नहेम्याह 8:9-15
नहेम्याह 8:9-15 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब राज्यपाल नहेम्याह, पूजाहारीशास्त्री एज्रा र मानिसहरूलाई शिक्षा दिइरहेका लेवीहरूले तिनीहरू सबैलाई भने, “आजको दिन परमप्रभु तिमीहरूका परमेश्वरको निम्ति पवित्र छ। विलाप नगर, अनि नरोओ।” किनभने व्यवस्थाका वचनहरू सुनेर तिनीहरू सबै रुँदैथिए। तब नहेम्याहले तिनीहरूलाई भने, “अब तिमीहरू जाओ, स्वादिष्ट भोजन खाओ, र मीठो पेय पदार्थ पिओ, र आफ्नो निम्ति जुटाउन नसक्नेहरूलाई पनि भाग पठाइदेओ। किनभने आजको दिन हाम्रा परमप्रभुको निम्ति पवित्र छ। उदास नहोओ, किनभने परमप्रभुको आनन्द नै तिमीहरूको बल हो।” लेवीहरूले यसो भनेर मानिसहरूलाई शान्त गराए, “चूप लाग, किनभने आजको दिन पवित्र छ। उदास नहोओ।” तब सबै मानिसहरू खानपान गर्न, अरूहरूलाई भाग पठाइदिन र धूमधामसित उत्सव मनाउन गए, किनभने तिनीहरूलाई सम्झाएको कुरा अब तिनीहरूले बुझे। महिनाको दोस्रो दिनमा परिवार-परिवारका मुख्य-मुख्य मानिसहरू, पूजाहारीहरू र लेवीहरूका साथमा व्यवस्था अध्ययन गर्न शास्त्री एज्राको सामुन्ने भेला भए। व्यवस्थामा सातौँ महिनाका चाड़को बेला छाप्रोमा बस्नुपर्छ भन्ने मोशाद्वारा परमप्रभुले आज्ञा गर्नुभएको कुरा, र आफ्ना सबै सहरहरूभरि र यरूशलेममा तिनीहरूले यही कुराको घोषणा गर्नुपर्छ भन्ने कुरा पनि तिनीहरूले भेट्टाए: “डाँड़ाहरूमा गएर भद्राक्ष र जङ्गली भद्राक्ष, मेहदी र खजूरका हाँगा र अरू पातहरू भएका हाँगाहरू छाप्रा बनाउन ल्याओ”— जस्तै लेखिएको छ।
नहेम्याह 8:9-15 पवित्र बाइबल (NERV)
नहेम्याह, जो राज्यपाल थिए, एज्रा पूजाहारी, अनि शास्त्री अनि मानिसहरूलाई निर्देश गरिरहेका लेवीहरूले सबै मानिसहरूलाई भने, “यो दिन तिमीहरूका परमप्रभु परमेश्वरका निम्ति पवित्र दिन हो। उदास नहोऊ अनि विलाप नगर।” किनभने सबै मानिसहरू व्यवस्थाका वचनहरू सुन्दा रोइरहेका थिए। उसले तिनीहरूलाई भने, “जाऊ अनि मीठो भोजन खाऊ, र स्वादिष्ट दाखरस पिऊ अनि तिनीहरूलाई भाग पठाऊ जसले तयार गरेका छैनन्, किनभने यो दिन हाम्रा मालिकको निम्ति पवित्र छ। अनि उदास नोहोऊ किनभने परमप्रभुमा आनन्द नै तिम्रो शक्तिहो।” लेवीहरूले भने, “शान्त होऊ, किनभने यो पवित्र दिन हो। उदास नहोऊ।” त्यस पछि सबै मानिसहरूले खान-पिन गरे र भोजनका भागहरू पठाइदिए अनि खूबै आनन्दसित उत्सब मनाउन गए। किनकि तिनीहरूले परमेश्वरका वचनहरू बुझे जो तिनीहरूलाई याद गराइदिएको थियो। महीनाको दोस्रो दिनमा समस्त मानिसका प्रमुखहरू, पूजाहारी अनि लेवीहरू व्यवस्थाका वचनहरू अध्ययन गर्न शास्त्री एज्रा कहाँ भेला भए। तिनीहरूले व्यवस्थामा यो लेखिएको पाए कि मोशा मार्फत परमप्रभुले आदेश दिनु भएको थियो, सातौं महीनाको चाडको समयमा इस्राएलका मानिसहरू छाप्रोमा-बास बस्नु पर्छ, अनि तिनीहरूले यी वचनहरू तिनीहरूका सबै शहरहरू अनि यरूशलेममा घोषणा गरे अनि फैलाए, “पार्वत्य देशतिर जाऊ अनि भद्राक्ष जङ्गली भद्राक्ष, मेहंदी, खजुर अनि पातहरू भएका अन्य बृक्षहरूका हाँगाहरू ल्याऊ व्यावस्थामा लेखिए झैं आश्रय छाप्राहरू बनाउनु।”
नहेम्याह 8:9-15 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
व्यवस्थाका वचनले मानिसहरूको हृदय छोयो र तिनीहरू रुन लागे। तब बडा-हाकिम नहेम्याह, पूजाहारी शास्त्री एज्रा, शिक्षा दिइरहेका लेवीहरूले तिनीहरूलाई भने, “आजको दिन हाम्रा प्रभु परमेश्वरको लागि पवित्र छ, यसर्थ आज तिमीहरू रुनु-कराउनुहुँदैन। अब घर गएर भोज खाओ। जोसँग पुग्दो छैन, ऊसँग आफ्ना भोजन र दाखमद्य बाँडेर खाओ। हाम्रा परमप्रभुको निम्ति आजको दिन पवित्र छ। यसैले विलाप नगर। परमप्रभुले दिनुहुने आनन्दले तिमीहरू बलिया हुनेछौ।” लेवीहरूले मानिसहरूका बीचमा घुमी-घुमी तिनीहरूलाई शान्त गराए, आज जस्तो पवित्र दिनमा विलाप नगर भनी सम्झाए। तब सबै इस्राएलीहरू घर गए, आनन्दसाथ खाए, पिए, आफूसँग भएका कुरा अरूसँग बाँडे किनभने व्यवस्थाबाट पढी सुनाइएका कुरा तिनीहरूले बुझेका थिए। भोलिपल्ट वंश-वंशका मुखियाहरू, पूजाहारी र लेवीहरू व्यवस्थाका शिक्षा अध्ययन गर्न एज्राकहाँ गए। तिनीहरूले देखे कि परमेश्वरले मोशाद्वारा दिनुभएको व्यवस्थाअनुसार केही दिनको निम्ति हामीहरू छाप्रोमा बस्नुपर्थ्यो। त्यसलाई छाप्रो वासको चाड भनिन्थ्यो। तब तिनीहरूले यरूशलेम र अरू सहरहरूभरि यस्तो समाचार पठाए, “पहाडमा जाओ, धूपी, भद्राक्ष, मेहदी, खजूर र अरू रूखबाट हाँगाबिँगा बटुलेर ल्याओ। व्यवस्थामा लेखेअनुसार हामीले छाप्रो बनाउनुपर्छ।”