मर्कूस 7:5-29
मर्कूस 7:5-29 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब फरिसीहरू र शास्त्रीहरूले उहाँलाई सोधे, “तपाईंका चेलाहरू पितापुर्खाले राखिदिएका परम्परामा किन चल्दैनन्, तर अशुद्ध हातले खान्छन्?” तब उहाँले तिनीहरूलाई भन्नुभयो, “यशैयाले तिमी कपटीहरूका विषयमा ठीकसँग यसरी अगमवाणी गरे, जस्तो लेखिएको छ, ‘यस जातिले मलाई ओठले मात्र आदर गर्छ, तर तिनीहरूको हृदय मदेखि टाढ़ा छ। तिनीहरू व्यर्थमा मेरो उपासना गर्दछन्, तर तिनीहरूका शिक्षा मानिसहरूले सिकाएका विधि मात्र हुन्।’ तिमीहरू परमेश्वरको आज्ञालाई त्यागेर मानिसहरूका परम्परा मान्छौ।” उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू आफ्ना परम्परा मान्नलाई कति धूर्ततासँग परमेश्वरको आज्ञालाई टारिदिन्छौ। किनभने मोशाले भनेका छन्, ‘आफ्ना आमा-बुबालाई आदर गर, र जसले आमा-बुबाको विरुद्धमा दुष्ट कुरा बोल्छ त्यो मारिनैपर्छ।’ यदि कुनै मानिसले आफ्ना बुबा वा आमालाई ‘मबाट जे-जति मद्दत तपाईंहरूलाई मिल्नुपर्ने त्यो कुर्बान हो,’ (अर्थात् परमेश्वरलाई चढ़ाइएको) भन्छ भने, तिमीहरू त्यसलाई आफ्ना आमा-बुबाको निम्ति फेरि केही गर्न दिँदैनौ। यसरी तिमीहरू आफ्नो चलिआएको परम्परालाई कायम राखेर परमेश्वरको वचनलाई चाहिँ रद्द तुल्याउँछौ। अनि यस्तै अनेक कामहरू तिमीहरू गर्दछौ।” उहाँले मानिसहरूलाई फेरि आफूकहाँ बोलाएर तिनीहरूलाई भन्नुभयो, “तिमीहरू सबैले मेरा कुरा सुन र बुझ। यस्तो केही कुरा छैन जो बाहिरबाट मानिसभित्र पसेर त्यसलाई अशुद्ध पार्न सक्छ, तर मानिसबाट बाहिर निस्कने कुराहरूले नै मानिसलाई अशुद्ध पार्छ। [जसको सुन्ने कान छ त्यसले सुनोस्।”] मानिसहरूलाई छोड़ेर घरभित्र पसेपछि उहाँका चेलाहरूले उहाँलाई यस दृष्टान्तको विषयमा सोधे। उहाँले तिनीहरूलाई भन्नुभयो, “के तिमीहरू पनि अझै अबुझ छौ? जे बाहिरबाट मानिसभित्र पस्छ त्यसले उसलाई अशुद्ध पार्न सक्दैन भनेर तिमीहरू जान्दैनौ? किनकि त्यो उसको हृदयमा होइन, तर पेटभित्र पस्तछ, र बाहिर निस्किहाल्छ। (यसरी उहाँले सबै भोजन शुद्ध हो भनी बताइदिनुभयो।) उहाँले भन्नुभयो, “मानिसबाट जे बाहिर निस्कन्छ त्यसैले मानिसलाई अशुद्ध पार्छ। किनकि भित्रबाट, अर्थात् मानिसको हृदयबाट खराब विचार, व्यभिचार, चोरी, हत्या, परस्त्रीगमन, लोभ, दुष्टता, छल, छाडापन, ईर्ष्या, निन्दा, घमण्ड, मूर्खता निस्कन्छन्। यी सबै दुष्ट कुराहरू भित्रबाट निस्कन्छन्, र मानिसलाई अशुद्ध पार्छन्। त्यहाँबाट उठेर उहाँ टुरोस र सीदोनका सीमातिर गएर एउटा घरभित्र पस्नुभयो। यो कुरा कसैले थाहा नपाओस् भन्ने उहाँ चाहनुहुन्थ्यो, तर उहाँ गुप्त रहन सक्नुभएन। त्यसै बेला एउटी स्त्रीले उहाँको विषयमा सुनी र आएर उहाँको पाउमा परी— त्यस स्त्रीको छोरीलाई अशुद्ध आत्मा लागेको थियो। त्यो सिरियाको फोनिकेमा जन्मेकी एउटी ग्रीक स्त्री थिई। त्यस स्त्रीले आफ्नी छोरीबाट भूत निकालिदेऊन् भनी उहाँलाई बिन्ती गरी। उहाँले त्यसलाई भन्नुभयो, “पहिले छोराछोरीहरूलाई खान देऊ, किनकि छोराछोरीहरूका रोटी लिएर कुकुरहरूलाई फालिदिनु उचित होइन।” तर त्यसले उहाँलाई भनी, “हो प्रभु, तर कुकुरहरूले पनि त छोराछोरीहरूले टेबिलमुनि खसालेका टुक्राहरू खान्छन्।” उहाँले त्यसलाई भन्नुभयो, “तिमीले यसो भनेको कारण नै तिमी घर जाऊ। तिम्री छोरीबाट भूत निस्केर गएको छ।”
मर्कूस 7:5-29 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यसकारण फरिसीहरू र व्यवस्थाका शिक्षकहरूले येशूलाई सोधे, “तपाईंका चेलाहरू किन पुर्खाहरूको परम्पराअनुसार चल्दैनन्, तर अशुद्ध हातले भोजन खान्छन्?” उहाँले जवाफ दिनुभयो, “तिमी कपटीहरूको विषयमा अगमवाणी गर्दा यशैयाले ठिकै भनेका थिए; जस्तो लेखिएको छ: “ ‘यी मानिसहरूले आफ्ना ओठले मात्र मेरो आदर गर्छन्, तर तिनीहरूको हृदय मदेखि टाढा छ। तिनीहरूले व्यर्थमा मेरो आराधना गर्छन्, तिनीहरूको शिक्षा मानवीय नियम मात्र हुन्।’ तिमीहरू परमेश्वरका आज्ञाहरू त्यागेर मानिसहरूको परम्परामा लागिरहन्छौ।” अनि उहाँले तिनीहरूलाई भन्नुभयो: “तिमीहरूसित आफ्नै परम्पराको निम्ति परमेश्वरका आज्ञाहरू पन्छाउने चतुर उपाय छ! किनकि मोशाले भने, ‘आफ्ना बुबाआमालाई आदर गर,’ अनि, ‘जसले आफ्ना बुबा वा आमालाई सराप्छ, त्यो मारिनुपर्छ।’ तर तिमीहरू भन्दछौ, कुनै मानिसले आफ्ना बुबा वा आमालाई ‘तपाईंले मबाट जुन सहायता पाउनुपर्ने हो, त्यो कुर्बान हो’ अर्थात् परमेश्वरलाई चढाइसकिएको भेटी भन्यो भने, तिमीहरू त्यसलाई आफ्ना बुबा वा आमाका लागि केही गर्न दिँदैनौ। यसरी तिमीहरूले चलिआएको आफ्ना परम्पराद्वारा परमेश्वरको वचनलाई व्यर्थको तुल्याउँछौ। तिमीहरूले यस्ता धेरै कुराहरू गर्दछौ।” येशूले भीडलाई आफूकहाँ बोलाएर भन्नुभयो, “तिमीहरू हरेकले मेरो कुरा सुन, र त्यसलाई बुझ। मानिसको बाहिरबाट कुनै पनि कुरा ऊभित्र पसेमा उसलाई अशुद्ध बनाउन सक्दैन। बरु उसको हृदयबाट जे बाहिर निस्कँदछन्, ती कुराहरूले चाहिँ उसलाई अशुद्ध बनाउँदछन्। जसको सुन्ने कान छ, त्यसले सुनोस् र बुझोस्।” उहाँ भीडलाई छोडेर घरभित्र पस्नुभयो, तब उहाँका चेलाहरूले उहाँलाई त्यस दृष्टान्तको विषयमा सोधे। उहाँले सोध्नुभयो, “के तिमीहरू यतिका अबुझ छौ? बाहिरबाट मानिसभित्र पसेको कुनै कुराले पनि उसलाई अशुद्ध बनाउन सक्दैन भनी तिमीहरू जान्दैनौ? किनकि त्यो त उसको हृदयमा होइन, तर पेटमा पस्छ, र शरीरबाट बाहिर निस्कन्छ।” त्यसो भनेर येशूले सबै भोजन शुद्ध छन् भनी घोषणा गर्नुभयो। उहाँले अझ भन्नुभयो: “मानिसबाट जे बाहिर निस्कन्छ, त्यसले उसलाई ‘अशुद्ध’ बनाउँछ। किनकि मानिसको हृदयबाट दुष्ट विचारहरू आउँछन्; अनैतिकता, चोरी, हत्या, व्यभिचार, लोभ, ईर्ष्या, छल, कामुकता, डाह, निन्दा, घमण्ड र मूर्खता। यी सबै दुष्ट कुराहरू भित्रबाट नै निस्कन्छन्, र मानिसलाई अशुद्ध बनाउँछन्।” येशू त्यो ठाउँ छोडेर टायरका छेउछाउका इलाकाहरूतिर जानुभयो। उहाँ एउटा घरमा पस्नुभयो, र यो कुरा कसैलाई थाहा नभएको चाहनुहुन्थ्यो; तरै पनि उहाँले आफ्नो उपस्थिति गुप्त राख्न सक्नुभएन। वास्तवमा अशुद्ध आत्माले सताएकी एउटी केटीकी आमा येशूको विषयमा सुन्नसाथ आइन्, र उहाँको पाउमा परिन्। ती स्त्री सिरियाको फोनिकेमा जन्मेकी ग्रीक थिइन्। तिनले येशूलाई आफ्नी छोरीबाट भूत निकालिदिन बिन्ती गरिन्। उहाँले तिनलाई भन्नुभयो, “पहिला बालबच्चालाई पेटभरि खान देऊ; किनकि तिनीहरूको रोटी लगेर कुकुरहरूलाई फालिदिनु उचित होइन।” तिनले जवाफ दिइन्, “हो प्रभु, तर कुकुरहरूले पनि त टेबुलमुनि बालबच्चाले खसालेका टुक्राहरू खान्छन्।” तब उहाँले तिनलाई भन्नुभयो, “तिमीले यस्तो जवाफ दिएको हुनाले तिमी घरमा जाऊ; तिम्री छोरीलाई भूतले छोडिसकेको छ।”
मर्कूस 7:5-29 पवित्र बाइबल (NERV)
यसकारण फरिसीहरू र शास्त्रीहरूले येशूलाई सोधे, “तापईंको चेलाहरूले त हामीले जस्तो आफ्ना पुर्खाहरूको रीतिहरू पालन गर्दैनन् तिनीहरूले किन फोहोर हातले खान्छन्?” येशूले जवाफ दिनुभयो, “तिमीहरू सबै कपटीहरू हौ। यशैयाले तिमीहरूको विषयमा ठीकै भनेका छन्। यशैयाले लेखेका छन्: ‘यी मानिसहरूले तिनीहरूको ओठद्वारा मलाई आदर गर्छन्, तर तिनीहरूका हृदय मदेखि धेरै टाढा छन्। तिनीहरूको मप्रतिको उपासना अर्थहिन छ, किनभने तिनीहरूले सिकाएका कुराहरू, केवल मानिसहरूले बनाएका नियममात्र हुन्।’ तिमीहरूले परमेश्वरको आज्ञालाई त्यागेकाछौ, अनि तिमीहरू मानिसहरूको परम्परा मान्दछौ।” तब येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू ठान्दछौ तिमीहरू चलाख छौ। तिमीहरू आफ्ना परम्परालाई कायम राख्न परमेश्वरको आज्ञालाई पर सार्छौ। मोशाले भनेका छन्, ‘तिमीहरूले आफ्ना आमा र बाबुलाई आदर गर्नैपर्छ।’ फेरि उनले भनेका छन् ‘कसैले आफ्ना बाबु र आमाको खराब कुरा गर्छ भने त्यसलाई मार्नु पर्छ।’ तर तिमीहरू भन्छौ कि यदि कसैले उसको बाबु र आमालाई भन्नेछ, ममा केही छ जसलाई तपाईंहरू को सहायताको निम्ति प्रयोग गर्नसक्छु तर म तपाईंहरूको सहायताको निम्ति यसो गर्न चाहन्न किनभने मैले यसलाई परमेश्वरलाई भेटी को रुपमा अलग राखेकोछु। तिमीहरू त्यस मानिसलाई भन कि त्यसले आफ्ना बाबु र आमाको निम्ति केही गर्न आवश्यकता छैन। यसकारण परमेश्वरले जे आदेश गर्नु भएको छ, त्यो मान्न त्यति महत्वपूर्ण होइन भनी सिकाउँछौ तर तिम्रा नियमहरू मानिसहरूले पछ्याउनु अति महत्वपूर्ण छ। अनि त्यस्तै प्रकारले तिमीहरू पनि यस्ता कुराहरू धेरै गर्छौ।” येशूले फेरि भीडहरूलाई आफूकहाँ बोलाउनुभयो। उहाँले भन्नुभयो, “प्रत्येकले राम्ररी सुन मेरा कुरा बुझ्नु पर्छ। म के भनिरहेछु। यस्तो केही कुरा छैन जो कुनै मानिस भित्र बाहिरबाट पस्छ जसले उसलाई अशुद्ध पार्छ। तर मानिसको भित्रबाट बाहिर आउने कुराहरूले नै मानिसलाई अशुद्ध पार्न सक्छ।” त्यसपछि येशूले भीडलाई छाडेर घर जानुभयो। चेलाहरूले उहाँलाई त्यो दृष्टान्त बारेमा सोधे। येशूले भन्नुभयो, “के तिमीहरूलाई अझै पनि यो बुझ्न गाह्रो परिरहेछ? के तिमीहरू जान्दैनौ कि कुनै मानिसमा जे पनि बाहिरबाट पस्छ त्यसले उसलाई अशुद्ध पार्न सक्तैन किनभने खाना मुटुभित्र जाँदैन तर भूँडीमा जान्छ अनि तब यो शरीरबाट बाहिर नालीमा आउँछ।” (जब येशूले यसो भन्नुभयो उहाँले यस कुरालाई स्पष्ट पार्नु भयो कि सबै खाद्यपदार्थ सफा हुन्छन्।) फेरि येशूले भन्नुभयो, “जे कुराहरू मानिसबाट बाहिर निसकन्छ त्यसैले उसलाई अशुद्ध तुल्याउँछ। सबै अशुद्ध कुरा मानिसका भित्रबाटै आउँछ ती पाप, चोरी, हत्या वेश्यागमन, कुदृष्टि, स्वार्थीपन, निन्दा, धोका, अश्लीलता, ईंर्ष्या, अभद्रता, अहंकार, घमण्ड अनि मूर्खता हुन्। यी सबै दुष्ट कुराहरू मानिसका भित्रबाटै निस्कन्छन् अनि मानिसलाई अशुद्ध तुल्याउँछ।” येशूले त्यो ठाउँ छाड्नु भयो अनि टायरको जिल्लातिर जानुभयो, उहाँ त्यहीं नै भएको कुरा मानिसहरूले थाहा नपाओस् भन्ने चाहनुहुन्थ्यो। त्यहाँ उहाँको उपस्थितिलाई गुप्त राख्न सम्भव थिएन। एउटी आइमाईले येशू त्यहीं हुनुहुन्छ भन्ने थाहा पाई। त्यसको छोरीलाई दुष्टात्मा लागेको थियो। यसकारण त्यो आइमाई येशूकहाँ आएकी थिई अनि उहाँका चरणमा परी। त्यो आईमाई यहूदी थिनन्। ऊ सिरियाको फोनिसियमा भन्ने ठाउँमा जन्मेकी यूनानी थिई। त्यसले आफ्नो छोरीमा लागेको भूतात्मा भगाऊन उहाँलाई बिन्ती गरिन्। येशूले त्यस आइमाईलाई भन्नुभयो, “केटा-केटीहरूले खाने रोटी लिएर कुकुरहरूतिर फ्याँक्नु उचित होईन, पहिले केटा केटीहरूले जे जति खान्छन् खाऊन्।” आइमाईले भनी, “प्रभु, त्यो साँच्चो हो। तर टेबल मुनिका कुकुरहरूले पनि केटा-केटीले छोडेका खानेकुराहरू खान्छन्।” तब येशूले त्यस आइमाईलाई भन्नुभयो, “यो खूबै राम्रो जवाफ हो। यसर्थ तिमी जानसक्छौ। तिम्रो छोरीलाई भूतात्माले छोडिसकेको छ।”
मर्कूस 7:5-29 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
त्यसैकारण फरिसी र धर्म-गुरुहरूले येशूलाई सोधे, “किन तपाईंका चेलाहरू पुर्खाको चलनलाई नमानेर हातै नचोख्याई खान्छन्?” येशूले तिनीहरूलाई भन्नुभयो, “यशैया अगमवक्ताले लेखेका यो कुरा तिमी कपटीहरूलाई ठ्याक्कै मिल्छ– ‘मुखले भने यी मानिसहरूले मलाई खुब आदर गर्छन्, तर तिनीहरूको मनचाहिँ मदेखि धेरै टाढा छ। तिनीहरूले मलाई पुजेको त व्यर्थै छ किनभने तिनीहरूले खालि मानिसले बनाएका नियमहरू मात्र सिकाउँछन्,’ साँच्चै तिमीहरूले परमेश्वरका धार्मिक आज्ञालाई पन्छ्याएर मानिसहरूको रीतिथिति पो मान्छौ।” येशूले अझै भन्नुभयो, “अँ, तिमीहरू कति सिपालु भएर आफ्ना रीतिथिति चलाउन परमेश्वरको आज्ञालाई पन्छ्याइराख्छौ। जस्तो, मोशाले दिएका यी आज्ञा त छँदैछन्– ‘आफ्ना आमा-बुबाको आदर गर्नू।’ अनि ‘आफ्ना आमा-बुबालाई सराप्नेलाई चाहिँ ज्यान सजाय दिनू।’ तर तिमीहरूले भने यस्ता कुरा सिकाउँदा रहेछौ– कसैले आफ्नो आमा-बुबालाई, ‘हेर्नुहोस् तपाईंहरूले मबाट पाउने कुरा ‘कुर्बान’ हो अर्थात् ‘यो कुरा मैले परमेश्वरलाई नै चढाइसकें’ भन्यो भने त्यसले चाहिँ आफ्ना आमा-बुबाको सेवा गर्नुपर्दैन भनेर त्यसलाई रोक्छौ! यसरी तिमीहरू आफ्ना रीतिथितितिर लागेर परमेश्वरको आज्ञालाई बेकामको ठान्छौ अनि त्यस्ता अरू धेरै कुरा तिमीहरूले गरिरहेका छौ।” येशूले फेरि मानिसहरूलाई बोलाएर भन्नुभयो, “लौ, तिमीहरू सबैले मन लगाएर मेरा कुरा सुन। बाहिरबाट मानिसभित्र पस्ने कुनै पनि कुराले मानिसलाई अशुद्ध पार्न सक्दैन। तर मनबाट बाहिर निस्कने कुराले पो मानिसलाई अशुद्ध पार्छ। जसको कान छ, त्यसले सुनोस्!” येशू मानिसहरूलाई छोडेर घरभित्र पस्नुभएपछि उहाँका चेलाहरूले ‘यस कुराको अर्थ बुझाइदिनुहोस्’ भने। येशूले तिनीहरूलाई भन्नुभयो, “के अझै तिमीहरू अरूजस्तै अबुझ नै भएका छौ? तिमीहरूलाई थाहा छैन र? मुखबाट भित्र पस्ने कुराले मानिसलाई अशुद्ध पार्दैन। त्यो त मनमा पस्ने कुरा होइन, तर पेटमा गएर त्यहाँबाट पनि बाहिर निस्केर गइहाल्छ।” त्यसरी येशूले सबै किसिमका खानेकुराहरू शुद्ध छन् भनी बुझाउनुभएको हो। येशूले अझै भन्नुभयो, “मनभित्रबाट बाहिर निस्कने कुराले पो मानिसलाई अशुद्ध पार्दछ किनभने सबै किसिमका खराब विचारहरू मनभित्रैबाट निस्केर आउँछन् र उसलाई खराब कामतिर लैजान्छन्, जस्तै: व्यभिचार गर्ने, चोर्ने, मान्छे मार्ने, वेश्यागमन गर्ने, लोभ गर्ने, दुष्ट काम गर्ने, ठग्ने, छाडा हुने, डाह गर्ने, निन्दा गर्ने, घमण्डी हुने र मूर्ख काम गर्ने। यी सबै खराब कुराहरू मानिसको मनबाट नै निस्कन्छन् र यही कुराहरूले नै उसलाई अशुद्ध पार्छन्।” त्यसपछि येशू त्यो ठाउँ छोडेर टुरोस र सीदोन सहरतिर जानुभयो। कसैले थाहा नपाऊन् भनेर उहाँ एक जनाको घरमा पस्नुभयो। तर मानिसहरूले थाहा पाइहाले। एक जना भूत लागेकी केटीकी आमाले येशूको बारेमा सुन्नेबित्तिकै उहाँकहाँ आइन् र उहाँको पाउमा परिन्। तिनीचाहिँ सिरियाको फोनिके इलाकामा जन्मेका एउटी ग्रीक स्त्री थिइन्। अनि तिनले ‘मेरी छोरीबाट भूत निकालेर निको पारिदिनुहोस्’ भनेर येशूलाई बिन्ती गरिन्। तर येशूले भन्नुभयो, “पहिले हामीले आफ्नै बाल-बच्चालाई खुवाउनुपर्छ, उनीहरूको खानेकुरा खोसेर कुकुरहरूलाई दिनु ठीक हुँदैन!” अनि तिनले भनिन्, “हो हजुर, त्यो त ठीकै हो! तर कुकुरहरूले पनि त टेबिलमुनि बालकहरूले झारेका टुक्राहरू खान पाउँछन् नि!” यो सुनेर येशूले तिनलाई भन्नुभयो, “तिमीले यस्तो कुरा भनेको कारण ढुक्क भएर घर जाऊ, तिम्री छोरीबाट भूत निस्केर गइसकेको छ!”