YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 147:1-11

भजनसंग्रह 147:1-11 NNRV

हल्‍लेलूयाह! हाम्रा परमेश्‍वरको प्रशंसा गाउनु कति असल कुरा हो! उहाँको प्रशंसा गर्नु कति रमाइलो र उचित छ! परमप्रभुले यरूशलेम निर्माण गर्नुहुन्‍छ, उहाँले इस्राएलका निर्वासितहरूलाई एकत्र गर्नुहुन्‍छ। उहाँले टुक्रिएको हृदय भएकाहरूलाई निको पार्नुहुन्‍छ, र तिनीहरूका चोटहरूमा पट्टी बाँधिदिनुहुन्‍छ। उहाँले ताराहरूको संख्‍या निश्‍चित गर्नुहुन्‍छ, र एक-एकलाई आ-आफ्‍नो नाउँ दिनुहुन्‍छ। हाम्रा परमप्रभु महान्‌ हुनुहुन्‍छ, सर्वशक्तिमान्‌ र सर्वज्ञानी हुनुहुन्‍छ। परमप्रभुले दीन-दु:खीलाई सम्हाल्‍नुहुन्‍छ, तर दुष्‍टहरूलाई उहाँले जमिनमा फालिदिनुहुन्‍छ। धन्‍यवादका साथ परमप्रभुको स्‍तुति गाओ, वीणा बजाएर हाम्रा परमेश्‍वरको स्‍तुति गर। उहाँले आकाशलाई बादलले ढाक्‍नुहुन्‍छ, र पृथ्‍वीलाई वर्षा दिनुहुन्‍छ, अनि पहाड़हरूमा घाँस उमार्नुहुन्‍छ। उहाँले भोकाएका पशुहरूलाई र कागका बचेराहरूलाई आहार दिनुहुन्‍छ। उहाँ घोडाहरूको बलमा, अथवा मानिसहरूका खुट्टामा प्रसन्‍न हुनुहुन्‍न। तर परमप्रभु उहाँको भय मान्‍नेहरूसँग, र उहाँको अचूक कृपामाथि भरोसा राख्‍नेहरूसँग प्रसन्‍न हुनुहुन्‍छ।