YouVersion लोगो
खोज आइकन

लूका 2:36-52

लूका 2:36-52 NNRV

आशेरको कुलमा फनुएलकी छोरी हन्‍ना नाउँकी एउटी वृद्ध अगमवादिनी थिइन्, जो कुमारी अवस्‍थामा विवाह गरेर सातै वर्ष मात्र श्रीमान्‌सँग बसेकी थिइन्‌। अनि विधवा रहेर तिनी चौरासी वर्ष पुगेकी थिइन्‌। तिनले मन्‍दिर छोड्‌दैनथिइन्, तर उपवास र प्रार्थनासाथ रातदिन उपासना गर्दथिइन्‌। त्‍यही बेला तिनले आएर परमेश्‍वरलाई धन्‍यवाद दिइन्, र यरूशलेमका उद्धारको प्रतीक्षा गर्ने सबैलाई बालकको विषयमा भनिन्‌। जब तिनीहरूले परमप्रभुको व्‍यवस्‍थाअनुसार सबै काम गरी सिद्ध्याए, तब तिनीहरू गालीलको आफ्‍नै सहर नासरतमा फर्के। बालक बुद्धिले भरिपूर्ण भएर बढ्‌दै र बलियो हुँदैजानुभयो, र परमेश्‍वरको अनुग्रह उहाँमाथि थियो। उहाँका आमा-बुबा निस्‍तारचाड़मा प्रतिवर्ष यरूशलेम जाने गर्थे। जब येशू बाह्र वर्षका हुनुभयो, तब उहाँहरू चाड़को रीतिअनुसार यरूशलेममा जानुभयो। चाड़का दिन सिद्धिएपछि तिनीहरू फर्कंदा बालक येशू यरूशलेममै रहनुभयो। योचाहिँ उहाँका आमा-बुबाले थाहा पाएनन्‌। उहाँ यात्रीहरूको दलमा हुनुहुन्‍छ भनी ठानेर तिनीहरू एक दिनको बाटो गए। उहाँलाई तिनीहरूले नातेदार र चिनाजानाहरूका बीचमा खोजे, तर नभेट्टाउँदा तिनीहरू उहाँलाई खोज्‍दै फेरि यरूशलेममा फर्के। तीन दिनपछि तिनीहरूले उहाँलाई मन्‍दिरमा शिक्षकहरूका बीचमा बसेर तिनीहरूका कुरा सुन्‍दै तिनीहरूलाई प्रश्‍न गरिरहनुभएको भेट्टाए। सुन्‍नेहरू सबै उहाँको समझ-शक्ति र उहाँका उत्तरहरूमा छक्‍क पर्दथे। उहाँलाई देखेर उहाँका आमा-बुबा चकित भए, र उहाँकी आमाले भनिन्, “छोरो, तिमीले हामीलाई यो के गरेको? हेर, तिम्रा बुबा र म हैरान भएर तिमीलाई खोजिरहेका थियौं।” उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तपाईंहरूले मलाई किन खोज्‍नुभएको? के म आफ्‍ना पिताको घरमा हुनुपर्छ भन्‍ने तपाईंहरूलाई थाहा थिएन?” तर उहाँले तिनीहरूलाई भन्‍नुभएको कुरा तिनीहरूले बुझेनन्‌। तब उहाँ तिनीहरूसँग नासरत जानुभयो, र तिनीहरूका आज्ञाकारी भई बस्‍नुभयो। उहाँकी आमाले यी सबै कुरा आफ्‍नो मनमा राखिन्‌ अनि येशू बुद्धिमा, कदमा र परमेश्‍वर र मानिसहरूको अनुग्रहमा बढ्‌दैजानुभयो।