YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 18:16-36

भजनसंग्रह 18:16-36 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

उहाँले माथिबाट आफ्‍नो बाहुली पसारेर मलाई समात्‍नुभयो। उहाँले गहिरो सागरबाट मलाई तानेर निकाल्‍नुभयो। उहाँले मलाई मेरा शक्तिशाली शत्रुबाट छुटाउनुभयो, मेरा शत्रुहरूबाट, जो मभन्‍दा अत्‍यन्‍तै शक्तिशाली थिए। मेरो विपत्तिको दिनमा तिनीहरू ममाथि आइलागे, तर परमप्रभु मेरा सहारा हुनुभयो। उहाँले मलाई फराकिलो ठाउँमा ल्‍याउनुभयो, उहाँले मलाई उद्धार गरिदिनुभयो, किनकि उहाँ मसँग प्रसन्‍न हुनुभएको थियो। मेरो धार्मिकताअनुसार परमप्रभुले मसँग व्‍यवहार गर्नुभयो। मेरा हातका शुद्धताको अनुरूप उहाँले मलाई प्रतिफल दिनुभयो। किनकि म परमप्रभुको मार्गमा चलेको छु, मेरा परमेश्‍वरबाट तर्केर मैले दुष्‍टता गरेको छैनँ। उहाँका सारा नियमहरू मेरै सामुन्‍ने छन्‌, र उहाँका कानूनहरू मैले त्‍यागेको छैनँ। उहाँको दृष्‍टिमा म निर्दोष थिएँ, र दोषबाट मैले आफैलाई अलग्‍ग राखें। परमप्रभुले मेरो धार्मिकताअनुसार र उहाँको दृष्‍टिमा मेरा हातका शुद्धता अनुरूप मलाई प्रतिफल दिनुभएको छ। वफादारप्रति तपाईं वफादार हुनुहुन्‍छ, निर्दोषसँग तपाईं आफूलाई निर्दोष प्रकट गर्नुहुन्‍छ। शुद्धसँग तपाईं आफै शुद्धै देखा पर्नुहुन्‍छ, तर बाङ्गोसँग तपाईं आफूलाई चतुर प्रकट गर्नुहुन्‍छ। दीन-हीन मानिसहरूलाई तपाईं छुटाउनुहुन्‍छ, तर अहङ्कारी आँखा हुनेहरूलाई तपाईंले झुकाइदिनुहुनेछ। हे परमप्रभु, तपाईंले मेरो दियो बालिराख्‍नुहुन्‍छ, मेरा परमेश्‍वरले मेरो अन्‍धकारलाई उज्‍यालोमा परिवर्तन गर्नुहुन्‍छ। तपाईंको सहायताले म फौजमाथि आक्रमण गर्न सक्‍छु, र मेरा परमेश्‍वरको सहायताले म पर्खाल नाघ्‍‌न सक्‍छु। परमेश्‍वरको विषयमा भन्‍ने हो भने, उहाँको मार्गचाहिँ सिद्ध छ, परमप्रभुको वचन सच्‍चा छ। उहाँमा शरण लिनेहरू सबैका उहाँ ढाल हुनुहुन्‍छ। किनकि परमप्रभुबाहेक अरू को परमेश्‍वर छ र? हाम्रा परमेश्‍वरबाहेक अरू चट्टान को छ र? उनै परमेश्‍वर, जसले मलाई शक्तिशाली तुल्‍याउनुहुन्‍छ, र मेरो मार्गलाई सिद्ध तुल्‍याउनुहुन्‍छ। उहाँले मेरा खुट्टाहरू मृगको खुट्टाजस्‍तै तुल्‍याउनुहुन्‍छ, र उच्‍च स्‍थानमा खड़ा हुन मलाई सक्षम बनाउनुहुन्‍छ। उहाँले मेरा हातहरूलाई युद्धको निम्‍ति तालीम दिनुहुन्‍छ, यसैले मेरा पाखुराले काँसाको धनु झुकाउन सक्‍छन्‌। तपाईंले मलाई आफ्‍नो विजयको ढाल दिनुभएको छ, र तपाईंको दाहिने बाहुलीले मलाई सहारा दिएको छ। मलाई महान्‌ बनाउन तपाईं स्‍वयम्‌ झुक्‍नुहुन्‍छ। मेरा पाइलाहरूका निम्‍ति तपाईं फराकिलो बाटो बनाउनुहुन्‍छ, र मेरा गोडा चिप्‍लनेछैनन्‌।

शेयर गर्नुहोस्
भजनसंग्रह 18 पढ्नुहोस्

भजनसंग्रह 18:16-36 पवित्र बाइबल (NERV)

परमप्रभु माथिबाट ओर्लेर तलसम्म पुग्नु भयो र मलाई बचाउँनु भयो। परमप्रभुले मलाई समात्नु भयो र गहिरो पानीबाट तानेर निकाल्नुभयो। मेरा शत्रुहरू म भन्दा बलिया थिए, तिनीहरूले मलाई घृणा गर्दथे। मेरा लागि मेरा शत्रुहरू एकदम शक्तिशाली थिए, यसर्थ परमेश्वरले मलाई बचाउनु भयो। म विपत्तिमा थिएँ, र मेरा शत्रुहरू ममाथि आइलागे। तर परमप्रभु मेरो सहयोगको लागि त्यहाँ हुनुहुन्थ्यो! परमप्रभुले मलाई प्रेम गर्नु हुन्छ यसैले उहाँले मलाई बचाउनु भयो। उहाँले मलाई सुरक्षित ठाउँमा ल्याउनु भयो। म निर्दोष छु, यसैकारण उहाँले मलाई पुरस्कार दिनुहुनेछ। मैले अलिकति पनि गल्ती काम गरिनँ, यसैकारण उहाँले मेरो निम्ति राम्रो काम गर्नुहुनेछ। किनभने मैले उहाँका आज्ञाहरू पालन गरेकोछु! मैले परमेश्वरको विरूद्धमा पाप काम गरेकोछैन। म सधैँ उहाँको निर्णयहरूलाई सम्झना गर्छु। म उहाँको नियमहरू मान्दछु! म उहाँसँग पवित्र र ईमान्दार थिएँ, मैले अधर्मका कामहरू गर्नदेखि आफूलाई अलग राखें। यसैकारण परमप्रभुले मलाई पुरस्कार दिनु हुनेछ। किनभने म निर्दोष छु! परमेश्वरको दृष्टिमा मैले सानो भूल पनि गरिनँ। यसैकारण उहाँले मप्रति राम्रै व्यवहार गर्नुहुन्छ। हे परमप्रभु, यदि कुनै मानिसले तपाईंलाई साँच्चै नै प्रेम गर्छ भने तपाईंले आफ्नो स्नेहपूर्ण करूणा उसलाई देखाउनु होस्। यदि कुनै मानिस तपाईं प्रति साँच्चो छ भने तपाईं पनि ऊ प्रति साँच्चो हुनुहुनेछ। हे परमप्रभु, तपाईं धार्मिक र शुद्ध मानिसहरूका लागि धार्मिक अनि शुद्ध हुनुहुन्छ। तर कपटीहरूका निम्ति तपाईं अझै कपटीपूर्ण कार्य गर्नु हुन्छ। हे परमप्रभु, तपाईं नम्र मानिसहरूलाई सघाउनु हुन्छ तर अंहकारीहरूलाई अपमान गर्नुहुन्छ। हे परमप्रभु! तपाईंले मेरो दियो बाल्नु होस्। मेरो परमेश्वरले चारैतिरका अंन्धकारलाई उज्यालो पारीदिनु होस्! परमप्रभु तपाईंको सहायताले म सिपाहीहरूसँग दगुर्न सक्छु। परमेश्वरको सहयोगले म शत्रुहरूको पर्खालहरूमाथि चढ्न सक्छु। परमेश्वरको शक्ति पूर्ण छ। उहाँको वचन प्रमाणित भएको छ। उहाँ आफूमाथि भरोसा गर्ने मानिसहरूलाई रक्षा गर्नुहुन्छ। त्यहाँ परमप्रभु बाहेक अरू कुनै परमेश्वर छैन, त्यहाँ परमेश्वर छोडेर अर्को चट्टान छैन। परमेश्वर मलाई शक्ति प्रदान गर्नु हुन्छ। उहाँले मलाई चोखो जीवन जिउन सहायता गर्नुहुन्छ। परमेश्वरले मलाई मृग जस्तो चाँडो दगुर्न सक्ने क्षमता दिनुहुन्छ। उहाँले सर्वोच्च ठाउँहरूमा मलाई दृढ भई उभिने बनाउनु हुन्छ। परमेश्वरले मलाई युद्ध-कौशलता सिकाउनु हुन्छ। यसकारण मेरा पाखुराहरू बलिया धनुबाट काँडहरू हान्न योग्यको हुनेछ। परमेश्वर तपाईंले रक्षा गर्नुभयो र मलाई जित्नमा सघाउनु भयो। तपाईंको दाहिने पाखुराले मलाई सघाउनु भयो। तपाईंले शत्रुलाई परास्त गर्नमा सघाउनु भयो। मेरा खुट्टाहरू र पाइलाहरू दरिलो पारिदिनु होस्। यसैले म ठेस् नलागिकन चाँडो-चाँडो हिंड्न सक्छु।

शेयर गर्नुहोस्
भजनसंग्रह 18 पढ्नुहोस्

भजनसंग्रह 18:16-36 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

परमप्रभु स्‍वर्गदेखि आउनुभयो र मलाई उठाउनुभयो; उहाँले मलाई गहिरो पानीबाट निकाल्‍नुभयो। उहाँले मलाई मेरा सामर्थी शत्रुहरू र मलाई घृणा गर्नेहरूबाट बचाउनुभयो, तिनीहरू मेरा निम्‍ति साह्रै बलिया थिए। म कष्‍टमा हुँदा तिनीहरूले ममाथि आक्रमण गरे, तर परमप्रभुले मलाई रक्षा गर्नुभयो। उहाँले मलाई विपत्तिदेखि मद्दत गरेर बचाउनुभयो, किनभने उहाँ मसँग प्रसन्‍न हुनुहुन्‍थ्‍यो। परमप्रभुले मलाई इनाम दिनुहुन्‍छ किनकि म जे ठीक छ, सो गर्दछु। उहाँले मलाई आशिष् दिनुहुन्‍छ किनभने म निर्दोष छु। म परमप्रभुको व्‍यवस्‍था मानेर चलेको छु, मेरो परमेश्‍वरदेखि म तर्किगएको छैनँ। मैले उहाँका सारा व्‍यवस्‍था मानेको छु मैले उहाँका आज्ञा नमानी हिँडेको छैनँ। उहाँले जान्‍नुहुन्‍छ कि म निष्‍कलङ्क छु र म गल्ती काम गर्नबाट जोगिएर बसेको छु। यसैले उहाँले मलाई इनाम दिनुहुन्‍छ किनभने जे ठीक छ, सो म गर्दछु, कारण उहाँले म निर्दोष छु भनी जान्‍नुहुन्‍छ। हे परमप्रभु! तपाईंसँग विश्‍वासयोग्‍य रहनेहरूसँग तपाईं पनि विश्‍वासी रहनुहुन्‍छ, जो सिद्ध छन्, तिनीहरूप्रति तपाईं सम्‍पूर्णरूपले भलो हुनुहुन्‍छ। जो शुद्ध छन्, तिनीहरूप्रति तपाईं शुद्ध हुनुहुन्‍छ, तर विरोधीहरूप्रति भने तपाईं विरोधी हुनुहुन्‍छ। नम्रहरूलाई तपाईंले बचाउनुहुन्‍छ, तर अहङ्कारीहरूलाई होच्‍याउनुहुन्‍छ। हे परमप्रभु! तपाईंले मलाई ज्‍योति दिनुहुन्‍छ, तपाईंले मेरो अन्‍धकारलाई हटाइदिनुहुन्‍छ। मेरा शत्रुहरूमाथि आक्रमण गर्न र तिनीहरूमाथि विजय पाउन तपाईंले मलाई बल दिनुहुन्‍छ। परमेश्‍वरका यी काम कति सिद्ध छन्! उहाँका वचन कस्‍ता भर पर्न सकिने छन्! उहाँका रक्षा खोज्‍नेहरूका निम्‍ति उहाँ ढालझैँ हुनुहुन्‍छ। परमप्रभु मात्र परमेश्‍वर हुनुहुन्‍छ, परमेश्‍वर मात्र हाम्रा रक्षक हुनुहुन्‍छ। उहाँ मलाई बलियो बनाउनुहुने र मेरो बाटो कुशल गराउनुहुने परमेश्‍वर हुनुहुन्‍छ। पहाडमा उहाँले मलाई कुशलसाथ राख्‍नुहुन्‍छ र मेरा खुट्टा मृगका जस्‍ता ठीक पाइला चाल्‍ने बनाउनुहुन्‍छ। मैले सबैभन्दा बलियो धनु चलाउन सकूँ भनेर उहाँले मलाई युद्ध-कला सिकाउनुहुन्‍छ। हे परमप्रभु! तपाईंले मलाई रक्षा गरेर बचाउनुहुन्‍छ, तपाईंको रेख-देखमा म महान् बनेको छु, र तपाईंको शक्तिले मलाई कुशल राखेको छ। तपाईंले मलाई कैदी बन्‍नदेखि बचाउनुभएको छ, म कहिल्‍यै लडेको छैनँ।

शेयर गर्नुहोस्
भजनसंग्रह 18 पढ्नुहोस्