उहाँको दृष्‍टिमा मेरा हातका शुद्धताअनुसार मलाई प्रतिफल दिनुभएको छ। विश्‍वासयोग्यसँग तपाईं आफूलाई विश्‍वासयोग्य रूपमा देखाउनुहुन्छ, निर्दोषसँग तपाईं आफूलाई निर्दोष रूपमा प्रकट गर्नुहुन्छ; शुद्धसँग तपाईं आफूलाई शुद्ध रूपमा प्रकट गर्नुहुन्छ, तर छलीसँग तपाईं आफूलाई चतुर प्रकट गराउनुहुन्छ। तपाईं नम्रहरूलाई बचाउनुहुन्छ, तर जसका आँखामा अहङ्कार छ, तिनीहरूलाई होच्याउनुहुन्छ। हे याहवेह, तपाईंले मेरो दियो बलि रहन दिनुहुन्छ; मेरा परमेश्‍वरले मेरो अन्धकारलाई उज्यालोमा परिवर्तन गर्नुहुन्छ। तपाईंको सहायताले म फौजमाथि आक्रमण गर्न सक्छु; मेरा परमेश्‍वरसँग म अग्लो पर्खाल नाघ्न सक्छु। परमेश्‍वरको बारेमा भन्‍नुपर्दा, उहाँका मार्ग सिद्ध छ: याहवेहको वचन दोषरहित छ; उहाँमा शरण लिनेहरू सबैको उहाँ ढाल हुनुहुन्छ। किनकि याहवेहबाहेक अर्को परमेश्‍वर को छ र? हाम्रा परमेश्‍वरबाहेक अर्को चट्टान को छ र? उनै परमेश्‍वरले मलाई युद्धको लागि तयार पार्नुहुन्छ, र मेरा मार्गलाई सुरक्षित तुल्याउनुहुन्छ। उहाँले मेरा पाउहरू मृगको झैँ बनाउनुहुन्छ; उहाँले मलाई उच्‍च स्थानमा खडा रहन सक्षम बनाउनुहुन्छ। उहाँले मेरा हातहरूलाई लडाइँको निम्ति तालिम दिनुहुन्छ; मेरा पाखुराले काँसोको धनु तानेर झुकाउन सक्छन्। तपाईंले मलाई आफ्नो सुरक्षाको ढाल दिनुभएको छ, र तपाईंको दाहिने बाहुलीले मलाई सहारा दिएको छ; तपाईंको सहायताले मलाई महान् बनाएको छ। तपाईंले मेरा पाइलाहरूका निम्ति बाटो फराकिलो बनाउनुहुन्छ, ताकि मेरा गोडा नचिप्लून्।

भजनसंग्रह 18 पढ्नुहोस्