YouVersion लोगो
खोज आइकन

लूका 24:13-32

लूका 24:13-32 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

त्‍यही दिन उहाँका चेलाहरूमध्‍ये दुई जना यरूशलेमबाट प्राय: एघार किलोमिटर टाढ़ाको इम्‍माउस नाउँको एउटा गाउँतिर गइरहेका थिए। घटेका सबै घटनाहरूबारे तिनीहरू आपसमा बातचीत गर्दैथिए। तिनीहरू आपसमा बातचीत गर्दै र बहस गरिरहेको बेला येशू आफै नजिक आएर तिनीहरूका साथ लाग्‍नुभयो, तर तिनीहरूका आँखा उहाँलाई चिन्‍न नसक्‍ने तुल्‍याइएका थिए। उहाँले तिनीहरूलाई सोध्‍नुभयो, “तिमीहरू हिँड्‌दै आपसमा के बहस गरिरहेका छौ?” तिनीहरू उदास भएर टक्‍क अड़िए। ती दुईमध्‍ये क्‍लेओपासले उहाँलाई जवाफ दिए, “यरूशलेम घुमफिर गरी आउने भएर पनि हिजोआज त्‍यहाँ के घटिरहेछ तपाईंलाई थाहा छैन?” उहाँले तिनीहरूलाई सोध्‍नुभयो, “कुन कुरा?” तिनीहरूले जवाफ दिए, “येशू नासरीको बारेमा, उहाँ एक जना अगमवक्ता हुनुहुन्‍थ्‍यो, र परमेश्‍वर र सबै मानिसहरूका सामुन्‍ने काम र वचनमा शक्तिशाली हुनुहुन्‍थ्‍यो। तर मुख्‍य पूजाहारीहरू र हाम्रा शासकहरूले उहाँलाई मृत्‍युदण्‍डको निम्‍ति सुम्‍पिदिए, र उहाँलाई क्रूसमा टाँगे। इस्राएलको उद्धार गर्ने उहाँ नै हुनुहुन्‍छ भन्‍ने हामीले चाहिँ आशा गरेका थियौं। यी सब कुरा छोड़ेर, यो घटना घटेको आज तेस्रो दिन हो। यसबाहेक हामी मध्येका कोही-कोही स्‍त्रीहरूले हामीलाई चकित बनाएका छन्‌। तिनीहरू आज बिहान सखारै चिहानमा गए, र येशूको शरीर भेट्टाएनन्‌। तिनीहरूले आएर हामीहरूलाई सुनाए, ‘हामीले स्‍वर्गदूतहरूलाई देख्‍यौं, जसले येशू जीवित हुनुहुन्‍छ भने।’ हामीहरूमध्‍येका कोही-कोही चिहानमा गए, र ती स्‍त्रीहरूले जे भनेका थिए, त्‍यस्‍तै भेट्टाए, तर उहाँलाई चाहिँ देखेनन्‌।” उहाँले तिनीहरूलाई भन्‍नुभयो, “ए अबूझ मानिस हो, तिमीहरूका हृदय यति सुस्‍त भएको छ, कि अगमवक्ताहरूले भनेका कुराहरू विश्‍वास गर्दैनौ! के ख्रीष्‍टले यी कष्‍टहरू भोग्‍नु र आफ्‍नो महिमामा प्रवेश गर्नु आवश्‍यक थिएन र?” तब मोशा र सबै अगमवक्ताहरूबाट सुरु गरेर उहाँले धर्मशास्‍त्रमा आफ्‍नो विषयमा लेखिएका कुराहरूको अर्थ तिनीहरूलाई खोलिदिनुभयो। तिनीहरू जुन गाउँमा गइरहेका थिए त्‍यसको नजिकै पुगे। उहाँ अझै पर जान चाहने जस्‍तो गर्नुभयो। तर तिनीहरूले उहाँलाई यसो भनेर कर लाए, “हामीसँगै बस्‍नुहोस्, किनकि साँझ पर्न लाग्‍यो, र दिन धेरै ढल्‍किसकेको छ।” अनि उहाँ तिनीहरूसँग बस्‍नलाई घरभित्र पस्‍नुभयो। जब येशू तिनीहरूसँग खान बस्‍नुभयो उहाँले रोटी लिएर आशीर्वाद दिनुभयो, र भाँचेर तिनीहरूलाई दिन लाग्‍नुभयो। तब तिनीहरूका आँखा खुले, र तिनीहरूले उहाँलाई चिने। अनि उहाँचाहिँ तिनीहरूका दृष्‍टिबाट अल्‍पिनुभयो। तिनीहरूले आपसमा भने, “उहाँ हामीसँग बाटोमा बातचीत गर्नुहुँदा, र हामीलाई धर्मशास्‍त्रको अर्थ खोलिदिनुहुँदा के हाम्रो हृदय प्रज्‍वलित भएको थिएन र?”

शेयर गर्नुहोस्
लूका 24 पढ्नुहोस्

लूका 24:13-32 नेपाली समकालीन संस्करण (NCV)

अब त्यही दिन तिनीहरूमध्ये दुईजना यरूशलेमबाट करीब एघार किलोमिटर टाढामा पर्ने इम्माउस भनिने एउटा गाउँतिर गइरहेका थिए। तिनीहरू आपसमा त्यहाँ घटेका सबै कुराहरूका विषयमा बातचित गर्दैथिए। तिनीहरूले आपसमा यिनै कुराहरूका विषयमा बातचित र बहस गरिरहेकै बेला, येशू स्वयम् त्यहाँ आएर तिनीहरूकै साथसाथ हिँड्नुभयो, तर तिनीहरू उहाँलाई चिन्‍न नसक्ने तुल्याइएका थिए। उहाँले तिनीहरूलाई सोध्नुभयो, “तिमीहरू हिँड्दै आपसमा के बहस गरिरहेका छौ?” तिनीहरू मलिन अनुहार पार्दै टक्‍क अडिए। तिनीहरूमध्येका क्लेओपास नाम भएका एक जनाले उहाँलाई सोधे, “के तपाईं यरूशलेममा एक मात्र आगन्तुक हुनुहुन्छ, र जसलाई यी दिनहरूमा त्यहाँ के घटनाहरू भए भन्‍ने थाहा छैन?” उहाँले सोध्नुभयो, “के कुरा?” तिनीहरूले जवाफ दिए, “नासरतको येशूको विषयमा, उहाँ एक अगमवक्‍ता हुनुहुन्थ्यो, र परमेश्‍वर र सबै मानिसहरूका सामु वचन र कर्ममा शक्‍तिमान् हुनुहुन्थ्यो। मुख्य पूजाहारीहरू र हाम्रा शासकहरूले उहाँलाई मृत्युदण्डको निम्ति सुम्पिदिए, र तिनीहरूले उहाँलाई क्रूसमा टाँगे, तर हामीले ता इस्राएललाई छुटकारा दिनुहुने उहाँ नै हुनुहुन्छ भन्‍ने आशा गरेका थियौं। यी सबैबाहेक यो सबै घटेको आज तीन दिन भयो। त्यसपछि पनि हामीहरूमध्येका कोही स्त्रीहरूले हामीलाई छक्‍कै पारे। तिनीहरू आज एकाबिहानै चिहानमा गए, तर उहाँको शरीर भेट्टाएनन्। तिनीहरू हामीकहाँ आएर तिनीहरूले उहाँ जीवित हुनुहुन्छ भन्‍ने स्वर्गदूतहरूको एउटा दर्शन देखेको कुरा सुनाए। त्यसपछि हाम्रा साथीहरूमध्ये कोही चिहानमा गए, र ती स्त्रीहरूले भनेजस्तै नै भेट्टाए, तर तिनीहरूले उहाँलाई देखेनन्।” अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू कति अबुझ छौ र अगमवक्‍ताहरूले बोलेका सबै कुरा विश्‍वास गर्न तिमीहरूका हृदय कति सुस्त छन्! के ख्रीष्‍टले यी सबै कष्‍टहरू भोग्न र त्यसपछि आफ्नो महिमामा प्रवेश गर्नु आवश्यक थिएन र?” अनि मोशा र अगमवक्‍ताहरूबाट सुरु गरेर उहाँले सम्पूर्ण धर्मशास्त्रमा आफ्नो विषयमा लेखिएका सबै कुराहरूको अर्थ तिनीहरूलाई व्याख्या गरिदिनुभयो। तिनीहरू आफू जुन गाउँमा गइरहेका थिए त्यसको नजिकै आइपुगेपछि, येशूले उहाँ अझै पर जान चाहेजस्तो गर्नुभयो। तर तिनीहरूले उहाँलाई कर गर्दै विन्ती गरे, “हामीसँग नै बस्‍नुहोस्; किनकि अब साँझ पर्दैछ, र दिन पनि ढल्किसकेको छ।” अनि उहाँ तिनीहरूसँगै बस्‍न भित्र पस्‍नुभयो। जब उहाँ तिनीहरूसँगै टेबुलमा हुनुहुन्थ्यो, तब उहाँले रोटी लिएर परमेश्‍वरलाई धन्यवाद दिनुभयो, र भाँचेर तिनीहरूलाई दिन थाल्नुभयो। त्यस बेला तिनीहरूका आँखा खोलिए, र तिनीहरूले उहाँलाई चिने, अनि उहाँ तिनीहरूका दृष्‍टिबाट अदृश्य हुनुभयो। तिनीहरूले आपसमा भने, “के उहाँ बाटोमा हामीसँग कुराकानी गर्नुहुँदा र हाम्रा निम्ति धर्मशास्त्रको अर्थ खोलिदिनुहुँदा हाम्रो हृदय प्रज्वलित भएको थिएन र?”

शेयर गर्नुहोस्
लूका 24 पढ्नुहोस्

लूका 24:13-32 पवित्र बाइबल (NERV)

त्यसै दिन येशूका दुइजना चेलाहरू इम्माउस नाउँ गरेको शहर गइरहेका थिए। यो ठाउँ यरूशलेमदेखि प्राय: साढे तीन कोश टाढा पर्थ्यो। तिनीहरूले घटेका ती सब घट्नाहरू बारे कुरा गरिरहेका थिए। जब तिनीहरू यी कुराहरू गरिरहेका थिए, येशू आफैं तिनीहरूको नजिक आउनुभयो अनि तिनीहरूसँगै हिँड्नु भयो। तर ती दुइ जनालाई येशूले चिन्नु दिनु भएको थिएन। त्यसपछि येशूले भन्नुभयो, “तिमीहरूले हिंड्दै गर्दा के विषयमा बात गरेको हो?” ती दुइजना रोकिए। तिनीहरूको अनुहार दुःखी देखियो। तिनीहरू मध्ये एकजना क्लेओपास नाउँ भएकोले भने, “यरूशलेमको एकजना मानिस यरूशलेममा घटेको घट्नाहरू बारे नजान्ने मानिस सायद तिमी मात्र हौ कि?” येशूले तिनहरूलाई भन्नुभयो, “कस्तो घट्नाहरू?” तिनीहरूले उहाँलाई भने, “यो नासरतको एकजना मानिस येशूको विषयको कुरो हो। उहाँले परमेश्वर अनि मानिसहरूको अघि कर्म अनि वचनले देखाउनु भयो कि उहाँ एकजना महान अगमवक्ता हुनु हुन्थ्यो। तर हाम्रो मुख्य पूजाहारीहरू अनि नेताहरूले उहाँलाई मृत्यु दण्ड दिनु औ क्रूसमा टगाउँन सुम्पिए। हामीले आशा गरेका थियौ कि उहाँ नै एक जना हुनुहुन्थ्यो जसले इस्राएललाई मुक्त गराउँनु हुँदै थियो। तर यी सब घट्नाहरू घटे। “यी सब घट्ना घटेको आज तेस्रो दिन हो। तब आज हाम्रा केही स्त्रीहरूले हामीलाई आश्चर्यचकित कुराहरू भने। बिहानै उठेर ती स्त्रीहरू येशूलाई राखिएको चिहानमा गएका थिए। तर तिनीहरूले उहाँको शरीर त्यहाँ पाएनन्। तिनीहरू फर्के अनि तिनीहरूले दुइजना स्वर्गदूतहरूको दर्शन पाएको कुरा बताए। स्वर्गदूतहरूले भने कि येशू जीवित हुनुहुन्छ! त्यसछि हाम्रा केही मानिसहरू पनि चिहानमा गए। ती स्त्रीहरूले भने झैं चिहान खाली थियो। तिनीहरू कसैले येशूलाई देखेनन्।” तब येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू मूर्ख हौ अनि अगमवक्ताहरूले भनेका प्रत्येक कुराहरू विश्वास गर्न ढिलो गर्यौ। ती अगमवक्ताहरूले भनी सकेका थिए कि ख्रीष्टलाई उहाँको महिमा भित्र पस्नु यी सब कुराहरू भोग्नु आवश्यक थियो।” त्यसपछि येशूले धर्मशास्त्रमा मोशा देखि लिएर अन्य जम्मै अगमवक्ताहरूद्वारा जे लेखिएको थियो प्रत्येक कुरो बताउनु शुरू गर्नु भयो। धर्मशास्त्रहरूमा उहाँ आफ्नो विषयमा जे लेखिएको थियो उहाँले बताउनु भयो। जब तिनीहरू इम्माउस छेउ पुगे अनि येशूले वहाना गर्नु भयो कि उहाँ त्यहाँबाट अझै अधि जानुछ। तर तिनीहरूले उहाँलाई यसो भन्दै अनेक बिन्ती गरे, “हामीसितै बस्नुहोस्, दिन धेरै बिती सक्यो प्रायः रात परि सक्यो!” तब उहाँ तिनीहरूसँग बस्नु राजी हुनु भयो। येशू जब मेचमा उनीहरूसँग बस्नु भयो उहाँले केही रोटीहरू लिनु भयो अनि त्यसको निम्ति धन्यवाद दिनु भयो। तब तिनले त्यो टुक्रा पार्नु भयो अनि तिनीहरूलाई दिनुभयो। त्यस बेला तिनीहरूको आँखा खोलियो अनि तिनीहरूले येशूलाई चिन्न सके तर उहाँ तिनीहरूबाट विलिन हुनु भयो। ती दुइजना आपसमा बात मारे, “जब येशू बाटामा हामीसँग बात गर्नु हुँदै थियो, हामीभित्र आगो जलिरहेको अनुभव गरेका थियौं। यो साँच्चै रोमाञ्चित भइरहेको थियो जति वेला उहाँले हामीलाई धर्मशास्त्रको साँच्चो अर्थ खोलिरहनु भएको थियो।”

शेयर गर्नुहोस्
लूका 24 पढ्नुहोस्

लूका 24:13-32 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

त्‍यही दिन येशूका दुई चेलाहरू यरूशलेमबाट एघार किलोमिटर जति टाढामा पर्ने इम्‍माउस भन्‍ने गाउँतिर जाँदै थिए। तिनीहरूले हालै भएका घटनाको बारेमा कुरा गरिरहेका थिए। यसरी कुरा गर्दै हिँडिरहँदा येशू आएर तिनीहरूसँगै हिँड्‍न लाग्‍नुभयो। तर तिनीहरूले उहाँलाई चिन्‍न सकेनन्। येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू केको बारेमा कुरा गर्दै हिँडिरहेका छौ?” तिनीहरू टक्‍क अडिए। तिनीहरूको अनुहार उदासी देखिन्‍थ्‍यो। ती दुईमध्‍ये क्‍लेओपास भन्‍नेले उहाँलाई सोधे, “बाहिरबाट आउने परदेशीहरूमा तपाईंलाई मात्र यो कुरा थाहा रहेनछ। हिजोआज यरूशलेममा भएका कुरा के तपाईंले सुन्‍नुभएको छैन?” येशूले सोध्‍नुभयो, “कस्‍तो कुरा?” तिनीहरूले भने, “नासरतको येशूको बारेमा भएको कुरा। उहाँ परमेश्‍वर र मानिसका सामुन्‍ने शक्तिशाली काम गर्ने र गहकिलो शिक्षा दिने अगमवक्ता हुनुहुन्‍थ्‍यो। तर हाम्रा मुख्‍य पूजाहारी र नेताहरूले उहाँलाई मृत्‍युदण्‍ड दिएर क्रूसमा झुण्‍ड्याउन लगाए। उहाँले नै इस्राएलीहरूलाई छुट्‍कारा दिनुहुन्‍छ भनी हामीले आशा गरेका थियौं। तर उहाँलाई क्रूसमा झुण्‍ड्याइएको पनि आज तीन दिन भइसक्‍यो। फेरि हाम्रा कति जना दिदी-बहिनीहरूले भनेका कुरा सुनेर हामी त छक्‍कै पर्‍यौं। तिनीहरू बिहानै चिहानमा गए, तर त्‍यहाँ उनीहरूले प्रभुको लाश भेट्टाएनन् अनि तिनीहरूकहाँ स्‍वर्गदूत देखा परेर ‘येशू त जिउँदै हुनुहुन्‍छ’ भने रे। यो सुनेर हाम्रा कोही-कोही साथीहरू पनि चिहानमा हेर्न गए, उनीहरूले पनि ती स्‍त्रीहरूले भनेजस्‍तै पाए तर उहाँलाई चाहिँ देखेनन्।” येशूले भन्‍नुभयो, “तिमीहरू त कस्‍ता मानिसहरू रहेछौ। अगमवक्ताहरूले भनेका कुरामा विश्‍वास गर्नसमेत तिमीहरूलाई कस्‍तो गाह्रो भइरहेको छ। आदर र महिमा पाउनुभन्दा अघि ख्रीष्‍टले दु:ख भोग्‍नुपर्दैनथ्‍यो र?” येशूले मोशादेखि लिएर सबै अगमवक्ताहरूले धर्मशास्‍त्रमा उहाँको बारेमा लेखेका कुरा तिनीहरूलाई बुझाइदिनुभयो। इम्‍माउस गाउँको नजिकै आइपुग्‍दा येशूचाहिँ अझै अघिअघि जान खोज्‍नुभयो। तर ती दुई चेलाले उहाँलाई भने, “रात पर्न लागिसक्‍यो, आज तपाईं हामीसँगै बस्‍नुहोस्।” तब येशू तिनीहरूसँगै बास बस्‍न जानुभयो। खान बस्‍नुहुँदा उहाँले रोटी लिएर धन्‍यवाद चढाउनुभयो अनि रोटी भाँचेर तिनीहरूलाई दिनुभयो। तब पो तिनीहरूका आँखा खुले र तिनीहरूले येशूलाई चिने। तर त्‍यति नै खेर उहाँ अदृश्‍य हुनुभयो अनि तिनीहरूले आपसमा यस्‍तो कुरा गरे, “उहाँ हामीसँग बाटोमा हिँडदै धर्मशास्‍त्रको अर्थ खोलिदिनुहुँदा हाम्रो हृदय आनन्‍दले गद्‌गद् भएको थिएन र!”

शेयर गर्नुहोस्
लूका 24 पढ्नुहोस्