YouVersion लोगो
खोज आइकन

मत्ती 21:18-27

मत्ती 21:18-27 NNRV

बिहान सहरतिर फर्कनुहुँदा उहाँ भोकाउनुभयो। बाटोको किनारमा उहाँले एउटा अञ्‍जीरको बोट देख्‍नुभयो। उहाँ त्‍यस बोटको छेउमा आउनुभयो, तर त्‍यसमा पातबाहेक अरू केही पाउनुभएन। तब उहाँले त्‍यसलाई भन्‍नुभयो, “अब उप्रान्‍त तँमा कहिल्‍यै फल नफलोस्‌” र त्‍यो अञ्‍जीरको रूख तुरुन्‍तै ओइलाइहाल्‍यो। यो देखेर चेलाहरूले अचम्‍म मानेर भने, “यो अञ्‍जीरको बोट कसरी तुरुन्‍तै ओइलाइहाल्‍यो?” येशूले जवाफ दिएर तिनीहरूलाई भन्‍नुभयो, “साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, तिमीहरूमा विश्‍वास छ र कहिल्‍यै शङ्का गरेनौ भने, अञ्‍जीरको बोटलाई जे गरियो त्‍यति मात्र होइन, तर यस डाँड़ालाई पनि ‘उखेलिएर समुद्रमा खस’ भन्‍यौ भने सो हुनेछ। विश्‍वास गरेर प्रार्थनामा जे माग्‍छौ त्‍यो तिमीहरूले पाउनेछौ।” उहाँ मन्‍दिरमा प्रवेश गर्नुभयो, अनि उहाँले शिक्षा दिनुहुँदा मुख्‍य पूजाहारीहरू र जनताका धर्म-गुरुहरू उहाँकहाँ आए, र भने, “कुन अधिकारले तिमी यी कामहरू गर्छौ, र कसले तिमीलाई यो अधिकार दियो?” येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “म पनि तिमीहरूलाई एउटा प्रश्‍न सोध्‍छु। मलाई त्‍यसको उत्तर दियौ भने, म कुन अधिकारले यी काम गर्दछु, सो तिमीहरूलाई बताउनेछु। यूहन्‍नाको बप्‍तिस्‍मा कहाँबाट भयो? स्‍वर्गबाट कि मानिसहरूबाट?” तिनीहरू आपसमा यसो भन्‍दै बहस गर्न लागे, “स्‍वर्गबाट भनौं भने, तिनले ‘उसो भए तिमीहरूले उनलाई किन विश्‍वास गरेनौ?’ भन्‍नेछन्‌। तर मानिसहरूबाट भनौं भने, हामीलाई मानिसहरूको डर छ। किनभने सबैले यूहन्‍नालाई अगमवक्ता हुन्‌ भनी मान्‍छन्‌।” यसकारण तिनीहरूले येशूलाई जवाफ दिए, “हामीलाई थाहा छैन।” उहाँले तिनीहरूलाई भन्‍नुभयो, “म पनि कुन अधिकारले यी काम गर्दछु, सो तिमीहरूलाई भन्‍दिनँ।”