येशूले यी सबै कुरा भनिसक्नुभएपछि आफ्ना चेलाहरूलाई भन्नुभयो, “तिमीहरूलाई थाहा छ, अबको दुई दिनपछि निस्तार-चाड आउँछ, अनि मानिसको पुत्र क्रूसमा टाँगिनलाई पक्राइनेछ।” तब कैयाफा नामक प्रधान पूजाहारीको दरबारमा मुख्य पूजाहारीहरू र जनताका धर्म-गुरुहरू भेला भए। र तिनीहरूले येशूलाई कसरी छलसित पक्रने र मार्ने भनी मतो गरे। तर तिनीहरूले भने, “चाड़को बेलामा होइन। नत्रता मानिसहरूमा खैलाबैला हुनेछ।” येशू बेथानियामा सिमोन कुष्ठरोगीको घरमा हुनुहुँदा, एउटी स्त्री सिङ्गमरमरको एउटा शीशीमा बहुमूल्य अत्तर लिएर उहाँकहाँ आई, र उहाँ खान बस्नुहुँदा तिनले त्यो उहाँको शिरमा खन्याई। यो देखेर चेलाहरूलाई रीस उठ्यो, र तिनीहरूले भने, “केको निम्ति यत्रो नोक्सानी? किनकि यो अत्तर धेरै दाममा बिक्री गरेर त्यो पैसा गरीबहरूलाई दिन सकिन्थ्यो।” तर येशूले यो थाहा पाएर तिनीहरूलाई भन्नुभयो, “तिमीहरू यस नारीलाई किन दुःख दिन्छौ? तिनले त मेरो निम्ति एउटा असल काम गरेकी छिन्। किनकि गरीबहरू तिमीहरूसँग सधैँ हुन्छन्। तर म तिमीहरूसँग सधैँ हुन्नँ। तिनले यो अत्तर मेरो शरीरमा खन्याएर दफनको निम्ति मलाई तयार गरेकी हुन्। साँच्चै, म तिमीहरूलाई भन्दछु, सारा संसारमा जहाँ यो सुसमाचार प्रचार गरिन्छ, यस नारीले जे गरिन् त्यसको चर्चा तिनको सम्झनाको लागि गरिनेछ।” तब बाह्रमध्ये एक जना यहूदा इस्करियोत भन्नेचाहिँ मुख्य पूजाहारीहरूकहाँ गयो, र भन्यो, “यदि मैले उहाँलाई तपाईंहरूका हातमा पक्राइदिएँ भने, मलाई के दिनुहुन्छ?” तिनीहरूले त्यसलाई चाँदीका तीस सिक्का दिए। त्यसै बखतदेखि यहूदाले उहाँलाई पक्राइदिने मौका खोज्न थाल्यो। अब अखमिरी रोटीको चाड़को पहिलो दिन चेलाहरूले येशूकहाँ आएर भने, “तपाईंको निम्ति निस्तार-चाड़को भोज खाने प्रबन्ध हामी कहाँ गरौं?” उहाँले भन्नुभयो, “सहरमा एक जना मानिसकहाँ जाओ, र तिनलाई भन, ‘गुरुज्यू भन्नुहुन्छ, मेरो बेला नजिक आएको छ। म आफ्ना चेलाहरूसँग तिम्रो घरमा निस्तार-चाड मान्नेछु’।” तब येशूको आदेशअनुसार चेलाहरूले गरे र तिनीहरूले निस्तार-चाड़को प्रबन्ध मिलाए।
मत्ती 26 पढ्नुहोस्
सुन्नुहोस् मत्ती 26
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मत्ती 26:1-19
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू