YouVersion लोगो
खोज आइकन

लूका 24:13-32

लूका 24:13-32 NNRV

त्‍यही दिन उहाँका चेलाहरूमध्‍ये दुई जना यरूशलेमबाट प्राय: एघार किलोमिटर टाढ़ाको इम्‍माउस नाउँको एउटा गाउँतिर गइरहेका थिए। घटेका सबै घटनाहरूबारे तिनीहरू आपसमा बातचीत गर्दैथिए। तिनीहरू आपसमा बातचीत गर्दै र बहस गरिरहेको बेला येशू आफै नजिक आएर तिनीहरूका साथ लाग्‍नुभयो, तर तिनीहरूका आँखा उहाँलाई चिन्‍न नसक्‍ने तुल्‍याइएका थिए। उहाँले तिनीहरूलाई सोध्‍नुभयो, “तिमीहरू हिँड्‌दै आपसमा के बहस गरिरहेका छौ?” तिनीहरू उदास भएर टक्‍क अड़िए। ती दुईमध्‍ये क्‍लेओपासले उहाँलाई जवाफ दिए, “यरूशलेम घुमफिर गरी आउने भएर पनि हिजोआज त्‍यहाँ के घटिरहेछ तपाईंलाई थाहा छैन?” उहाँले तिनीहरूलाई सोध्‍नुभयो, “कुन कुरा?” तिनीहरूले जवाफ दिए, “येशू नासरीको बारेमा, उहाँ एक जना अगमवक्ता हुनुहुन्‍थ्‍यो, र परमेश्‍वर र सबै मानिसहरूका सामुन्‍ने काम र वचनमा शक्तिशाली हुनुहुन्‍थ्‍यो। तर मुख्‍य पूजाहारीहरू र हाम्रा शासकहरूले उहाँलाई मृत्‍युदण्‍डको निम्‍ति सुम्‍पिदिए, र उहाँलाई क्रूसमा टाँगे। इस्राएलको उद्धार गर्ने उहाँ नै हुनुहुन्‍छ भन्‍ने हामीले चाहिँ आशा गरेका थियौं। यी सब कुरा छोड़ेर, यो घटना घटेको आज तेस्रो दिन हो। यसबाहेक हामी मध्येका कोही-कोही स्‍त्रीहरूले हामीलाई चकित बनाएका छन्‌। तिनीहरू आज बिहान सखारै चिहानमा गए, र येशूको शरीर भेट्टाएनन्‌। तिनीहरूले आएर हामीहरूलाई सुनाए, ‘हामीले स्‍वर्गदूतहरूलाई देख्‍यौं, जसले येशू जीवित हुनुहुन्‍छ भने।’ हामीहरूमध्‍येका कोही-कोही चिहानमा गए, र ती स्‍त्रीहरूले जे भनेका थिए, त्‍यस्‍तै भेट्टाए, तर उहाँलाई चाहिँ देखेनन्‌।” उहाँले तिनीहरूलाई भन्‍नुभयो, “ए अबूझ मानिस हो, तिमीहरूका हृदय यति सुस्‍त भएको छ, कि अगमवक्ताहरूले भनेका कुराहरू विश्‍वास गर्दैनौ! के ख्रीष्‍टले यी कष्‍टहरू भोग्‍नु र आफ्‍नो महिमामा प्रवेश गर्नु आवश्‍यक थिएन र?” तब मोशा र सबै अगमवक्ताहरूबाट सुरु गरेर उहाँले धर्मशास्‍त्रमा आफ्‍नो विषयमा लेखिएका कुराहरूको अर्थ तिनीहरूलाई खोलिदिनुभयो। तिनीहरू जुन गाउँमा गइरहेका थिए त्‍यसको नजिकै पुगे। उहाँ अझै पर जान चाहने जस्‍तो गर्नुभयो। तर तिनीहरूले उहाँलाई यसो भनेर कर लाए, “हामीसँगै बस्‍नुहोस्, किनकि साँझ पर्न लाग्‍यो, र दिन धेरै ढल्‍किसकेको छ।” अनि उहाँ तिनीहरूसँग बस्‍नलाई घरभित्र पस्‍नुभयो। जब येशू तिनीहरूसँग खान बस्‍नुभयो उहाँले रोटी लिएर आशीर्वाद दिनुभयो, र भाँचेर तिनीहरूलाई दिन लाग्‍नुभयो। तब तिनीहरूका आँखा खुले, र तिनीहरूले उहाँलाई चिने। अनि उहाँचाहिँ तिनीहरूका दृष्‍टिबाट अल्‍पिनुभयो। तिनीहरूले आपसमा भने, “उहाँ हामीसँग बाटोमा बातचीत गर्नुहुँदा, र हामीलाई धर्मशास्‍त्रको अर्थ खोलिदिनुहुँदा के हाम्रो हृदय प्रज्‍वलित भएको थिएन र?”

लूका 24:13-32 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति