YouVersion लोगो
खोज आइकन

मर्कूस 7:5-29

मर्कूस 7:5-29 NNRV

तब फरिसीहरू र शास्‍त्रीहरूले उहाँलाई सोधे, “तपाईंका चेलाहरू पितापुर्खाले राखिदिएका परम्‍परामा किन चल्‍दैनन्, तर अशुद्ध हातले खान्‍छन्‌?” तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यशैयाले तिमी कपटीहरूका विषयमा ठीकसँग यसरी अगमवाणी गरे, जस्‍तो लेखिएको छ, ‘यस जातिले मलाई ओठले मात्र आदर गर्छ, तर तिनीहरूको हृदय मदेखि टाढ़ा छ। तिनीहरू व्‍यर्थमा मेरो उपासना गर्दछन्, तर तिनीहरूका शिक्षा मानिसहरूले सिकाएका विधि मात्र हुन्‌।’ तिमीहरू परमेश्‍वरको आज्ञालाई त्‍यागेर मानिसहरूका परम्‍परा मान्‍छौ।” उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू आफ्‍ना परम्‍परा मान्‍नलाई कति धूर्ततासँग परमेश्‍वरको आज्ञालाई टारिदिन्‍छौ। किनभने मोशाले भनेका छन्, ‘आफ्‍ना आमा-बुबालाई आदर गर, र जसले आमा-बुबाको विरुद्धमा दुष्‍ट कुरा बोल्‍छ त्‍यो मारिनैपर्छ।’ यदि कुनै मानिसले आफ्‍ना बुबा वा आमालाई ‘मबाट जे-जति मद्दत तपाईंहरूलाई मिल्‍नुपर्ने त्‍यो कुर्बान हो,’ (अर्थात्‌ परमेश्‍वरलाई चढ़ाइएको) भन्‍छ भने, तिमीहरू त्‍यसलाई आफ्‍ना आमा-बुबाको निम्‍ति फेरि केही गर्न दिँदैनौ। यसरी तिमीहरू आफ्‍नो चलिआएको परम्‍परालाई कायम राखेर परमेश्‍वरको वचनलाई चाहिँ रद्द तुल्‍याउँछौ। अनि यस्‍तै अनेक कामहरू तिमीहरू गर्दछौ।” उहाँले मानिसहरूलाई फेरि आफूकहाँ बोलाएर तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू सबैले मेरा कुरा सुन र बुझ। यस्‍तो केही कुरा छैन जो बाहिरबाट मानिसभित्र पसेर त्‍यसलाई अशुद्ध पार्न सक्‍छ, तर मानिसबाट बाहिर निस्‍कने कुराहरूले नै मानिसलाई अशुद्ध पार्छ। [जसको सुन्‍ने कान छ त्‍यसले सुनोस्‌।”] मानिसहरूलाई छोड़ेर घरभित्र पसेपछि उहाँका चेलाहरूले उहाँलाई यस दृष्‍टान्‍तको विषयमा सोधे। उहाँले तिनीहरूलाई भन्‍नुभयो, “के तिमीहरू पनि अझै अबुझ छौ? जे बाहिरबाट मानिसभित्र पस्‍छ त्‍यसले उसलाई अशुद्ध पार्न सक्‍दैन भनेर तिमीहरू जान्‍दैनौ? किनकि त्‍यो उसको हृदयमा होइन, तर पेटभित्र पस्‍तछ, र बाहिर निस्‍किहाल्‍छ। (यसरी उहाँले सबै भोजन शुद्ध हो भनी बताइदिनुभयो।) उहाँले भन्‍नुभयो, “मानिसबाट जे बाहिर निस्‍कन्‍छ त्‍यसैले मानिसलाई अशुद्ध पार्छ। किनकि भित्रबाट, अर्थात्‌ मानिसको हृदयबाट खराब विचार, व्‍यभिचार, चोरी, हत्‍या, परस्‍त्रीगमन, लोभ, दुष्‍टता, छल, छाडापन, ईर्ष्‍या, निन्‍दा, घमण्‍ड, मूर्खता निस्‍कन्‍छन्‌। यी सबै दुष्‍ट कुराहरू भित्रबाट निस्‍कन्‍छन्, र मानिसलाई अशुद्ध पार्छन्‌। त्‍यहाँबाट उठेर उहाँ टुरोस र सीदोनका सीमातिर गएर एउटा घरभित्र पस्‍नुभयो। यो कुरा कसैले थाहा नपाओस्‌ भन्‍ने उहाँ चाहनुहुन्‍थ्‍यो, तर उहाँ गुप्‍त रहन सक्‍नुभएन। त्‍यसै बेला एउटी स्‍त्रीले उहाँको विषयमा सुनी र आएर उहाँको पाउमा परी— त्‍यस स्‍त्रीको छोरीलाई अशुद्ध आत्‍मा लागेको थियो। त्‍यो सिरियाको फोनिकेमा जन्‍मेकी एउटी ग्रीक स्‍त्री थिई। त्‍यस स्‍त्रीले आफ्‍नी छोरीबाट भूत निकालिदेऊन्‌ भनी उहाँलाई बिन्‍ती गरी। उहाँले त्‍यसलाई भन्‍नुभयो, “पहिले छोराछोरीहरूलाई खान देऊ, किनकि छोराछोरीहरूका रोटी लिएर कुकुरहरूलाई फालिदिनु उचित होइन।” तर त्‍यसले उहाँलाई भनी, “हो प्रभु, तर कुकुरहरूले पनि त छोराछोरीहरूले टेबिलमुनि खसालेका टुक्राहरू खान्‍छन्‌।” उहाँले त्‍यसलाई भन्‍नुभयो, “तिमीले यसो भनेको कारण नै तिमी घर जाऊ। तिम्री छोरीबाट भूत निस्‍केर गएको छ।”