जब येशूले यी सबै कुराहरू बोलिसक्नुभयो, तब उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, “तिमीहरूलाई थाहा भएझैँ निस्तार चाड आउन अब दुई दिन मात्र छ, र मानिसको पुत्रलाई क्रूसमा चढाइनको लागि सुम्पिइनेछ।” तब मुख्य पुजारीहरू र जनताका प्रधानहरू, कैयाफा नाम भएका प्रधान पुजारीको महलमा भेला भए। तिनीहरूले येशूलाई छल गरेर पक्रने र मार्ने षड्यन्त्र गरे। तिनीहरूले भने, “तर चाडको समयमा होइन, नत्रता मानिसहरूमा दङ्गा मच्चिन्छ।” येशू बेथानीमा सिमोन नाम भएका कुष्ठरोगीको घरमा हुनुहुँदा, एउटी स्त्री सिङ्गमरमरको एउटा भाँडोमा अति मूल्यवान् अत्तर लिएर आइन्, र उहाँ खान बस्नुभएको बेला उहाँको शिरमाथि खन्याइन्। जब चेलाहरूले यो देखे, तिनीहरू रिसाए। तिनीहरूले भने, “यसलाई किन खेर फालेको? यो अत्तर धेरै दाममा बेचेर त्यो पैसा गरिबहरूलाई दिन सकिन्थ्यो।” त्यो थाहा पाएर येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू यस स्त्रीलाई किन सताउँछौ? त्यसले मेरो लागि एउटा असल काम गरेकी छिन्। गरिबहरू त सधैँ तिमीहरूसित हुनेछन्, तर तिमीहरूले मलाई त सधैँ पाउनेछैनौ। जबकि यसले यो अत्तर मेरो शरीरमा खन्याएर मलाई गाड्नका निम्ति तयारी गरिन्। म तिमीहरूलाई साँच्चै भन्दछु, संसारभरि जहाँ-जहाँ यो सुसमाचार प्रचार गरिन्छ; यस स्त्रीले जे कुरा गरेकी छिन्, त्यो कुरा पनि उसको सम्झनाका निम्ति बताइनेछ।” त्यसपछि बाह्र जनामध्येको एक जना, जसलाई यहूदा इस्करियोत पनि भनिन्छ, ऊ मुख्य पुजारीहरूकहाँ गयो, र सोध्यो, “यदि मैले येशूलाई तपाईंहरूका हातमा सुम्पिदिएँ भने तपाईंहरूले मलाई के दिनुहुन्छ?” तब तिनीहरूले उसको लागि तीस वटा चाँदीका सिक्काहरू दिए। त्यस बेलादेखि यहूदाले उहाँलाई पक्राइदिनलाई मौका खोज्न लाग्यो। अखमिरी रोटीको चाडको पहिलो दिन चेलाहरू येशूकहाँ आएर सोधे, “हामी कहाँ गएर तपाईंका निम्ति निस्तार चाडको भोज तयार पारौँ भन्ने तपाईं चाहनुहुन्छ?” उहाँले जवाफ दिनुभयो, “सहरमा कुनै मानिसकहाँ जाओ र उनलाई भन, ‘गुरुले यसो भन्नुभएको छ: मेरो तोकिएको समय नजिकै छ। म मेरा चेलाहरूसित तिम्रो घरमा निस्तार चाड मान्नेछु।’ ” चेलाहरूले येशूले तिनीहरूलाई आज्ञा गर्नुभएबमोजिम गरे; र निस्तार चाडको भोज तयार गरे।
मत्ती 26 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मत्ती 26:1-19
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू