यूहन्ना थुनामा परे भन्ने सुनेर येशू गालीलतिर लाग्नुभयो, र नासरत छोड़ेर कफर्नहुममा गई त्यहाँ वास गर्न लाग्नुभयो। यो सहर जबूलून र नप्तालीका क्षेत्रमा, समुद्रको किनारमा पर्छ। यशैया अगमवक्ताले भनेको वचन यसरी पूरा भयो: “जबूलूनको मुलुक र नप्तालीको मुलुक, यर्दनपार, समुद्रतिर, अन्यजातिहरूको गालील, अन्धकारमा बस्ने मानिसहरूले एउटा ठूलो ज्योति देखेका छन्। मृत्युका छायाको देशमा बस्नेहरूमाथि एउटा ज्योति उदाएको छ।” त्यस बेलादेखि प्रचार गर्दै येशूले भन्न लाग्नुभयो, “पश्चात्ताप गर, किनभने स्वर्गको राज्य नजिक आइपुगेको छ।” गालील-समुद्रको किनारमा हिँड्नुहुँदा उहाँले पत्रुस भन्ने सिमोन र तिनका भाइ अन्द्रियास, दुवै भाइलाई समुद्रमा जाल हानिरहेका देख्नुभयो। तिनीहरू मछुवा थिए। उहाँले तिनीहरूलाई भन्नुभयो, “मेरो पछि लाग, र म तिमीहरूलाई मानिसहरूका मछुवा तुल्याउनेछु।” तब उत्तिखेरै जालहरू छोड़ेर तिनीहरू उहाँको पछि लागे। त्यहाँबाट जाँदाजाँदै उहाँले अर्का दुई भाइ, जब्दियाका छोराहरू याकूब र तिनका भाइ यूहन्नालाई तिनीहरूका बुबा जब्दियासँग डुङ्गामा आफ्ना जाल तुनिरहेका देख्नुभयो, र उहाँले तिनीहरूलाई बोलाउनुभयो। तब उत्तिखेरै डुङ्गा र तिनीहरूका बाबुलाई छोड़ेर तिनीहरू उहाँको पछि लागे। अनि येशू तिनीहरूका सभाघरहरूमा सिकाउँदै, राज्यको सुसमाचार प्रचार गर्दै, र मानिसहरूमा भएका हरेक किसिमका रोग र शारीरिक दुर्बलता निको पार्दै सारा गालीलभरि घुम्नुभयो। उहाँको कीर्ति सिरियाभरि फिँजियो, र बिरामीहरू, अर्थात् विभिन्न प्रकारका रोग र पीडाले सताइएका, भूत लागेका, र छारेरोग लागेका, र पक्षाघात भएकाहरू सबैलाई मानिसहरूले उहाँकहाँ ल्याए। उहाँले तिनीहरूलाई निको पार्नुभयो। अनि गालील, डेकापोलिस, यरूशलेम, यहूदिया र यर्दन पारिदेखिका ठूला भीड़हरू उहाँको पछि लागे।
मत्ती 4 पढ्नुहोस्
सुन्नुहोस् मत्ती 4
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मत्ती 4:12-25
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू