शबाथ-दिनमा उहाँ अन्नको खेतबाट भएर जाँदैहुनुहुन्थ्यो, र उहाँका चेलाहरूले बाली टिपेर हातमा माड्दै खान लागे। तर फरिसीहरूमध्ये कुनै-कुनैले तिनीहरूलाई भने, “शबाथ-दिनमा जे गर्नु उचित छैन त्यो तिमीहरू किन गर्दछौ?”
येशूले तिनीहरूलाई जवाफ दिएर भन्नुभयो, “के तिमीहरूले यो पनि पढ़ेका छैनौ, दाऊदले जब तिनी आफै र तिनको साथमा हुनेहरू भोकाएका थिए, तब के गरे? कसरी परमेश्वरको घरमा पसेर अर्पण गरिएको रोटी झिकेर तिनले खाए, र तिनीसँग हुनेहरूलाई पनि दिए, जो पूजाहारीहरूलाई बाहेक अरूलाई खान निषेध थियो।” अनि उहाँले तिनीहरूलाई भन्नुभयो, “मानिसको पुत्र शबाथको प्रभु हो।”
अर्को शबाथमा सभाघरभित्र पसेर उहाँले शिक्षा दिनुभयो। त्यहाँ एक जना मानिस थियो जसको दाहिने हात सुकेको थियो। उहाँले शबाथमा निको पार्ने काम गरेको खण्डमा उहाँलाई दोष लगाउने नियतले शास्त्री र फरिसीहरू उहाँको चेवामा थिए। तर उहाँले तिनीहरूको नियत थाहा पाउनुभयो, र सुकेको हात भएको मानिसलाई भन्नुभयो, “यहाँ आऊ र खड़ा होऊ।” अनि त्यो उठ्यो, र खड़ा भयो।
तब येशूले तिनीहरूलाई भन्नुभयो, “म तिमीहरूलाई सोध्छु, शबाथमा असल गर्नु वा खराब गर्नु, प्राण बचाउनु वा नाश गर्नु, कुनचाहिँ उचित हो?”
अनि उहाँले सबैलाई चारैतिर हेरेर त्यस मानिसलाई भन्नुभयो, “तिम्रो हात पसार।” त्यसले त्यसै गर्यो, र त्यसको हात सद्दे भइहाल्यो। तर तिनीहरू रीसले चूर भए, र येशूलाई के गरौं भनी आपसमा मतो गर्न लागे।
ती दिनमा उहाँ पहाड़तिर प्रार्थना गर्न जानुभयो, र परमेश्वरसँग प्रार्थना गर्दै पूरै रात बिताउनुभयो। बिहान भएपछि उहाँले आफ्ना चेलाहरूलाई आफूकहाँ बोलाएर तिनीहरूमध्ये बाह्र जनालाई छान्नुभयो, र उहाँले तिनीहरूलाई प्रेरित भन्ने नाउँ दिनुभयो: सिमोन, जसलाई उहाँले पत्रुस नाउँ पनि दिनुभयो, र तिनका भाइ अन्द्रियास, याकूब र यूहन्ना, फिलिप र बारथोलोमाइ, मत्ती र थोमा, अल्फयसका छोरा याकूब, र सिमोन, जो उग्रपन्थी भनिन्थे, याकूबका छोरा यहूदा, र यहूदा इस्करियोत, जो विश्वासघाती भए।
उहाँ तिनीहरूसँग तल ओर्लेर एउटा समतल जग्गामा खड़ा हुनुभयो। उहाँका शिष्यहरूको एउटा ठूलो भीड, र समस्त यहूदिया र यरूशलेम, र समुद्र तटवर्ती टुरोस र सीदोनका इलाकाबाट ठूलो भीड उहाँका वचन सुन्नलाई र आ-आफ्ना रोगबाट निको हुनलाई आएका थिए। अशुद्ध आत्माहरूबाट पीडितहरू पनि निको भए। सारा भीड़ले उहाँलाई छुन खोज्दथियो, किनकि शक्ति उहाँबाट निस्किरहेको थियो, र तिनीहरू सबैलाई निको पार्दथियो।
तब उहाँले आफ्ना चेलाहरूमाथि नजर उचालेर भन्नुभयो:
“धन्य तिमी, दीन हुनेहरू,
किनभने परमेश्वरको राज्य तिमीहरूकै हो।
धन्य तिमी, अहिले भोकाउनेहरू,
किनभने तिमीहरू तृप्त हुनेछौ।
धन्य तिमी, अहिले रुनेहरू,
किनभने तिमीहरू हाँस्नेछौ।
धन्य तिमीहरू, जब मानिसहरूले तिमीहरूलाई मानिसको पुत्रको खातिर घृणा गर्नेछन्, र बहिष्कार गर्नेछन्, र गिल्ला गर्नेछन्, र दुष्ट ठानी तिमीहरूका नाउँलाई अपमान गर्नेछन्।
“त्यस दिन रमाओ, र खुसीले उफ्र, किनभने स्वर्गमा तिमीहरूको इनाम ठूलो हुनेछ। किनकि तिनीहरूका पुर्खाहरूले अगमवक्ताहरूलाई त्यसै गरेथे।
“तर धिक्कार, तिमी धनीहरू!
किनभने तिमीहरूले आफ्नो सुख-चैन पाइसकेका छौ।
धिक्कार, तिमी अहिले तृप्त भएकाहरू!
किनभने तिमीहरू भोकाउनेछौ।
धिक्कार, तिमी अहिले हाँस्नेहरू!
किनभने तिमीहरू शोक गर्नेछौ र रुनेछौ।
धिक्कार, तिमीलाई, जब सबै मानिसहरूले तिमीहरूको प्रशंसा गर्नेछन्!
किनकि यसरी नै तिनीहरूका पुर्खाहरूले झूटा अगमवक्ताहरूलाई गरेथे।