YouVersion लोगो
खोज आइकन

हितोपदेश 21:1-31

हितोपदेश 21:1-31 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

राजाको हृदय परमप्रभुको हातमा हुन्‍छ, खोलाको पानीझैँ जता मन लाग्‍यो उतै उहाँले फर्काउनुहुन्‍छ। मानिसको हरेक बाटो आफूलाई ठीकै लाग्‍ला, तर हृदय जाँच्‍नुहुने परमप्रभु नै हुनुहुन्‍छ। जे ठीक र न्‍यायसङ्गत छ त्‍यही गर्नु परमप्रभुलाई बलिदान चढ़ाउनुभन्‍दा बढ़ी ग्रहणयोग्‍य हुन्‍छ। घमण्‍डी आँखा र अहङ्कारी हृदय, दुष्‍टका दियो यिनै हुन्‌ जो पाप हो! लगनशीलको योजनाहरूले लाभ गराउनेतर्फ उन्‍मुख गराउँछ, त्‍यसरी नै हतार गर्नाले दरिद्रतामा पुगिन्‍छ। झूटो जिब्रोले आफ्‍नो भाग्‍य सुधार्नचाहिँ उड़िजाने कुइरो र घातक पासो हो। दुष्‍टको उपद्रवले नै तिनीहरूलाई घिच्‍च्‍याएर लैजान्‍छ, किनभने जे ठीक हो सो गर्न तिनीहरूले अस्‍वीकार गर्छन्‌। दोषीको बाटो कुटिल हुन्‍छ, तर निर्दोषको चालचलन ईमानदार हुन्‍छ। कचकचे पत्‍नीसँग एउटै घरमा बस्‍नुभन्‍दा त कौसीको एक कुनामा बस्‍नु बेस। दुष्‍ट मानिसले खराबीको लालसा गर्छ, त्‍यसको छिमेकीले त्‍यसबाट दया पाउँदैन। जब खिल्‍ली उड़ाउनेलाई दण्‍ड दिइन्‍छ, निर्बुद्धिले बुद्धि प्राप्‍त गर्छ, बुद्धिमान्‌लाई जब शिक्षा दिइन्‍छ, त्‍यसले ज्ञान पाउँछ। परमधार्मिकले दुष्‍टको घरलाई याद गरिरहनुहुन्‍छ, र उहाँले दुष्‍टहरूमाथि सर्वनाश ल्‍याउनुहुन्‍छ। गरीबले पुकारा गर्दा यदि मानिसले आफ्‍नो कान बन्‍द गर्छ भने, त्‍यसले पनि पुकारा गर्नेछ तर जवाफ भने पाउनेछैन। गुप्‍तमा दिइएको उपहारले रीस मारिदिन्‍छ, र खास्‍टोभित्र लुकाएर दिएको घूसले ठूलो क्रोध शान्‍त गराउँछ। जब न्‍याय हुन्‍छ, धर्मीहरू हर्षित हुन्‍छन्, तर कुकर्मीहरू भने त्रासित हुन्‍छन्‌। समझदारीको मार्गबाट तर्किने मानिस मृतकहरूको सङ्गतमा लेट्‍न पुग्‍छ। सुख-विलासको प्रेम गर्ने दरिद्र हुनेछ, दाखमद्य र तेललाई प्रेम गर्ने कहिल्‍यै धनी हुनेछैन। धर्मीका छुटकाराको साधन दुष्‍टहरू हुनेछन्, र बेईमानहरूचाहिँ ईमानदारीसँग चल्‍नेको साधन हुनेछन्‌। झगड़ालु र रिसाहा पत्‍नीसँग बस्‍नुभन्‍दा बरु मरुभूमिमा बस्‍नु बेस। बुद्धिमान्‌ मानिसको घरमा उत्तम भोजन र तेल मौजूद हुन्‍छ, तर मूर्ख मानिसले आफूसँग भएको सबै उड़ाउँछ। धार्मिकता र प्रेमको पछि लाग्‍नेले जीवन, समुन्‍नति र आदर पाउँछ। बुद्धिमान्‌ मानिसले बलिष्‍ठको सहरमाथि आक्रमण गर्छ, र तिनीहरूले भरोसा गरेको बलियो गढ़ खँगार पारिदिन्‍छ। आफ्‍नो मुख र जिब्रो सम्‍हाल्‍नेले आफूलाई आपद्‌-विपद्‌बाट जोगाउँछ। अहङ्कारी र शेखीबाज मानिसको नाउँ “खिल्‍ली उड़ाउने” हो, त्‍यसले अभिमानीसाथ व्‍यवहार गर्दछ। अल्‍छेको लालसाले नै त्‍यसलाई मार्नेछ, किनभने त्‍यसका हातहरू काम गर्न अस्‍वीकार गर्छन्‌। दिनभरि नै त्‍यसले झन्‌ बढ्‌ता लालसा गरिरहन्‍छ, तर धर्मीले मुट्ठी खोलेर दिन्‍छ। दुष्‍टको बलिदान घिनलाग्‍दो हुन्‍छ— खराब अभिप्रायले चढ़ाएको झन्‌ कत्ति बढ़ी घृणित होला! झूटो साक्षी नष्‍ट हुनेछ, त्‍यसको कुरा सुन्‍ने जोसुकै सधैँको निम्‍ति नष्‍ट हुनेछ दुष्‍ट मानिस साहसीजस्‍तै हिँड्‌छ, तर ईमानदारीसँग चल्‍ने मानिसले आफ्‍ना चालहरू विचार गर्छ। कुनै पनि यस्‍तो बुद्धि, अन्‍तर्दृष्‍टि वा योजना छैन, जो परमप्रभुको विरुद्ध सफल हुन सक्‍छ। युद्धका दिनको लागि घोडा तयार पारिन्‍छ, तर विजयचाहिँ परमप्रभुकै हातमा हुन्‍छ।

शेयर गर्नुहोस्
हितोपदेश 21 पढ्नुहोस्

हितोपदेश 21:1-31 पवित्र बाइबल (NERV)

राजाको हृदय परमप्रभुको हातमा हुन्छ, र त्यो खोलाको पानीझैं जता पायो उतै उहाँले बगाइ दिनु हुन्छ। मानिसले आफ्नो नजरमा आफ्नो सम्पूर्ण व्यवहार सही देख्छ। तर परमप्रभुले हृदयमा के छ त्यो जाँच गर्नुहुन्छ। बलिदानहरू भन्दा, मानिसहरूले सही अनि न्याय काम गर्नु परमप्रभुको निम्ति अधिक महत्वपूर्ण हुन्छ। घमण्डी आँखा अनि गर्वले भरिएको मन पाप हो, र यिनीहरूले दुष्ट मानिसको दुष्टता चिनाउन दीपको सलेदोको काम गर्छन्। लगनशीलको योजनाहरूले मानिसहरूलाई लाभ गराउँछ, र हतार गर्नाले निश्चय दरिद्रता ल्याउँछ। झूटो बोलेर कमाएको सम्पत्ति वाफ झैं अस्थिर हुन्छ अनि त्यो घातक पासो बनिन्छ। दुष्ट मानिसहरूले गरेको नराम्रो कामले तिनीहरूलाई ध्वंश पार्छ। जुन संगत छ त्यो गर्नु यी मानिसहरू अस्वीकार गर्छन्। दुष्ट मानिसहरू सधैँ अर्कालाई ठग्ने हुन्छन् तर असल मानिसहरू ईमान्दार र न्याय संगतका हुन्छन्। एउटी झगडा़लु पत्नी सित घर भित्र बस्नु भन्दा शान्ति सित घरको एककुनामा बस्नु शान्तिमय हुन्छ। दुष्ट मानिसहरू सधैँ खराब काम गर्न खोज्छन् अनि तिनीहरूले वरिपरि भएका मानिसहरूलाई दया देखाउँदैन। दुष्ट मानिसहरूले सजाय पाउँदा सरल मानिसहरूले ज्ञान पाउँछन्। जब बुद्धिमानी मानिसहरूलाई अनुशाशित बनाइन्छ तिनीहरू अझै ज्ञानी हुन्छन्। परमप्रभुले दुष्ट मानिसहरूको घर माथि नजर राख्नु हुन्छ अनि दुष्ट मानिसहरूलाई ध्वंश पार्नु हुन्छ। यदि कुनै गरीब मानिसले पुकार्दा कसैले कान थुन्छ भने उसले पुकार्दा पनि कसैले सुन्दैन। गुप्तरूपले दिइएको उपहारले रीस शान्त पार्छ। लुकाएर दिएको घूसले अझै डरलाग्दो क्रोधलाई पनि शान्त पारिदिन्छ। न्यायले ईमान्दार मानिसहरूलाई आनन्दित तुल्याँउछ, तर कुकर्मीहरूलाई यसले भयभित पार्छ। जो मानिस समझदारीको मार्गबाट बरालिन्छ ऊ अन्तमा मृत मानिसहरूसँग समाप्त हुन्छ। जसले सूख-भोगलाई प्रेम गर्छ ऊ दरिद्र बन्छ। जसले दाखरस अनि तेललाई प्रेम गर्छ ऊ धनी हुनु सक्दैन्। एउटा दुष्ट मानिस एउटा धर्मी मानिसको निम्ति उद्धारक हुनेछ, अनि त्यसरीनै एउटा अविश्वासी मानिस ईमान्दार मानिसको निम्ति हुनेछ। छिटो रिसाउने र झगडा़लु स्वभाव भएकी पत्नी सित बस्नुभन्दा निर्जन मरुभूमिमा रहनु असल हुन्छ। बुद्धिमान मानिसले आफूलाई चाहिने चीजहरू संचय गरेर राख्छ भने, मूर्खले यो सबैलाई खाने र खर्च गर्नेछ। जो ईमान्दार जीवन जीउँछ र विश्वास देखाउँछ उसले असल जीवन, सम्पत्ति अनि आदर आर्जन गर्छ। एकजना ज्ञानी मानिसहरूले स-शस्त्र सेनाहरूको शहर आक्रमण गरे अनि उनीहरूको सुरक्षित र भरपर्दो किल्लालाई ध्वंश गरि दिए। ज्ञानी मानिसलाई कुनै कुराको अफ्ठेरो पर्दैन। जसले आफ्नो मुख र जिब्रोलाई नियन्त्रणमा राख्छ उसले आफैंलाई कष्टबाट रक्षा गर्छ। जो मानिस जसले आफूलाई अरू मानिसहरू भन्दा श्रेष्ट ठान्छ त्यो घमण्डी हो अनि उसलाई “खिल्ली उडाउनेवाला” नामद्वारा बोलाइन्छ, उसले अत्यन्त घमण्डकासाथ काम गर्छ। एउटा अल्छे मानिसको लालसाले उसलाई मार्छ, किनभने उसको हातहरूले काम गर्न अस्वीकार गर्छन्। लोभि मानिसले उसका सबै दिनहरू धेरै पाउँने इच्छ गर्दै बिताउँछ, तर धर्मी मानिसले उदारता पूर्वक दिन्छ। दुष्ट मानिसले चढाएको बलिदान त्यसै पनि परमेश्वरले घृणा गर्नु हुन्छ, त्यसमाथि पनि दुष्ट अभिप्रायले चढाएको त झन् घृणित हुन जान्छ। झूटो साक्षीहरूको नाश हुन्छ, तर एकजना मानिस जसले सवाधानी पूर्वक सुन्छ ऊ सधैँको निम्ति बोल्छ। एउटा दुष्ट मानिसले अविवेकी अनि साहसी कार्यहरू गर्छ तर एउटा ईमान्दार मानिसले उसको कार्यहरूमा सोच विचार गर्छ। कुनै पनि यस्तो ज्ञान अथवा समझ शक्ति अथवा सल्लाह छैन जसले परमप्रभुलाई जित्न सक्छ। मानिसहरूले लडाईं जित्न हात-हतियार तथा घोडा तयार पार्न सक्छन, तर तिनीहरूलाई विजय अथवा पराजय परमप्रभुले नै दिनु हुन्छ।

शेयर गर्नुहोस्
हितोपदेश 21 पढ्नुहोस्

हितोपदेश 21:1-31 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

राजाको मन परमप्रभुको हातमा हुन्‍छ र त्‍यसलाई कुलोको पानीझैँ जता मन लाग्‍छ, उतै उहाँले फर्काउनुहुन्‍छ। मानिसले सधैँ आफू ठीक छु भनी सम्‍झन्‍छ तर परमप्रभुले उसको मनको उद्देश्‍य जाँच गर्नुहुन्‍छ। जे ठीक र न्‍यायपूर्ण छ, त्‍यही गर, त्‍यही परमप्रभुलाई बलिदानभन्दा बढी मनपर्दो हुन्‍छ। दुष्‍ट मानिसहरू आफ्‍ना घमण्‍ड र अहङ्कारका अधीनमा चल्‍दछन्, जुनचाहिँ पाप हो। होशियारीसित आफ्‍नो कामको योजना बनाए प्रसस्‍त लाभ हुन्‍छ तर हतार गर्नेचाहिँ दरिद्र हुन्‍छ। बेइमानसित कमाएको धन उडिजाने बाफ र प्राणघातक पासो हो। दुष्‍टहरू आफ्‍नै हिँसामा नाश हुन्‍छन्। ठीक कुरा गर्न तिनीहरू मान्‍दैनन्। अपराधीहरू बाङ्गो बाटोमा हिँड्छन् तर निर्दोषी ठीक चालमा चल्‍दछ। कचकचे स्‍वास्‍नीसित एउटै घरमा बस्‍नुभन्दा त घरको कौसीमा एक्‍लै बस्‍नु असल हो। दुष्‍टहरू सधैँ दुष्‍ट्याइँ गर्न तयार रहन्‍छन्, तिनीहरूले कसैमाथि दया गर्दैनन्। अहङ्कारीले दण्‍ड पाउँदा सिधासाधाले पनि शिक्षा पाउँछ। बुद्धिमान्‌ले पाएको शिक्षाबाट ज्ञान बढाउँछ। धर्मी परमेश्‍वरले दुष्‍टहरूका घरमा के-के हुँदै छ, जान्‍नुहुन्‍छ र तिनीहरूको विनाश गराउनुहुन्‍छ। कसैले दरिद्रको पुकार सुनेन भने त्‍यसले सहायताको निम्‍ति पुकार गर्दा पनि कसैले सुन्‍नेछैन। कोही रिसाएको छ भने सुटुक्‍क दिएको दानले त्‍यसको रिस मारिदिन्‍छ। ठीक न्‍याय हुँदा, धर्मी मानिसहरू रमाउँछन् तर दुष्‍टहरू निराश हुन्‍छन्। समझअनुसार नचल्‍ने मृत्‍युको मुखमा पुग्‍दछ। सुख-विलास, मीठो भोजन र मद्यपानमा जीवन व्‍यतित गर्नेहरू गरीब बन्‍नेछन्। दुष्‍टले धर्मी मानिसहरूलाई दिउँला भनेको दु:ख आफैंमाथि ल्‍याउँदछ। कचकचे र दोष दिइरहने स्‍त्रीसित बास गर्नुभन्दा त मरुभूमिमा गई बास गर्नु असल हो। बुद्धिमान् मानिसको घर धन-सम्‍पत्ति र तेलले भरिएको हुन्‍छ तर मूर्खले ती सबै उडाउँछ। दयालु र इमानदार मानिसको लामो आयु हुन्‍छ, उसलाई अरू मानिसहरूले आदर र न्‍यायको व्‍यवहार गर्छन्। चतुर सेनापतिले शक्तिशाली मानिसहरूले भरिएको सहर सजिलै लिन सक्‍छ र सहरका पर्खाल भताभुङ्ग पारिदिन्‍छ। कष्‍टमा पर्नु छैन भने आफ्‍नो मुख सम्‍हाली राख। अहङ्कारी मानिस मलाई देखाऊ अनि मैले तिमीलाई हठी, घमण्‍डी र अविवेकी मानिस देखाउनेछु। मिहेनेत गर्न इच्‍छा नगर्ने अल्‍छीले आफैंलाई मार्छ। आफूले चाहेका थोकबारे त्‍यसले सोचै मात्र गरिबस्‍छ। तर धर्मीले मुट्ठी खोलेर दिन्‍छ। दुष्‍ट मानिसले चढाएको बलिदान परमप्रभुले घृणा गर्नुहुन्‍छ; दुष्‍ट मतलबले चढाएको बलिदान त झन् घिनलाग्‍दो मान्‍नुहुन्‍छ। झूटो बोल्‍नेको गवाही कसैले पत्‍याउँदैन तर सोचेर बोल्‍नेको वचन सबैले पत्‍याउँछन्। धर्मी मानिसहरू आफ्‍ना चालमा सोझा हुन्‍छन् तर दुष्‍टहरूले औधी बहाना गर्छन्। परमप्रभुको विरुद्ध कुनै मानवीय बुद्धि, अन्‍तर्दृष्‍टि र योजनाको केही काम लाग्‍दैनन्। लडाइँको निम्‍ति घोडाहरू तयार पार्न सक्‍छौ तर विजय दिनुहुने परमप्रभु नै हुनुहुन्‍छ।

शेयर गर्नुहोस्
हितोपदेश 21 पढ्नुहोस्

हितोपदेश 21:1-31

हितोपदेश 21:1-31 NNRV
शेयर गर्नुहोस्
पुरै अध्याय पढ्नुहोस्