हितोपदेश 2
2
बुद्धिबाट प्राप्त हुने नैतिक लाभहरू
1हे मेरो छोरा, यदि तैंले मेरा वचनहरू ग्रहण गरिस्,
र मेरा आज्ञाहरू तेरो मनभित्र राखिस् भने,
2बुद्धिका कुराहरू ध्यान दिइस्
र तेरो हृदयलाई समझशक्तितिर लगाइस् भने,
3अन्तर्दृष्टिको लागि पुकारा गरिस्,
र समझशक्ति पाउनलाई चर्को सोरले पुकारिस् भने,
4यदि तैंले चाँदीझैँ त्यसलाई खोजिस्,
र गाड़धनझैँ त्यो खनिस् भने,
5तैंले परमप्रभुको भय बुझ्नेछस्,
र परमेश्वरको ज्ञान प्राप्त गर्नेछस्।
6किनभने परमप्रभुले बुद्धि दिनुहुन्छ,
र उहाँको मुखबाट ज्ञान र समझशक्तिका कुराहरू निस्कन्छन्।
7उहाँले ईमानदारको लागि आफ्नो भण्डारमा विजय साँचेर राख्नुभएको छ, जसको चाल निर्दोष छ तिनीहरूका लागि उहाँ ढाल हुनुहुन्छ,
8किनभने उहाँले न्यायको मार्ग रक्षा गर्नुहुन्छ,
र आफ्ना विश्वासयोग्य भक्तजनहरूको बाटो सुरक्षित राख्नुहुन्छ।
9तब धार्मिकता न्यायसङ्गत र उचित के हो— साथै हरेक असल मार्ग के हो तैंले बुझ्नेछस्।
10किनभने बुद्धिले तेरो हृदयमा प्रवेश गर्नेछ,
र ज्ञानचाहिँ तेरो प्राणको लागि आनन्ददायक हुनेछ।
11विवेकले तँमाथि हेरचाह गर्नेछ, समझशक्तिले तेरो रक्षा गर्नेछ।
12बुद्धिले तँलाई दुष्ट चालबाट,
र छली कुरा गर्ने मानिसहरूबाट जोगाउनेछ।
13त्यस्ताहरू ईमानदारीको चाल त्यागेर अन्धकारमा हिँड्डुल गर्छन्,
14तिनीहरू खराब काम गर्नमा प्रसन्न हुन्छन्,
र दुष्टको बदमाशीमा रमाउँछन्,
15जसका बाटाहरू बाङ्गोटिङ्गो,
र जसका आफ्नै चालहरू कुटिल छन्।
16बुद्धिले तँलाई व्यभिचारिणी,
र अनैतिक स्त्रीका लोभ्याउने कुराहरूबाट जोगाउनेछ,
17जसले आफ्नो यौवनको पतिलाई त्यागेकी छे,
र परमेश्वरको सामु आफूले बाँधेको करारको बेवास्ता गरेकी छे।
18त्यसको घरभित्र पस्नेलाई मृत्युले ओह्रालो लैजान्छ,
र त्यसको बाटोमा लाग्नेहरू मृतकहरूको देशमा पुग्छन्।
19त्यस स्त्रीकहाँ जानेहरू कोही पनि फर्केर आउनेछैन, न त त्यस्ताहरूले जीवनको मार्ग नै भेट्टाउनेछन्।
20यसैकारण भला मानिसहरूको अनुसरण गर्,
र धर्मी मानिसको चालमा लागिबस्।
21किनभने धर्मीहरू देशमा वास गर्नेछन्,
र निर्दोष मानिसहरू त्यहाँ रहनेछन्।
22तर दुष्टहरू देशबाट जरैसमेत उखेलिनेछन्,
र विश्वासघातीहरू झारझैँ फ्याँकिनेछन्।
अहिले सेलेक्ट गरिएको:
हितोपदेश 2: NNRV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012