YouVersion लोगो
खोज आइकन

हितोपदेश 1:1-19

हितोपदेश 1:1-19 NNRV

दाऊदका छोरा इस्राएलका राजा सोलोमनका हितोपदेश: जसद्वारा मानिसहरूले बुद्धि र अनुशासन प्राप्‍त गर्नेछन्, अन्‍तर्दृष्‍टिका कुराहरू बुझ्‍नेछन्, एक अनुशासित र विवेकी जीवन जिउनेछन्, सोझाहरू विवेकशील बन्‍नेछन्, जवानहरूले ज्ञान र बुद्धि प्राप्‍त गर्नेछन्‌। बुद्धिमान्‌ले सुनून्‌ र तिनीहरूको ज्ञान बढ़ोस्, र विवेकशील व्‍यक्तिलाई अगुवाइ मिलोस्, जसद्वारा हितोपदेश र दृष्‍टान्‍तहरू, बुद्धिमान्‌को आहान र रहस्‍यका कुराहरू तिनीहरूले बुझून्‌। परमप्रभुको भय नै ज्ञानको सुरु हो, तर मूर्खले बुद्धि र अनुशासनलाई तुच्‍छ ठान्‍दछ। हे मेरो छोरा, आफ्‍नो बुबाको आदेश सुन्‌ र आफ्‍नी आमाको शिक्षा नत्‍याग्‌। ती तेरो शिरमा शोभाको मुकुट, र तेरो गलामा सम्‍मानको हार हुनेछ। हे मेरो छोरा, यदि पापीहरूले तँलाई बहकाउन खोजे भने, तिनीहरूको बहकाउमा नलाग्‌। तिनीहरू भन्‍लान्, “आऊ हामीसँग, कसैको रक्तपात गर्न ढुकिबसौं, कुनै निर्दोषलाई लुट्‌न ढुकिबसौं, चिहानले निलेझैँ, र गहिरो भड्‌खालोमा परी त्‍यसको पीँधमा पुग्‍नेहरूलाई झैँ, हामी तिनीहरूलाई पूरै जिउँदै निलौं। हामी सबै किसिमका बहुमूल्‍य थोकहरू लिनेछौं, र लूटका मालसामानले हाम्रा घर भर्नेछौं, तिमी हामीसँगै साझेदार होऊ, र हामी लूटको थैलोबाट बाँड्‌नेछौं।” हे मेरो छोरा, तिनीहरूसँग नजा, तिनीहरूको मार्गमा पाइलै नराख्, किनकि तिनीहरूका पाइला पाप गर्न हतारिन्‍छन्, तिनीहरू रक्तपात गर्न आतुरी गर्छन्‌। सबै पक्षीहरूका नजरको सामु जाल फैलाउनु कति व्‍यर्थ! यी मानिसहरू आफ्‍नै रगतको लागि ढुकिरहन्‍छन्, तिनीहरू आफै जाकिन ढुकिरहन्‍छन्‌! बेईमानीसित कमाउनपट्टि लाग्‍नेहरू सबैको अन्‍त्‍य यस किसिमले हुन्‍छ, यसरी धन आर्जन गर्नेको जीवन त्‍यसैले छिनेर लैजान्‍छ।