YouVersion लोगो
खोज आइकन

नहेम्‍याह 8:9-15

नहेम्‍याह 8:9-15 NNRV

तब राज्‍यपाल नहेम्‍याह, पूजाहारीशास्‍त्री एज्रा र मानिसहरूलाई शिक्षा दिइरहेका लेवीहरूले तिनीहरू सबैलाई भने, “आजको दिन परमप्रभु तिमीहरूका परमेश्‍वरको निम्‍ति पवित्र छ। विलाप नगर, अनि नरोओ।” किनभने व्‍यवस्‍थाका वचनहरू सुनेर तिनीहरू सबै रुँदैथिए। तब नहेम्‍याहले तिनीहरूलाई भने, “अब तिमीहरू जाओ, स्‍वादिष्‍ट भोजन खाओ, र मीठो पेय पदार्थ पिओ, र आफ्‍नो निम्‍ति जुटाउन नसक्‍नेहरूलाई पनि भाग पठाइदेओ। किनभने आजको दिन हाम्रा परमप्रभुको निम्‍ति पवित्र छ। उदास नहोओ, किनभने परमप्रभुको आनन्‍द नै तिमीहरूको बल हो।” लेवीहरूले यसो भनेर मानिसहरूलाई शान्‍त गराए, “चूप लाग, किनभने आजको दिन पवित्र छ। उदास नहोओ।” तब सबै मानिसहरू खानपान गर्न, अरूहरूलाई भाग पठाइदिन र धूमधामसित उत्‍सव मनाउन गए, किनभने तिनीहरूलाई सम्‍झाएको कुरा अब तिनीहरूले बुझे। महिनाको दोस्रो दिनमा परिवार-परिवारका मुख्‍य-मुख्‍य मानिसहरू, पूजाहारीहरू र लेवीहरूका साथमा व्‍यवस्‍था अध्‍ययन गर्न शास्‍त्री एज्राको सामुन्‍ने भेला भए। व्‍यवस्‍थामा सातौँ महिनाका चाड़को बेला छाप्रोमा बस्‍नुपर्छ भन्‍ने मोशाद्वारा परमप्रभुले आज्ञा गर्नुभएको कुरा, र आफ्‍ना सबै सहरहरूभरि र यरूशलेममा तिनीहरूले यही कुराको घोषणा गर्नुपर्छ भन्‍ने कुरा पनि तिनीहरूले भेट्टाए: “डाँड़ाहरूमा गएर भद्राक्ष र जङ्गली भद्राक्ष, मेहदी र खजूरका हाँगा र अरू पातहरू भएका हाँगाहरू छाप्रा बनाउन ल्‍याओ”— जस्‍तै लेखिएको छ।