YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 106:7-21

भजनसंग्रह 106:7-21 NNRV

हाम्रा पुर्खाहरूले मिश्रदेशमा छँदा तपाईंका आश्‍चर्यकर्महरूको ख्‍यालै गरेनन्‌, तपाईंको प्रशस्‍त करुणा तिनीहरूले सम्‍झेनन्‌, र लाल समुद्रको किनारमा तिनीहरूले सर्वोच्‍च परमेश्‍वरको विद्रोह गरे। तापनि आफ्‍नो महापराक्रम प्रकट होस्‌ भनेर, उहाँले आफ्‍नो नाउँको खातिर तिनीहरूलाई बचाउनुभयो। उहाँले लाल समुद्रलाई हप्‍काउनुभयो, र त्‍यो सुकिहाल्‍यो। यसरी उहाँले तिनीहरूलाई मरुभूमिको बाटोजस्‍तै गरी गहिरो ठाउँबाट डोर्‍याएर लैजानुभयो। उहाँले तिनीहरूलाई शत्रुको हातबाट बचाउनुभयो, शत्रुको हातबाट तिनीहरूलाई छुटाउनुभयो। तिनीहरूका विरोधीहरूलाई पानीले छोप्‍यो, उनीहरूमध्‍ये एक जना पनि बाँचेन। तब तिनीहरूले उहाँका वचनमाथि विश्‍वास गरे, र उहाँको प्रशंसा गरे। तर तिनीहरूले चाँड़ै उहाँका कार्यहरू बिर्सिहाले, र उहाँका सल्‍लाहको प्रतीक्षा तिनीहरूले गरेनन्‌। उजाड-स्‍थानमा तिनीहरूले आफूलाई आफ्‍नो तृष्‍णाको वशमा सुम्‍पिए, र तिनीहरूले मरुभूमिमा परमेश्‍वरको परीक्षा गरे। यसर्थ तिनीहरूले मागेका कुरा उहाँले तिनीहरूलाई दिनुभयो, तर तिनीहरूका बीचमा शिथिलताको रोग पठाइदिनुभयो। छाउनीमा तिनीहरू मोशासित र परमप्रभुमा अर्पण गरिएका हारूनसँग डाहा गरे। धर्ती फाटेर दातानलाई निल्‍यो, र अबीरामको दललाई पुरिदियो। तिनीहरूका समर्थकहरूका बीचमा आगो दन्‍किउठ्यो, आगोको ज्‍वालाले दुष्‍टहरूलाई भस्‍म पार्‍यो। होरेबमा तिनीहरूले बाछा बनाए, र धातुको मूर्तिपूजा गरे। यसरी तिनीहरूले आफ्‍नो गौरवलाई घाँस खाने गोरुको मूर्तिसँग साटे। तिनीहरूले आफ्‍ना उद्धारकर्ता परमेश्‍वरलाई बिर्से, जसले मिश्रदेशमा महान्‌ कार्यहरू गर्नुभएको थियो