एक दिन उहाँ शिक्षा दिइरहनुहुँदा गालील र यहूदियाको हरेक गाउँ र यरूशलेमबाट आएका फरिसीहरू र शास्त्रीहरू नजिकै बसिरहेका थिए। परमप्रभुको निको पार्ने शक्ति उहाँसँग थियो। मानिसहरूले एउटा पक्षाघाती मानिसलाई खाटमा ल्याए, र तिनीहरूले त्यसलाई भित्र ल्याउन र उहाँको अगाडि राखिदिन खोजे। तर भीड़ले गर्दा त्यसलाई भित्र लैजाने केही बाटो नपाएर तिनीहरू छतमाथि चढ़े, र तिनीहरूले झिँगटी हटाएर त्यसलाई खाटैसमेत येशूको सामुन्ने ओरालिदिए। अनि उहाँले तिनीहरूको विश्वास देखेर भन्नुभयो, “ए मानिस, तिम्रा पाप क्षमा भयो।” तब शास्त्रीहरू र फरिसीहरूले प्रश्न गर्न लागे, “ईश्वर-निन्दा गर्ने यो को हो? पाप त परमेश्वरले मात्र क्षमा गर्न सक्नुहुन्छ।” तर येशूले तिनीहरूको प्रश्न थाहा पाएर तिनीहरूलाई जवाफ दिएर भन्नुभयो, “तिमीहरू आफ्ना हृदयमा किन प्रश्न गर्दछौ? ‘तिम्रा पाप क्षमा भयो’ भन्नु कि ‘उठेर हिँड़’ भन्नु, कुनचाहिँ सजिलो छ? तर मानिसको पुत्रलाई पृथ्वीमा पाप क्षमा गर्ने अधिकार छ भन्ने तिमीहरू जान। त्यसपछि उहाँले त्यस पक्षाघातीलाई भन्नुभयो, “म तिमीलाई भन्दछु, उठ र आफ्नो खाट उठाएर घर जाऊ।” अनि त्यो तुरुन्तै तिनीहरूकै सामुन्ने उठ्यो, र जुन खाटमा त्यो पड़िरहेको थियो सो उठाएर परमेश्वरको महिमा गर्दै त्यो आफ्नो घरतिर लाग्यो। तब सबै जना आश्चर्यमा परे, र तिनीहरूले परमेश्वरको महिमा गरे, र भयभीत भएर यसो भने, “आज हामीले अनौठा कुरा देख्यौं।” अनि यी कुरापछि उहाँ बाहिर जानुभयो, र लेवी नाउँ भएका एक जना कर उठाउनेलाई कर-अड्डामा बसिरहेका देख्नुभयो, र तिनलाई भन्नुभयो, “मेरो पछि लाग।” तब तिनले सबै थोक छोड़े, र उठेर उहाँको पछि लागे। लेवीले आफ्नो घरमा उहाँको निम्ति ठूलो भोजको आयोजन गरे। त्यहाँ कर उठाउनेहरू र अरूहरू ठूलो संख्यामा उहाँहरूसँग भोजमा बसेका थिए। फरिसीहरू र तिनीहरूका शास्त्रीहरू उहाँका चेलाहरूका विरुद्धमा यसो भनेर गनगनाउन लागे, “तिमीहरू कर उठाउनेहरू र पापीहरूसँग किन खानपान गर्दछौ?” तर येशूले तिनीहरूलाई भन्नुभयो, “निरोगीलाई वैद्यको खाँचो पर्दैन, तर रोगीलाई मात्र। म धर्मीहरूलाई होइन, तर पापीहरूलाई पश्चात्तापको निम्ति बोलाउन आएको हुँ।”
लूका 5 पढ्नुहोस्
सुन्नुहोस् लूका 5
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: लूका 5:17-32
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू