YouVersion लोगो
खोज आइकन

नहेम्‍याह 8:6-17

नहेम्‍याह 8:6-17 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

एज्राले भने, “महान् परमेश्‍वर प्रभुको प्रशंसा गर!” तब सबै मानिसहरूले हात आकाशतिर उचालेर “आमेन, आमेन” भने। शिर भूइँसम्‍म निहुराएर घुँडा टेकी तिनीहरूले परमेश्‍वरलाई प्रणाम गरे। तब तिनीहरू आ-आफ्‍ना ठाउँमा उभिए र येशूअ, बानी, शरेबियाह, यामीन, अक्‍कूब, सब्‍बतै, होदियाह, मासेयाह, कलीता, अजर्याह, योजाबाद, हानान र पलयाह नाम भएका लेवीहरूले तिनीहरूलाई व्‍यवस्‍थाको अर्थ खोलेर बुझाए। तिनीहरूले मुखमुखै व्‍यवस्‍था सरल भाषामा अनुवाद गर्दै अर्थ खोलिदिए र मानिसहरूले बुझे। व्‍यवस्‍थाका वचनले मानिसहरूको हृदय छोयो र तिनीहरू रुन लागे। तब बडा-हाकिम नहेम्‍याह, पूजाहारी शास्‍त्री एज्रा, शिक्षा दिइरहेका लेवीहरूले तिनीहरूलाई भने, “आजको दिन हाम्रा प्रभु परमेश्‍वरको लागि पवित्र छ, यसर्थ आज तिमीहरू रुनु-कराउनुहुँदैन। अब घर गएर भोज खाओ। जोसँग पुग्‍दो छैन, ऊसँग आफ्‍ना भोजन र दाखमद्य बाँडेर खाओ। हाम्रा परमप्रभुको निम्‍ति आजको दिन पवित्र छ। यसैले विलाप नगर। परमप्रभुले दिनुहुने आनन्‍दले तिमीहरू बलिया हुनेछौ।” लेवीहरूले मानिसहरूका बीचमा घुमी-घुमी तिनीहरूलाई शान्‍त गराए, आज जस्‍तो पवित्र दिनमा विलाप नगर भनी सम्‍झाए। तब सबै इस्राएलीहरू घर गए, आनन्‍दसाथ खाए, पिए, आफूसँग भएका कुरा अरूसँग बाँडे किनभने व्‍यवस्‍थाबाट पढी सुनाइएका कुरा तिनीहरूले बुझेका थिए। भोलिपल्‍ट वंश-वंशका मुखियाहरू, पूजाहारी र लेवीहरू व्‍यवस्‍थाका शिक्षा अध्‍ययन गर्न एज्राकहाँ गए। तिनीहरूले देखे कि परमेश्‍वरले मोशाद्वारा दिनुभएको व्‍यवस्‍थाअनुसार केही दिनको निम्‍ति हामीहरू छाप्रोमा बस्‍नुपर्थ्‍यो। त्यसलाई छाप्रो वासको चाड भनिन्‍थ्‍यो। तब तिनीहरूले यरूशलेम र अरू सहरहरूभरि यस्‍तो समाचार पठाए, “पहाडमा जाओ, धूपी, भद्राक्ष, मेहदी, खजूर र अरू रूखबाट हाँगाबिँगा बटुलेर ल्‍याओ। व्‍यवस्‍थामा लेखेअनुसार हामीले छाप्रो बनाउनुपर्छ।” तब मानिसहरूले हाँगाबिँगा ल्‍याएर छाप्रो बनाए। घरको कौसीमाथि, आँगनमा, मन्‍दिरको चोकमा, पानी-ढोका र एफ्राइम ढोकाछेउका चोकहरूमा तिनीहरूले छाप्रो बनाए। कैदबाट छुटेर आएका सबै मानिसहरू छाप्रो बनाएर बसे। नूनका छोरा यहोशूको पालादेखि अहिलेसम्‍म पहिलोपल्‍ट यसरी तिनीहरू छाप्रो हालेर बसेका थिए, यसैले मानिसहरूमा ठूलो जोश र आनन्‍द थियो।

शेयर गर्नुहोस्
नहेम्‍याह 8 पढ्नुहोस्

नहेम्‍याह 8:6-17 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

एज्राले परमप्रभु महान्‌ परमेश्‍वरको प्रशंसा गरे, र सबै मानिसहरूले आ-आफ्‍ना हात उठाएर यसो भनेर जवाफ दिए, “आमेन, आमेन।” त्‍यसपछि तिनीहरूले आ-आफ्‍नो शिर निहुराएर परमप्रभुको सामुन्‍ने नम्रतापूर्वक दण्‍डवत्‌ गरे। लेवीहरू— येशूअ, बानी, शरेबियाह, यामीन, अक्‍कूब, सब्‍बतै, होदियाह, मासेयाह, कलीता, अजर्याह, योजाबाद, हानान, पलयाहले चाहिँ मानिसहरूलाई आ-आफ्‍नो ठाउँमा उभिएकै बेला व्‍यवस्‍था बुझाइदिए। तिनीहरूले परमेश्‍वरका व्‍यवस्‍थाको पुस्‍तक राम्ररी पढ़ेर त्‍यसको अर्थ मानिसहरूले बुझ्‍न सक्‍ने गरी बुझाइदिए। तब राज्‍यपाल नहेम्‍याह, पूजाहारीशास्‍त्री एज्रा र मानिसहरूलाई शिक्षा दिइरहेका लेवीहरूले तिनीहरू सबैलाई भने, “आजको दिन परमप्रभु तिमीहरूका परमेश्‍वरको निम्‍ति पवित्र छ। विलाप नगर, अनि नरोओ।” किनभने व्‍यवस्‍थाका वचनहरू सुनेर तिनीहरू सबै रुँदैथिए। तब नहेम्‍याहले तिनीहरूलाई भने, “अब तिमीहरू जाओ, स्‍वादिष्‍ट भोजन खाओ, र मीठो पेय पदार्थ पिओ, र आफ्‍नो निम्‍ति जुटाउन नसक्‍नेहरूलाई पनि भाग पठाइदेओ। किनभने आजको दिन हाम्रा परमप्रभुको निम्‍ति पवित्र छ। उदास नहोओ, किनभने परमप्रभुको आनन्‍द नै तिमीहरूको बल हो।” लेवीहरूले यसो भनेर मानिसहरूलाई शान्‍त गराए, “चूप लाग, किनभने आजको दिन पवित्र छ। उदास नहोओ।” तब सबै मानिसहरू खानपान गर्न, अरूहरूलाई भाग पठाइदिन र धूमधामसित उत्‍सव मनाउन गए, किनभने तिनीहरूलाई सम्‍झाएको कुरा अब तिनीहरूले बुझे। महिनाको दोस्रो दिनमा परिवार-परिवारका मुख्‍य-मुख्‍य मानिसहरू, पूजाहारीहरू र लेवीहरूका साथमा व्‍यवस्‍था अध्‍ययन गर्न शास्‍त्री एज्राको सामुन्‍ने भेला भए। व्‍यवस्‍थामा सातौँ महिनाका चाड़को बेला छाप्रोमा बस्‍नुपर्छ भन्‍ने मोशाद्वारा परमप्रभुले आज्ञा गर्नुभएको कुरा, र आफ्‍ना सबै सहरहरूभरि र यरूशलेममा तिनीहरूले यही कुराको घोषणा गर्नुपर्छ भन्‍ने कुरा पनि तिनीहरूले भेट्टाए: “डाँड़ाहरूमा गएर भद्राक्ष र जङ्गली भद्राक्ष, मेहदी र खजूरका हाँगा र अरू पातहरू भएका हाँगाहरू छाप्रा बनाउन ल्‍याओ”— जस्‍तै लेखिएको छ। यसैले मानिसहरू गएर हाँगाहरू ल्‍याए, र हरेकले आ-आफ्‍नो घरको छाना र आँगनमा, र परमेश्‍वरको भवनका चोकहरूमा, र पानी ढोकाका सामुको चोक र एफ्राइमका ढोकाको चोकमा पनि आ-आफ्‍नो निम्‍ति छाप्रो बनाए। निर्वासबाट आएका सबै समुदायले छाप्रो बनाएर तिनमा बसे। नूनका छोरा यहोशूको पालोदेखि त्‍यस दिनसम्‍म यो उत्‍सव इस्राएलीहरूले यसरी मनाएका थिएनन्‌। अनि तिनीहरूको आनन्‍द असाध्‍य ठूलो भयो।

शेयर गर्नुहोस्
नहेम्‍याह 8 पढ्नुहोस्

नहेम्‍याह 8:6-17 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

एज्राले याहवेह महान् परमेश्‍वरलाई प्रशंसा गरे; अनि सबै मानिसहरूले आफ्ना हातहरू उचालेर यसो भन्दै प्रतिक्रिया दिए, “आमेन! आमेन!” त्यसपछि तिनीहरू भुइँसम्म घोप्टो परेर याहवेहलाई दण्डवत् गरे। येशूआ, बानी, शेरेबियाह, यामीन, अक्‍कूब, शब्बतै, होदिय्याह, मासेयाह, कलीता, अजर्याह, योजाबाद, हानान र पलायाहः यी लेवीहरूले त्यहाँ मानिसहरू उभिरहेकै बेला मानिसहरूलाई व्यवस्थाको अर्थ बुझाइदिए। तिनीहरूले परमेश्‍वरको व्यवस्थाको पुस्तकबाट पढे; अनि पढेको कुरा स्पष्‍ट हुने गरी अर्थ लगाइदिए, ताकि जे पढिएको थियो, सो मानिसहरूले बुझ्न सकून्। तब राज्यपाल नहेम्याह, पुजारी र व्यवस्थाका शिक्षक एज्रा र लेवीहरू, जसले तिनीहरू सबैलाई निर्देशन दिँदै यसो भने, “यो दिन याहवेह तिमीहरूका परमेश्‍वरको निम्ति पवित्र छ। विलाप नगर र नरोऊ।” किनकि व्यवस्थाका वचन सुनेर सबै मानिसहरू रोइरहेका थिए। नहेम्याहले भने, “गएर असल भोजन र मिठो दाखमद्य पिउनुहोस्; अनि खानेकुरा नभएकाहरूलाई केही पठाइदिनुहोस्। यो दिन हाम्रा याहवेहको निम्ति पवित्र छ। अफसोस नगर्नुहोस्; किनकि याहवेहको आनन्द नै तपाईंहरूको बल हो।” लेवीहरूले यसो भनेर मानिसहरूलाई शान्त गराए, “शान्त हुनुहोस्, किनकि यो एउटा पवित्र दिन हो, शोक नगर्नुहोस्।” तब सबै मानिसहरू खान, पिउन र आफूसँग भएको भोजनको केही भाग नभएकाहरूलाई पठाइदिन, र अति हर्षको साथ उत्सव मनाउन गइहाले। किनकि तिनीहरूलाई बुझाइएका कुरा अब तिनीहरूले बुझेका थिए। महिनाको दोस्रो दिन सबै परिवारका अगुवाहरू, पुजारीहरू र लेवीहरूको साथमा व्यवस्थाका वचनहरू ध्यानसित बुझ्न शिक्षक एज्राकहाँ गए। याहवेहले मोशाद्वारा आज्ञा दिनुभएको व्यवस्थामा तिनीहरूले यस्तो लेखिएको भेट्टाए, सातौँ महिनाको चाडमा इस्राएलीहरू छाप्रोमा बस्‍नुपर्छ। तिनीहरूले आफ्ना सहरहरूमा र यरूशलेममा यो वचन घोषणा गरेर फैलाउनुपर्छ भन्‍ने कुरा पनि लेखिएको भेट्टाए: “पहाडी इलाकाहरूमा गएर जैतुन, जङ्गली जैतुनका रूखहरू, मेहदी, खजूर र छाया दिने रूखहरूबाट छाप्रो बनाउन हाँगाहरू ल्याओ”। यसकारण मानिसहरू निस्केर बाहिर गए, र ती हाँगाहरू लिएर आए। अनि तिनीहरूले आ-आफ्नो निम्ति घरको छानामाथि, तिनीहरूका आँगनहरूमा र परमेश्‍वरको भवनका चोकहरूमा पानी मूलढोकाको छेउको चोकमा र एफ्राइमको मूलढोकाको छेउमा अस्थायी छाप्राहरू बनाए। कैदबाट फर्किआउने सारा समुदायले अस्थायी छाप्राहरू बनाए, र त्यसमा बसे। नूनका छोरा यहोशूको समयदेखि उसो इस्राएलीहरूले यसरी यो उत्सव मनाएका थिएनन्। त्यसैले तिनीहरू धेरै खुशी थिए।

शेयर गर्नुहोस्
नहेम्‍याह 8 पढ्नुहोस्

नहेम्‍याह 8:6-17 पवित्र बाइबल (NERV)

एज्राले परमप्रभु महान् परमेश्वरको स्तुति गरे। अनि सबै मानिसहरूले आफ्ना हात उठाउँदै उत्तरदिए, “आमीन! आमीन!” तब तिनीहरू सबै परमप्रभुको अघि भुइँमा निहुरीए। लेवीहरूको कुल समूहबाट येशूअ, बानी, शेरेबियाह, यामीन, अक्कूब, सब्बतै, होदियाह, मासेयाह, केलीता, अजर्याह, योजाबाद, हानान, अनि पलायाह मानिसहरूलाई व्यवस्थाको शिक्षा दिए जब मानिसहरू चाँहि आफ्ना स्थानमा उभिरहेका थिए। तिनीहरूले परमेश्वरको व्यवस्थाको पुस्तक स्पष्ट सित पढे अनि के पढिएको थियो मानिसहरूलाई बुझ्न सहायता गरे। नहेम्याह, जो राज्यपाल थिए, एज्रा पूजाहारी, अनि शास्त्री अनि मानिसहरूलाई निर्देश गरिरहेका लेवीहरूले सबै मानिसहरूलाई भने, “यो दिन तिमीहरूका परमप्रभु परमेश्वरका निम्ति पवित्र दिन हो। उदास नहोऊ अनि विलाप नगर।” किनभने सबै मानिसहरू व्यवस्थाका वचनहरू सुन्दा रोइरहेका थिए। उसले तिनीहरूलाई भने, “जाऊ अनि मीठो भोजन खाऊ, र स्वादिष्ट दाखरस पिऊ अनि तिनीहरूलाई भाग पठाऊ जसले तयार गरेका छैनन्, किनभने यो दिन हाम्रा मालिकको निम्ति पवित्र छ। अनि उदास नोहोऊ किनभने परमप्रभुमा आनन्द नै तिम्रो शक्तिहो।” लेवीहरूले भने, “शान्त होऊ, किनभने यो पवित्र दिन हो। उदास नहोऊ।” त्यस पछि सबै मानिसहरूले खान-पिन गरे र भोजनका भागहरू पठाइदिए अनि खूबै आनन्दसित उत्सब मनाउन गए। किनकि तिनीहरूले परमेश्वरका वचनहरू बुझे जो तिनीहरूलाई याद गराइदिएको थियो। महीनाको दोस्रो दिनमा समस्त मानिसका प्रमुखहरू, पूजाहारी अनि लेवीहरू व्यवस्थाका वचनहरू अध्ययन गर्न शास्त्री एज्रा कहाँ भेला भए। तिनीहरूले व्यवस्थामा यो लेखिएको पाए कि मोशा मार्फत परमप्रभुले आदेश दिनु भएको थियो, सातौं महीनाको चाडको समयमा इस्राएलका मानिसहरू छाप्रोमा-बास बस्नु पर्छ, अनि तिनीहरूले यी वचनहरू तिनीहरूका सबै शहरहरू अनि यरूशलेममा घोषणा गरे अनि फैलाए, “पार्वत्य देशतिर जाऊ अनि भद्राक्ष जङ्गली भद्राक्ष, मेहंदी, खजुर अनि पातहरू भएका अन्य बृक्षहरूका हाँगाहरू ल्याऊ व्यावस्थामा लेखिए झैं आश्रय छाप्राहरू बनाउनु।” यसर्थ मानिसहरू गए र हाँगाहरू लिएर आए, अनि तिनीहरू स्वयंका निम्ति छाप्रोहरू बनाए, हरेकले आफ्ना छतमा अनि परमेश्वरको मन्दिरको पानी-मूलढोका चोक एप्रेम मूल ढोकाको। सम्पूर्ण समूहका मानिसहरू जो कैदबाट आएका थिए अस्थाई छाप्राहरू निर्माण गरे र त्यसमा बसे किनभने इस्राएकीहरूले नूनका छोरा यहोशूको समयदेखि त्यसदिनसम्म त्यसो गरेका थिएनन्। तिनीहरू धेरै खुशी थिए।

शेयर गर्नुहोस्
नहेम्‍याह 8 पढ्नुहोस्