राजाको हृदय परमप्रभुको हातमा हुन्छ, खोलाको पानीझैँ जता मन लाग्यो उतै उहाँले फर्काउनुहुन्छ।
मानिसको हरेक बाटो आफूलाई ठीकै लाग्ला, तर हृदय जाँच्नुहुने परमप्रभु नै हुनुहुन्छ।
जे ठीक र न्यायसङ्गत छ त्यही गर्नु परमप्रभुलाई बलिदान चढ़ाउनुभन्दा बढ़ी ग्रहणयोग्य हुन्छ।
घमण्डी आँखा र अहङ्कारी हृदय, दुष्टका दियो यिनै हुन् जो पाप हो!
लगनशीलको योजनाहरूले लाभ गराउनेतर्फ उन्मुख गराउँछ, त्यसरी नै हतार गर्नाले दरिद्रतामा पुगिन्छ।
झूटो जिब्रोले आफ्नो भाग्य सुधार्नचाहिँ उड़िजाने कुइरो र घातक पासो हो।
दुष्टको उपद्रवले नै तिनीहरूलाई घिच्च्याएर लैजान्छ, किनभने जे ठीक हो सो गर्न तिनीहरूले अस्वीकार गर्छन्।
दोषीको बाटो कुटिल हुन्छ, तर निर्दोषको चालचलन ईमानदार हुन्छ।
कचकचे पत्नीसँग एउटै घरमा बस्नुभन्दा त कौसीको एक कुनामा बस्नु बेस।
दुष्ट मानिसले खराबीको लालसा गर्छ, त्यसको छिमेकीले त्यसबाट दया पाउँदैन।
जब खिल्ली उड़ाउनेलाई दण्ड दिइन्छ, निर्बुद्धिले बुद्धि प्राप्त गर्छ, बुद्धिमान्लाई जब शिक्षा दिइन्छ, त्यसले ज्ञान पाउँछ।
परमधार्मिकले दुष्टको घरलाई याद गरिरहनुहुन्छ,
र उहाँले दुष्टहरूमाथि सर्वनाश ल्याउनुहुन्छ।
गरीबले पुकारा गर्दा यदि मानिसले आफ्नो कान बन्द गर्छ भने, त्यसले पनि पुकारा गर्नेछ तर जवाफ भने पाउनेछैन।
गुप्तमा दिइएको उपहारले रीस मारिदिन्छ,
र खास्टोभित्र लुकाएर दिएको घूसले ठूलो क्रोध शान्त गराउँछ।
जब न्याय हुन्छ, धर्मीहरू हर्षित हुन्छन्, तर कुकर्मीहरू भने त्रासित हुन्छन्।
समझदारीको मार्गबाट तर्किने मानिस मृतकहरूको सङ्गतमा लेट्न पुग्छ।
सुख-विलासको प्रेम गर्ने दरिद्र हुनेछ, दाखमद्य र तेललाई प्रेम गर्ने कहिल्यै धनी हुनेछैन।
धर्मीका छुटकाराको साधन दुष्टहरू हुनेछन्,
र बेईमानहरूचाहिँ ईमानदारीसँग चल्नेको साधन हुनेछन्।
झगड़ालु र रिसाहा पत्नीसँग बस्नुभन्दा बरु मरुभूमिमा बस्नु बेस।
बुद्धिमान् मानिसको घरमा उत्तम भोजन र तेल मौजूद हुन्छ, तर मूर्ख मानिसले आफूसँग भएको सबै उड़ाउँछ।
धार्मिकता र प्रेमको पछि लाग्नेले जीवन, समुन्नति र आदर पाउँछ।
बुद्धिमान् मानिसले बलिष्ठको सहरमाथि आक्रमण गर्छ,
र तिनीहरूले भरोसा गरेको बलियो गढ़ खँगार पारिदिन्छ।
आफ्नो मुख र जिब्रो सम्हाल्नेले आफूलाई आपद्-विपद्बाट जोगाउँछ।
अहङ्कारी र शेखीबाज मानिसको नाउँ “खिल्ली उड़ाउने” हो, त्यसले अभिमानीसाथ व्यवहार गर्दछ।
अल्छेको लालसाले नै त्यसलाई मार्नेछ, किनभने त्यसका हातहरू काम गर्न अस्वीकार गर्छन्।
दिनभरि नै त्यसले झन् बढ्ता लालसा गरिरहन्छ, तर धर्मीले मुट्ठी खोलेर दिन्छ।
दुष्टको बलिदान घिनलाग्दो हुन्छ— खराब अभिप्रायले चढ़ाएको झन् कत्ति बढ़ी घृणित होला!
झूटो साक्षी नष्ट हुनेछ, त्यसको कुरा सुन्ने जोसुकै सधैँको निम्ति नष्ट हुनेछ
दुष्ट मानिस साहसीजस्तै हिँड्छ, तर ईमानदारीसँग चल्ने मानिसले आफ्ना चालहरू विचार गर्छ।
कुनै पनि यस्तो बुद्धि, अन्तर्दृष्टि वा योजना छैन, जो परमप्रभुको विरुद्ध सफल हुन सक्छ।
युद्धका दिनको लागि घोडा तयार पारिन्छ, तर विजयचाहिँ परमप्रभुकै हातमा हुन्छ।