मत्ती 21:18-27
मत्ती 21:18-27 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
बिहान सहरतिर फर्कनुहुँदा उहाँ भोकाउनुभयो। बाटोको किनारमा उहाँले एउटा अञ्जीरको बोट देख्नुभयो। उहाँ त्यस बोटको छेउमा आउनुभयो, तर त्यसमा पातबाहेक अरू केही पाउनुभएन। तब उहाँले त्यसलाई भन्नुभयो, “अब उप्रान्त तँमा कहिल्यै फल नफलोस्” र त्यो अञ्जीरको रूख तुरुन्तै ओइलाइहाल्यो। यो देखेर चेलाहरूले अचम्म मानेर भने, “यो अञ्जीरको बोट कसरी तुरुन्तै ओइलाइहाल्यो?” येशूले जवाफ दिएर तिनीहरूलाई भन्नुभयो, “साँच्चै, म तिमीहरूलाई भन्दछु, तिमीहरूमा विश्वास छ र कहिल्यै शङ्का गरेनौ भने, अञ्जीरको बोटलाई जे गरियो त्यति मात्र होइन, तर यस डाँड़ालाई पनि ‘उखेलिएर समुद्रमा खस’ भन्यौ भने सो हुनेछ। विश्वास गरेर प्रार्थनामा जे माग्छौ त्यो तिमीहरूले पाउनेछौ।” उहाँ मन्दिरमा प्रवेश गर्नुभयो, अनि उहाँले शिक्षा दिनुहुँदा मुख्य पूजाहारीहरू र जनताका धर्म-गुरुहरू उहाँकहाँ आए, र भने, “कुन अधिकारले तिमी यी कामहरू गर्छौ, र कसले तिमीलाई यो अधिकार दियो?” येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “म पनि तिमीहरूलाई एउटा प्रश्न सोध्छु। मलाई त्यसको उत्तर दियौ भने, म कुन अधिकारले यी काम गर्दछु, सो तिमीहरूलाई बताउनेछु। यूहन्नाको बप्तिस्मा कहाँबाट भयो? स्वर्गबाट कि मानिसहरूबाट?” तिनीहरू आपसमा यसो भन्दै बहस गर्न लागे, “स्वर्गबाट भनौं भने, तिनले ‘उसो भए तिमीहरूले उनलाई किन विश्वास गरेनौ?’ भन्नेछन्। तर मानिसहरूबाट भनौं भने, हामीलाई मानिसहरूको डर छ। किनभने सबैले यूहन्नालाई अगमवक्ता हुन् भनी मान्छन्।” यसकारण तिनीहरूले येशूलाई जवाफ दिए, “हामीलाई थाहा छैन।” उहाँले तिनीहरूलाई भन्नुभयो, “म पनि कुन अधिकारले यी काम गर्दछु, सो तिमीहरूलाई भन्दिनँ।”
मत्ती 21:18-27 नेपाली समकालीन संस्करण (NCV)
एकाबिहानै, उहाँ जब शहरतिर फर्कँदै हुनुहुन्थ्यो, उहाँ भोकाउनुभयो। बाटोको किनारमा एउटा अञ्जीरको रूख देखेर उहाँ त्यहाँ आउनुभयो, अनि त्यसमा पातहरूबाहेक केही पाउनुभएन। तब उहाँले त्यसलाई भन्नुभयो, “अब उप्रान्त तँमा फल नफलोस्!” अनि त्यो रूख तुरुन्तै ओइलायो। जब चेलाहरूले यो देखे, तिनीहरू छक्क परेर सोधे, “यो अञ्जीरको रूख कसरी यति चाँडो ओइलाइहाल्यो?” येशूले जवाफ दिनुभयो, “म तिमीहरूलाई साँच्चै भन्दछु, यदि तिमीहरूमा विश्वास छ र शङ्का गरेनौ भने यस अञ्जीरको रूखलाई जे गरिएको थियो, तिमीहरूले त्यो मात्र होइन, तर तिमीहरूले यस पहाडलाई ‘जा, गएर आफूलाई समुद्रमा फ्याँक’ भन्यौ भने, त्यो भइहाल्नेछ। तिमीहरूले विश्वास गर्यौ भने, तिमीहरूले प्रार्थनामा जे मागे पनि पाउनेछौ।” येशू मन्दिरका चोकहरूमा आउनुभयो, अनि, उहाँले शिक्षा दिँदैगर्दा मुख्य पूजाहारीहरू अनि जनताका प्रधानहरू उहाँकहाँ आए। तिनीहरूले सोधे, “तिमीले कुन अधिकारले यी कुराहरू गरिरहेका छौ? अनि तिमीलाई यो अधिकार कसले दियो?” येशूले जवाफ दिनुभयो, “म पनि तिमीहरूलाई एउटा प्रश्न सोध्छु। यदि तिमीहरूले जवाफ दियौ भने, म तिमीहरूलाई मैले कुन अधिकारले यी कामहरू गर्दैछु भनी भन्नेछु। यूहन्नाको बप्तिस्मा कहाँबाट आएको हो? स्वर्गबाट हो कि मानिसहरूबाट?” तिनीहरूले आपसमा छलफल गरे अनि भने, “यदि हामीले ‘स्वर्गबाट,’ भन्यौं भने उनले ‘त्यसो भए तिमीहरूले किन तिनलाई विश्वास गरेनौ’ भनी भन्नेछन्। तर यदि हामीले ‘मानिसबाट’ हो भन्यौं भने हामीलाई मानिसहरूको डर लाग्छ, किनकि तिनीहरू सबैले यूहन्नालाई अगमवक्ता भनी मान्छन्।” त्यसकारण तिनीहरूले येशूलाई जवाफ दिए, “हामी जान्दैनौं।” तब उहाँले भन्नुभयो, “म पनि कुन अधिकारले यी कामहरू गर्दैछु त्यो भन्दिनँ।
मत्ती 21:18-27 पवित्र बाइबल (NERV)
भोलिपल्ट बिहानै, येशू नगरतिर फर्किरहनु भएको थियो। उहाँ भोकाउनु भएको थियो। उहाँले बाटोको किनारमा त्यस नेभाराको रूख देख्नु भयो। येशूले नेभाराको रूखको छेउमा गएर उहाँले केही फल खाने इच्छा गर्नुभयो। तर त्यो नेभाराको रूखमा त्यसमा खाने फल केही थिएन। त्यहाँ पातैपात मात्र थिए। अनि येशूले त्यो रूखलाई भन्नुभयो, “अब उप्रान्त तँमा फल लाग्ने छैन।” अचानक त्यो रूख ओइलायो र मर्यो। चेलाहरूले त्यो देखे। तिनीहरू चकित भए। तिनीहरूले सोधो, “कसरी नेभारको रूख सुक्यो र झट्टै मरिहाल्यो?” येशूले भन्नुभयो, “म तिमीहरूलाई साँच्चो भन्दछु। यदि तिमीहरूमा विश्वास छ र त्यसमा शंका छैन भने, मैले जस्तै तिमीहरूले पनि गर्न सक्नेछौ। तिमीहरूले त्यो भन्दा धेरै गर्न सक्नेछौ। तिमीले यस पहाडलाई भन्न सक्छौ, ‘ए पहाड जा अनि समुद्रमा खस।’ यदि तिमीहरूमा विश्वास भए, तिमीहरूले भने जस्तै हुनेछ। विश्वास गरेर माग्यौ भने तिमीहरूले प्रार्थनमा मागेको जुनसुकै कुरा पनि पाउनेछौ।” येशू मन्दिरतर्फ जानुभयो। र उहाँले सिकाइरहनु भएको बेला, मुख्य पुजारीहरू र जन-साधारणका अगुवाहरू येशूकहाँ आए। तिनीहरूले येशूलाई भने, “हामीलाई भन्नुहोस्। यी कार्यहरू गर्न तपाईंको के अधिकार छ? यस्तो अधिकार तपाईंलाई कसले दियो?” येशूले जवाफ दिनुभयो, “म पनि तिमीहरूलाई एउटा प्रश्न सोध्न चाहन्छु। यदि तिमीहरूले मलाई जवाफ दियौ भने, म कुन अधिकारले यी कामहरू गरीरहेछु भनी बताउनेछु। मलाई भन: यूहन्नाको बप्तिस्मा परमेश्वरबाट वा मानिस कसबाट भयो?” मुख्य पूजारीहरू र यहूदी नेताहरूले येशूको यो प्रश्न बारे बहस गरे। तिनीहरू आपसमा बात चीत गर्न थाले, “यदि हामीले यूहन्नाको बप्तिस्मा परमेश्वरबाटै भएको थियो, भन्यौ भने उहाँले भन्नु हुनेछ ‘त्यसो भए तिमीहरूले यूहन्नालाई किन विश्वास नगरेको?’ यदि हामीहरूले ‘यो बप्तिस्मा मानिसबाटै भएको थियो,’ भन्यौ भने सबै मानिसहरू हामीहरूसँग रिसाउने छन्। हामी मानिसहरूबाट सावधान हुनुपर्छ किनभने तिनीहरू सबै यूहन्नालाई अगमवक्ता हो भनेर विश्वास गर्छन्।” त्यसपछि तिनीहरूले येशूलाई जवाफ दिए, “यूहन्नालाई कहाँबाट त्यो अधिकार दिइयो हामी जान्दैनौ।” तब येशूले भन्नुभयो, “त्यसो भए म पनि भन्ने छैन कि कुन अधिकारले म यी सब कार्यहरू गरिरहेछु।
मत्ती 21:18-27 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
भोलिपल्ट बिहान सबेरै सहरतिर फर्कंदा येशूलाई भोक लाग्यो। बाटोको छेउमा नेभाराको रूख देखेर फल छ कि भनेर उहाँ त्यस रूखको नजिक जानुभयो, तर त्यसमा पातबाहेक केही थिएन। उहाँले त्यस रूखलाई भन्नुभयो, “अबदेखि तँमा कहिल्यै पनि फल नफलोस्।” त्यो नेभाराको रूख त त्यतिखेरै सुकिहाल्यो। यो देखेर चेलाहरूले छक्क परेर सोधे, “यति चाँडै यो रूख कसरी सुक्यो?” येशूले जवाफ दिनुभयो, “साँच्चै म तिमीहरूलाई भन्छु, तिमीहरूले कति पनि शङ्का नगरी विश्वास गर्यौ भने नेभाराको रूखलाई मैले गरेजस्तै गर्न सक्छौ र त्यति मात्र होइन, तिमीहरूले यस पहाडलाई ‘यहाँबाट हटी समुद्रमा खस्’ भन्यौ भने पनि त्यस्तै हुनेछ। यदि विश्वास गर्यौ भने प्रार्थनामा जे मागे पनि तिमीहरूले त्यो पाउनेछौ।” येशूले मन्दिरमा शिक्षा दिँदै हुनुहुन्थ्यो। त्यस बेला मुख्य पूजाहारी र अरू अगुवाहरूले उहाँकहाँ आएर उहाँलाई सोधे, “तपाईंले कहाँबाट अधिकार पाएर यी काम गर्दै हुनुहुन्छ? यो अधिकार तपाईंलाई कसले दियो?” येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “म पनि तिमीहरूलाई एउटा कुरा सोध्छु, मलाई जवाफ दियौ भने मैले कहाँबाट अधिकार पाएर यी काम गर्दै छु, त्यो तिमीहरूलाई भन्नेछु। लौ भन, यूहन्नाले बप्तिस्मा दिने अधिकार कहाँबाट पाए, परमेश्वरबाट कि मानिसबाट?” यो सुनेर तिनीहरू आपसमा यसरी कुरा गर्न लागे, “अब हामीहरूले के जवाफ दिऔं? परमेश्वरबाट भनौं भने ‘तिमीहरूले यूहन्नालाई किन विश्वास गरेनौ त?’ भनेर उनले सोधिहाल्नेछन्। यदि मानिसबाट भनौं भने हामीहरूलाई मानिसहरूले मार्ने डर हुन्छ किनभने सबैले यूहन्नालाई अगमवक्ता हुन् भनेर मान्छन्।” यसकारण तिनीहरूले येशूलाई भने, “खै, हामीलाई त थाहा छैन।” तब येशूले भन्नुभयो, “त्यसो भए मैले कहाँबाट अधिकार पाएर यी सबै काम गर्दै छु, म पनि तिमीहरूलाई भन्दिनँ।”