YouVersion लोगो
खोज आइकन

लूका 19:28-44

लूका 19:28-44 NNRV

येशूले यी कुरा भन्‍नुभएपछि उहाँ यरूशलेमतर्फ बढ्‌नुभयो। जब उहाँ बेथफागे र बेथानियाको नजिक जैतून भनिने डाँड़ामा पुग्‍नुभयो, उहाँले आफ्‍ना चेलाहरूमध्‍ये दुई जनालाई यसो भनेर पठाउनुभयो, “सामुन्‍नेको गाउँमा जाओ, र भित्र पस्‍दापस्‍दै तिमीहरूले गधाको एउटा बछेड़ो बाँधेको भेट्टाउनेछौ, जसमाथि अहिलेसम्‍म कोही मानिस चढ़ेको छैन। त्‍यसलाई फुकाएर यहाँ ल्‍याओ। कसैले ‘किन फुकाउँछौ?’ भनेर तिमीहरूलाई सोध्‍यो भने, ‘प्रभुलाई यसको खाँचो छ’ भन्‍नू।” ती पठाइएकाहरू गए, र उहाँले तिनीहरूलाई जस्‍तो भन्‍नुभएको थियो त्‍यस्‍तै भेट्टाए। तिनीहरूले बछेड़ो फुकाउन लाग्‍दा बछेड़ाका मालिकहरूले तिनीहरूलाई सोधे, “तिमीहरू यो बछेड़ो किन फुकाउँछौ?” तिनीहरूले भने, “प्रभुलाई यसको खाँचो छ।” चेलाहरूले त्‍यसलाई येशूकहाँ ल्‍याए, र आफ्‍ना वस्‍त्रहरू बछेड़ोमाथि राखेर येशूलाई त्‍यसमाथि बसाए। उहाँ जानुहुँदा मानिसहरूले आफ्‍ना वस्‍त्रहरू बाटोमा ओछ्याए। उहाँ जैतून डाँड़ाको ओह्रालोमा आइपुग्‍नुहुँदा चेलाहरूको समस्‍त भीड, आफैले देखेका सबै शक्तिशाली कामहरूका निम्‍ति रमाउँदै, परमेश्‍वरको प्रशंसा गर्दै उच्‍च सोरले कराउन लागे, “परमप्रभुको नाउँमा आउने राजा धन्‍य हुन्‌। स्‍वर्गमा शान्‍ति र परमधाममा महिमा।” अनि भीड़का कुनै-कुनै फरिसीहरूले उहाँलाई भने, “हे गुरु, तपाईंका चेलाहरूलाई हप्‍काउनुहोस्‌।” तर उहाँले भन्‍नुभयो, “म तिमीहरूलाई भन्‍दछु, यिनीहरू चूप लागे भने ढुङ्गाहरू नै कराउनेछन्‌।” जब येशू नजिकै आइपुग्‍नुभयो र सहरलाई देख्‍नुभयो, उहाँ त्‍यसको निम्‍ति रुनुभयो, “शान्‍ति कुन कुराले ल्‍याउँछ भनेर तैंले आज पनि जानेको भए हुनेथियो! तर अब तेरो दृष्‍टिबाट त्‍यो लुकेको छ। किनकि तँमाथि यस्‍ता दिन आउनेछन्, जब तेरा शत्रुहरूले तेरो वरिपरि मोर्चा बाँधेर घेरा हाल्‍नेछन्, र सबैतिरबाट तँलाई थुनिराख्‍नेछन्‌। तिनीहरूले तँलाई र तँभित्र वास गर्ने तेरा सन्‍तानलाई जमिनमा पछार्नेछन्, र एउटा ढुङ्गामाथि अर्को ढुङ्गा पनि छोडिनेछैन। किनकि तैंले आफूमाथि भएको परमेश्‍वरको कृपा-दृष्‍टिको समयलाई चिन्‍न सकिनस्‌।”

लूका 19:28-44 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति