हे परमप्रभु, तपाईं किन टाढ़ा उभिनुहुन्छ? कष्टको बेला आफैलाई तपाईं किन लुकाउनुहुन्छ? दुष्ट मानिसले आफ्नो अहङ्कारमा कमजोरहरूलाई लखेट्छ। त्यसले रचेका योजनामा तिनीहरू फस्छन्। दुष्ट आफ्नो हृदयका इच्छाहरूमा गर्व गर्दछ, त्यसले लालची मानिसलाई आशीर्वाद दिन्छ र परमप्रभुलाई निन्दा गर्दछ। आफ्नो अहङ्कारमा दुष्टले उहाँलाई खोज्दैन, त्यसका सबै विचारमा परमेश्वरलाई स्थान हुँदैन। त्यसका कामकाजमा त्यो सधैँ सफल हुन्छ। त्यो अभिमानी हुन्छ, र तपाईंका विधिहरू त्यसबाट टाढ़ा हुन्छन्। आफ्ना सबै शत्रुहरूको त्यसले उपहास गर्दछ। त्यसले आफ्नो मनमा सोच्छ, “कुनै कुरोले मलाई हल्लाउन सक्नेछैन, म सधैँ सुखी हुनेछु र मलाई कुनै कष्ट आइपर्नेछैन।” त्यसको मुख सराप, झूट र धम्कीले भरिएको हुन्छ। त्यसको जिब्रोमा उपद्रव र दुष्टता छन्। गाउँ-गाउँकै नजिक त्यो ढुकिबस्छ। ढुकेर बसेका ठाउँहरूमा त्यसले निर्दोषहरूको हत्या गर्छ। त्यसले दु:खीहरूलाई लुकी-लुकी चियो गरिराखेको हुन्छ। झाडीमा पर्खेर बसिरहेको सिंहझैँ त्यो गुप्त ठाउँमा ढुकेर बस्छ। असहायहरूलाई पक्रन त्यो ढुकेर बस्छ। त्यसले आफ्नो जालमा असहायहरूलाई घिसारेर लैजान्छ। दु:खीहरू पेलिन्छन् र लाचार भई लड्छन्, र तिनीहरू त्यसको शक्तिले ढल्दछन्। त्यसले आफ्नो मनमा सोच्दछ, “परमेश्वरले बिर्सनुभएको छ। उहाँले आफ्नो मुहार लुकाउनुभएको छ, र कहिल्यै देख्नुहुन्न।” हे परमप्रभु, उठ्नुहोस्, हे परमेश्वर, तपाईंको हात उठाउनुहोस्, असहायहरूलाई नबिर्सनुहोस्। दुष्टले किन परमेश्वरको निन्दा गर्छ? त्यसले किन आफ्नो मनमा भन्छ, “उहाँले मेरो लेखा राख्नुहुन्न।” तर हे परमेश्वर, तपाईं दु:ख र शोक देख्नुहुन्छ, तपाईंले ती आफ्नै हातमा लिनुहुन्छ, दु:खीले आफैलाई तपाईंमा सुम्पन्छ, अनाथको सहायक तपाईं नै हुनुहुन्छ। दुष्ट र कुकर्मीको हात भाँचिदिनुहोस्। कुकर्मीका नभेट्टाइने दुष्टताका लेखा लिनुहोस्।
भजनसंग्रह 10 पढ्नुहोस्
सुन्नुहोस् भजनसंग्रह 10
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 10:1-15
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू