मर्कूस 1
1
बप्तिस्मा-दिने यूहन्ना मार्ग तयार पार्छन्
मत्ती ३:१-१२; लूका ३:१-१८; यूहन्ना १:१९-२८
1परमेश्वरका पुत्र येशू ख्रीष्टको सुसमाचारको आरम्भ। 2यशैया अगमवक्ताको पुस्तकमा यसरी लेखिएको छ: #मला ३:१
“हेर, म मेरो दूतलाई तिम्रो अगिअगि पठाउँछु,
जसले तिम्रो मार्ग तयार गर्नेछ।
3उजाड-स्थानमा एक जना कराउनेको आवाज, #यशै ४०:३
‘परमप्रभुको मार्ग तयार पार,
उहाँका पथ सोझा बनाओ’।”
4बप्तिस्मा-दिने यूहन्ना पापमोचनको लागि पश्चात्तापको बप्तिस्मा प्रचार गर्दै उजाड-स्थानमा देखा परे। 5समस्त यहूदिया देश र यरूशलेमका सबै बासिन्दाहरू तिनीकहाँ निस्किआए। र तिनीहरूले आ-आफ्ना पाप स्वीकार गर्दै तिनीबाट यर्दन नदीमा बप्तिस्मा लिए। 6यूहन्नाले ऊँटको रौँबाट बुनेको लुगा लाउँथे, र कम्मरमा छालाको पटुका बाँध्थे, र सलह र वन-मह खान्थे।#२ राज १:८ 7तिनले यसो भन्दै प्रचार गरे, “जो मपछि आउनुहुन्छ उहाँ मभन्दा शक्तिशाली हुनुहुन्छ, अनि निहुरेर उहाँका जुत्ताका फित्ता फुकाउने लायकको म छैनँ। 8मैले तिमीहरूलाई पानीले बप्तिस्मा दिएको छु, तर उहाँले तिमीहरूलाई पवित्र आत्माले बप्तिस्मा दिनुहुनेछ।”
येशूको बप्तिस्मा र परीक्षा
मत्ती ३:१३-१७; ४:१-११; लूका ३:२१-२२; ४:१-१३
9अब ती दिनमा येशू गालीलको नासरतबाट आउनुभयो, र यूहन्नाबाट यर्दन नदीमा बप्तिस्मा लिनुभयो। 10पानीबाट उक्लिआउनेबित्तिकै उहाँले स्वर्ग उघ्रिएको र पवित्र आत्मालाई ढुकुरको रूपमा आफूमाथि ओर्लंदैगर्नुभएको देख्नुभयो। 11अनि स्वर्गबाट यस्तो एउटा आवाज भयो, “तिमी मेरा प्रिय पुत्र हौ, तिमीसँग म अति प्रसन्न छु।”#उत २२:२; भज २:७; यशै ४२:१; मत्ती १२:१८; मर्क ९:७
12पवित्र आत्माले उहाँलाई तुरुन्तै उजाड-स्थानमा लैजानुभयो। 13शैतानबाट परीक्षित हुँदै उहाँ चालीस दिन उजाड-स्थानमा रहनुभयो। उहाँ जङ्गली जनावरहरूसँग रहनुभयो, र स्वर्गदूतहरूले उहाँको सेवा-टहल गरे।
चेलाहरूको बोलावट
मत्ती ४:१८-२२; लूका ५:१-११; यूहन्ना १:३५-४२
14अब यूहन्ना पक्राउमा परेपछि परमेश्वरको सुसमाचार प्रचार गर्दै येशू गालीलमा आउनुभयो। 15उहाँले भन्नुभयो, “समय पूरा भएको छ, र परमेश्वरको राज्य नजिक आइपुगेको छ। पश्चात्ताप गर, र सुसमाचारमा विश्वास गर।” #मत्ती ३:२
16गालील-समुद्रको किनार-किनारै जाँदैहुनुहुँदा उहाँले सिमोन र तिनका भाइ अन्द्रियासलाई समुद्रमा जाल हानिरहेका देख्नुभयो। किनकि तिनीहरू जालहारी थिए। 17येशूले तिनीहरूलाई भन्नुभयो, “मेरो पछि लाग, र म तिमीहरूलाई मानिसहरूका जालहारी बनाउनेछु।” 18तिनीहरूले तुरुन्तै आफ्ना जालहरू छोड़े, र उहाँको पछि लागे।
19अनि अलि पर गएपछि उहाँले जब्दियाका दुई छोरा याकूब र यूहन्नालाई डुङ्गामा बसी जाल तुनिरहेका देख्नुभयो। 20उहाँले तुरुन्त तिनीहरूलाई बोलाउनुभयो, र तिनीहरू आफ्ना पिता जब्दियालाई ज्यामीहरूका साथ डुङ्गामा छोड़ेर उहाँको पछि लागे।
अशुद्ध आत्मा भएको मानिस
लूका ४:३१-३७
21तब उहाँहरू कफर्नहुममा जानुभयो, र तुरुन्तै शबाथ-दिनमा#1:21 यहूदीहरूको विश्राम-दिनमा सभाघरमा पसी उहाँले शिक्षा दिन लाग्नुभयो। 22अनि तिनीहरू उहाँका शिक्षामा चकित भए। किनकि उहाँले तिनीहरूलाई शास्त्रीहरूले जस्तो होइन, तर अधिकारसँग सिकाउनुभयो। #मत्ती ७:२८-२९ 23त्यही बेला त्यस सभाघरमा अशुद्ध आत्मा भएको एक जना मान्छे थियो। 24त्यसले यसो भन्दै चिच्च्यायो, “हे नासरतका येशू, हामीलाई तपाईंसँग के सरोकार? के तपाईं हामीलाई सर्वनाश पार्नलाई आउनुभएको हो? म तपाईंलाई चिन्छु, तपाईं परमेश्वरका पवित्र जन हुनुहुन्छ।” #मत्ती 2:23
25तर येशूले त्यसलाई यसो भन्दै हकार्नुभयो, “चूप लाग्, र त्यसबाट निस्किजा।” 26त्यस मान्छेलाई लछारपछार पार्दै त्यो अशुद्ध आत्मा ठूलो स्वरले चिच्च्याएर त्यस मान्छेबाट निस्किगयो।
27तब सबै जनाले अचम्म माने, र तिनीहरू यसो भन्दै आपसमा सोधासोध गर्न लागे, “यो के हो? यो त नयाँ शिक्षा रहेछ। यिनले त अधिकारसँग अशुद्ध आत्माहरूलाई पनि आज्ञा गर्छन्, र तिनीहरूले यिनका आज्ञा मान्दारहेछन्।” 28अनि चाँड़ै नै येशूको कीर्ति गालीलको इलाका वरिपरि चारैतिर फैलियो।
धेरै जना निको भएका
मत्ती ८:१४-१७; लूका ४:३८-४१
29अब उहाँ तुरुन्तै सभाघरबाट निस्केर याकूब र यूहन्नाका साथमा सिमोन र अन्द्रियासको घरमा पस्नुभयो। 30सिमोनकी सासू जरोले थला परेकी थिइन्, र तिनीहरूले झट्टै उहाँलाई तिनको विषयमा भने। 31उहाँले नजिक आएर तिनको हात समाती तिनलाई उठाउनुभयो, र जरोले तिनलाई छोडिहाल्यो। अनि तिनले उहाँहरूको सेवा गरिन्।
32त्यो साँझ घाम डुबेपछि मानिसहरूले उहाँकहाँ बिरामीहरू र भूत लागेकाहरू जम्मैलाई ल्याए। 33सारा सहर नै घरको ढोकामा जम्मा भएको थियो। 34अनेक किसिमका रोगले ग्रस्त भएका धेरै बिरामीहरूलाई उहाँले निको पार्नुभयो, र धेरै भूतहरूलाई निकाल्नुभयो, तर भूतहरूले उहाँलाई चिनेका हुनाले उहाँले तिनीहरूलाई बोल्न दिनुभएन।
एकान्तमा येशूको प्रार्थना
लूका ४:४२-४४
35बिहान उज्यालो हुनभन्दा धेरै अघि उठेर उहाँ बाहिर एकान्त ठाउँमा जानुभयो, र त्यहाँ प्रार्थना गर्नुभयो। 36सिमोन र तिनीसँग हुनेहरू उहाँलाई खोज्दैगए। 37उहाँलाई भेट्टाएपछि तिनीहरूले भने, “सबैले तपाईंलाई खोजिरहेका छन्।”
38तब उहाँले तिनीहरूलाई भन्नुभयो, “आओ, हामीहरू नजिकका अरू सहरहरूमा जाऔं, र त्यहाँ पनि म प्रचार गर्न पाऊँ, किनकि यसैको निम्ति म आएको हुँ।” 39अनि सारा गालीलमा तिनीहरूका सभाघरहरूमा प्रचार गर्दै र भूतहरूलाई निकाल्दै उहाँ हिँड्नुभयो।#मत्ती ४:२३; ९:३५
कुष्ठरोगी निको पारिएको
मत्ती ८:१-४; लूका ५:१२-१६
40अनि एक जना कुष्ठरोगी उहाँकहाँ आएर घुँड़ा टेक्दै यसो भनेर बिन्ती गर्यो, “तपाईंले इच्छा गर्नुभयो भने मलाई निको पार्न सक्नुहुन्छ।”
41तब दयाले भरिएर उहाँले आफ्नो हात पसारी त्यसलाई छुनुभयो, र त्यसलाई भन्नुभयो, “म इच्छा गर्दछु, तिमी निको भइजाऊ।” 42त्यति नै बेला त्यसको कुष्ठरोग त्यसबाट हट्यो, र त्यो निको भइहाल्यो।
43अनि उहाँले त्यसलाई कड़ा आज्ञा दिएर यसो भनी तुरुन्तै पठाउनुभयो, 44“हेर, तिमीले यो कसैलाई नभन्नू, तर गएर तिमी आफैलाई पूजाहारीकहाँ देखाऊ र तिमी निको भएकोमा मानिसहरूका प्रमाणको लागि मोशाको आज्ञाबमोजिम बलि चढ़ाऊ।” #लेवी १४:१-३२ 45तर त्यो निस्केर गयो, अनि यस विषयमा खुल्लमखुल्ला प्रचार गर्न लाग्यो, र येशू फेरि सहरमा खुलस्त प्रवेश गर्न सक्नुभएन, र एकान्त ठाउँहरूमा रहनुभयो। तर मानिसहरू चारैतिरबाट उहाँकहाँ आए।
अहिले सेलेक्ट गरिएको:
मर्कूस 1: NNRV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012