अब ती दिनमा येशू गालीलको नासरतबाट आउनुभयो, र यूहन्नाबाट यर्दन नदीमा बप्तिस्मा लिनुभयो। पानीबाट उक्लिआउनेबित्तिकै उहाँले स्वर्ग उघ्रिएको र पवित्र आत्मालाई ढुकुरको रूपमा आफूमाथि ओर्लंदैगर्नुभएको देख्नुभयो। अनि स्वर्गबाट यस्तो एउटा आवाज भयो, “तिमी मेरा प्रिय पुत्र हौ, तिमीसँग म अति प्रसन्न छु।” पवित्र आत्माले उहाँलाई तुरुन्तै उजाड-स्थानमा लैजानुभयो। शैतानबाट परीक्षित हुँदै उहाँ चालीस दिन उजाड-स्थानमा रहनुभयो। उहाँ जङ्गली जनावरहरूसँग रहनुभयो, र स्वर्गदूतहरूले उहाँको सेवा-टहल गरे। अब यूहन्ना पक्राउमा परेपछि परमेश्वरको सुसमाचार प्रचार गर्दै येशू गालीलमा आउनुभयो। उहाँले भन्नुभयो, “समय पूरा भएको छ, र परमेश्वरको राज्य नजिक आइपुगेको छ। पश्चात्ताप गर, र सुसमाचारमा विश्वास गर।” गालील-समुद्रको किनार-किनारै जाँदैहुनुहुँदा उहाँले सिमोन र तिनका भाइ अन्द्रियासलाई समुद्रमा जाल हानिरहेका देख्नुभयो। किनकि तिनीहरू जालहारी थिए। येशूले तिनीहरूलाई भन्नुभयो, “मेरो पछि लाग, र म तिमीहरूलाई मानिसहरूका जालहारी बनाउनेछु।” तिनीहरूले तुरुन्तै आफ्ना जालहरू छोड़े, र उहाँको पछि लागे। अनि अलि पर गएपछि उहाँले जब्दियाका दुई छोरा याकूब र यूहन्नालाई डुङ्गामा बसी जाल तुनिरहेका देख्नुभयो। उहाँले तुरुन्त तिनीहरूलाई बोलाउनुभयो, र तिनीहरू आफ्ना पिता जब्दियालाई ज्यामीहरूका साथ डुङ्गामा छोड़ेर उहाँको पछि लागे। तब उहाँहरू कफर्नहुममा जानुभयो, र तुरुन्तै शबाथ-दिनमा सभाघरमा पसी उहाँले शिक्षा दिन लाग्नुभयो। अनि तिनीहरू उहाँका शिक्षामा चकित भए। किनकि उहाँले तिनीहरूलाई शास्त्रीहरूले जस्तो होइन, तर अधिकारसँग सिकाउनुभयो। त्यही बेला त्यस सभाघरमा अशुद्ध आत्मा भएको एक जना मान्छे थियो। त्यसले यसो भन्दै चिच्च्यायो, “हे नासरतका येशू, हामीलाई तपाईंसँग के सरोकार? के तपाईं हामीलाई सर्वनाश पार्नलाई आउनुभएको हो? म तपाईंलाई चिन्छु, तपाईं परमेश्वरका पवित्र जन हुनुहुन्छ।” तर येशूले त्यसलाई यसो भन्दै हकार्नुभयो, “चूप लाग्, र त्यसबाट निस्किजा।” त्यस मान्छेलाई लछारपछार पार्दै त्यो अशुद्ध आत्मा ठूलो स्वरले चिच्च्याएर त्यस मान्छेबाट निस्किगयो। तब सबै जनाले अचम्म माने, र तिनीहरू यसो भन्दै आपसमा सोधासोध गर्न लागे, “यो के हो? यो त नयाँ शिक्षा रहेछ। यिनले त अधिकारसँग अशुद्ध आत्माहरूलाई पनि आज्ञा गर्छन्, र तिनीहरूले यिनका आज्ञा मान्दारहेछन्।”
मर्कूस 1 पढ्नुहोस्
सुन्नुहोस् मर्कूस 1
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मर्कूस 1:9-27
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू