YouVersion लोगो
खोज आइकन

मर्कूस 3:22-35

मर्कूस 3:22-35 NNRV

यरूशलेमबाट आएका व्‍यवस्‍थाका शास्‍त्रीहरूले भने, “त्‍यसमा बालजिबुल भूत छ, र भूतहरूको मालिकद्वारा नै त्‍यसले भूतहरू निकाल्‍दछ।” तर उहाँले तिनीहरूलाई आफूकहाँ बोलाएर दृष्‍टान्‍तहरूमा भन्‍नुभयो, “शैतानले शैतानलाई कसरी निकाल्‍न सक्‍छ? कुनै राज्‍यको आपसमा फूट भयो भने त्‍यो राज्‍य टिक्‍न सक्‍दैन। कुनै घरको पनि आपसमा फूट भयो भने त्‍यो घर टिक्‍न सक्‍नेछैन। यदि शैतानले शैतानकै विरुद्धमा खड़ा भएर फाटो ल्‍याएको छ भने त्‍यो टिक्‍न सक्‍दैन, तर त्‍यसको अन्‍त्‍य आइसकेको हुन्‍छ। कसैले बलियो मानिसको घरमा पसेर उसको धनमाल लुट्‌न सक्‍दैन जबसम्‍म त्‍यसले त्‍यो बलियो मानिसलाई पहिला बाँध्‍दैन। तब पो त्‍यसले उसको घर लुट्‌न सक्‍छ। साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, मानिसहरूका सबै पाप र ईश्‍वर-निन्‍दा क्षमा गरिनेछन्, तर पवित्र आत्‍माको विरुद्धमा निन्‍दा गर्नेलाई कदापि क्षमा हुनेछैन, तर त्‍यो अनन्‍त पापकर्मको दोषी ठहर्छ।’ उहाँले यो वचन भन्‍नुभयो, किनकि “उसमा अशुद्ध आत्‍मा छ” भनी तिनीहरूले भनेका थिए। तब उहाँकी आमा र उहाँका भाइहरू त्‍यहाँ आए, र बाहिरै खड़ा भएर उहाँलाई डाकिपठाए। भीड उहाँको वरिपरि बसिरहेको थियो र तिनीहरूले उहाँलाई भने, “हेर्नुहोस्, तपाईंकी आमा र तपाईंका भाइहरू तपाईंलाई बाहिर खोज्‍दैछन्‌।” उहाँले तिनीहरूलाई जवाफ दिएर भन्‍नुभयो, “मेरी आमा र मेरा भाइहरू को हुन्‌?” अनि आफ्‍नो वरिपरि चारैतिर हेरेर उहाँले भन्‍नुभयो, “हेर, यी नै हुन्‌ मेरी आमा र मेरा भाइहरू। किनकि जसले परमेश्‍वरको इच्‍छा पालन गर्छ त्‍यो नै मेरो भाइ र मेरी बहिनी र मेरी आमा हुन्‌।”