YouVersion लोगो
खोज आइकन

नहेम्‍याह 8:6-17

नहेम्‍याह 8:6-17 NNRV

एज्राले परमप्रभु महान्‌ परमेश्‍वरको प्रशंसा गरे, र सबै मानिसहरूले आ-आफ्‍ना हात उठाएर यसो भनेर जवाफ दिए, “आमेन, आमेन।” त्‍यसपछि तिनीहरूले आ-आफ्‍नो शिर निहुराएर परमप्रभुको सामुन्‍ने नम्रतापूर्वक दण्‍डवत्‌ गरे। लेवीहरू— येशूअ, बानी, शरेबियाह, यामीन, अक्‍कूब, सब्‍बतै, होदियाह, मासेयाह, कलीता, अजर्याह, योजाबाद, हानान, पलयाहले चाहिँ मानिसहरूलाई आ-आफ्‍नो ठाउँमा उभिएकै बेला व्‍यवस्‍था बुझाइदिए। तिनीहरूले परमेश्‍वरका व्‍यवस्‍थाको पुस्‍तक राम्ररी पढ़ेर त्‍यसको अर्थ मानिसहरूले बुझ्‍न सक्‍ने गरी बुझाइदिए। तब राज्‍यपाल नहेम्‍याह, पूजाहारीशास्‍त्री एज्रा र मानिसहरूलाई शिक्षा दिइरहेका लेवीहरूले तिनीहरू सबैलाई भने, “आजको दिन परमप्रभु तिमीहरूका परमेश्‍वरको निम्‍ति पवित्र छ। विलाप नगर, अनि नरोओ।” किनभने व्‍यवस्‍थाका वचनहरू सुनेर तिनीहरू सबै रुँदैथिए। तब नहेम्‍याहले तिनीहरूलाई भने, “अब तिमीहरू जाओ, स्‍वादिष्‍ट भोजन खाओ, र मीठो पेय पदार्थ पिओ, र आफ्‍नो निम्‍ति जुटाउन नसक्‍नेहरूलाई पनि भाग पठाइदेओ। किनभने आजको दिन हाम्रा परमप्रभुको निम्‍ति पवित्र छ। उदास नहोओ, किनभने परमप्रभुको आनन्‍द नै तिमीहरूको बल हो।” लेवीहरूले यसो भनेर मानिसहरूलाई शान्‍त गराए, “चूप लाग, किनभने आजको दिन पवित्र छ। उदास नहोओ।” तब सबै मानिसहरू खानपान गर्न, अरूहरूलाई भाग पठाइदिन र धूमधामसित उत्‍सव मनाउन गए, किनभने तिनीहरूलाई सम्‍झाएको कुरा अब तिनीहरूले बुझे। महिनाको दोस्रो दिनमा परिवार-परिवारका मुख्‍य-मुख्‍य मानिसहरू, पूजाहारीहरू र लेवीहरूका साथमा व्‍यवस्‍था अध्‍ययन गर्न शास्‍त्री एज्राको सामुन्‍ने भेला भए। व्‍यवस्‍थामा सातौँ महिनाका चाड़को बेला छाप्रोमा बस्‍नुपर्छ भन्‍ने मोशाद्वारा परमप्रभुले आज्ञा गर्नुभएको कुरा, र आफ्‍ना सबै सहरहरूभरि र यरूशलेममा तिनीहरूले यही कुराको घोषणा गर्नुपर्छ भन्‍ने कुरा पनि तिनीहरूले भेट्टाए: “डाँड़ाहरूमा गएर भद्राक्ष र जङ्गली भद्राक्ष, मेहदी र खजूरका हाँगा र अरू पातहरू भएका हाँगाहरू छाप्रा बनाउन ल्‍याओ”— जस्‍तै लेखिएको छ। यसैले मानिसहरू गएर हाँगाहरू ल्‍याए, र हरेकले आ-आफ्‍नो घरको छाना र आँगनमा, र परमेश्‍वरको भवनका चोकहरूमा, र पानी ढोकाका सामुको चोक र एफ्राइमका ढोकाको चोकमा पनि आ-आफ्‍नो निम्‍ति छाप्रो बनाए। निर्वासबाट आएका सबै समुदायले छाप्रो बनाएर तिनमा बसे। नूनका छोरा यहोशूको पालोदेखि त्‍यस दिनसम्‍म यो उत्‍सव इस्राएलीहरूले यसरी मनाएका थिएनन्‌। अनि तिनीहरूको आनन्‍द असाध्‍य ठूलो भयो।