चेलाहरू पारिपट्टि आइपुग्दा तिनीहरूले रोटी ल्याउन बिर्सेछन्। येशूले तिनीहरूलाई भन्नुभयो, “ध्यान देओ, फरिसी र सदुकीहरूको खमिरबाट होशियार रहो।” तिनीहरूले आपसमा बहस गर्न लागे, “हामीहरूले रोटी ल्याएनौं, र उहाँले यसो भन्नुभएको होला।” येशूले यो थाहा पाएर भन्नुभयो, “ए अल्पविश्वासी हो! तिमीहरूसित रोटी छैन भनेर किन आपसमा बहस गर्छौ? के तिमीहरू अझै बुझ्दैनौ? पाँच हजारका निम्ति पाँच रोटीको कुरा तिमीहरूलाई अझ याद छैन? तिमीहरूले कति डाला बटुलेका थियौ? अनि चार हजारका निम्ति सात रोटी, र कति डाला तिमीहरूले बटुलेका थियौ? मैले तिमीहरूलाई रोटीको विषयमा भनेको होइनँ भनी तिमीहरू किन बुझ्दैनौ? तर फरिसी र सदुकीहरूको खमिरबाट होशियार रहो।” तब तिनीहरूले बुझे, कि उहाँले रोटीको खमिरबाट होइन तर फरिसी र सदुकीहरूको शिक्षाबाट होशियार रहनू भन्नुभएको रहेछ। येशू कैसरिया फिलिप्पीको मुलुकमा आउनुभएपछि, उहाँले आफ्ना चेलाहरूलाई सोध्नुभयो, “मानिसहरूले मानिसको पुत्रलाई को हो भनी भन्छन्?” तिनीहरूले जवाफ दिए, “कसैले बप्तिस्मा-दिने यूहन्ना, कसैले एलिया, र कसैले यर्मिया वा अगमवक्ताहरूमध्ये कुनै एक जना हुन् भनी भन्छन्।” उहाँले तिनीहरूलाई सोध्नुभयो, “तिमीहरू के भन्छौ, म को हुँ?” सिमोन पत्रुसले जवाफ दिए, “तपाईं ख्रीष्ट हुनुहुन्छ, जीवित परमेश्वरको पुत्र।” येशूले तिनलाई भन्नुभयो, “योनाको छोरो सिमोन, तिमी धन्य हौ। किनभने मानिसबाट तिमीलाई यो प्रकट भएको होइन, तर स्वर्गमा हुनुहुने मेरा पिताले प्रकट गर्नुभएको हो। म तिमीलाई भन्दछु, कि तिमी पत्रुस हौ। म मेरो मण्डली यस चट्टानमाथि स्थापित गर्नेछु, र नरकका ढोकाहरू त्यसमाथि विजयी हुनेछैनन्। म तिमीलाई स्वर्गको राज्यका साँचाहरू दिनेछु। जे तिमीले पृथ्वीमा बाँध्नेछौ, सो स्वर्गमा बाँधिनेछ, र जे तिमीले पृथ्वीमा फुकाऔला, सो स्वर्गमा फुकाइनेछ।”
मत्ती 16 पढ्नुहोस्
सुन्नुहोस् मत्ती 16
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मत्ती 16:5-19
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू