YouVersion लोगो
खोज आइकन

लूका 11:1-11

लूका 11:1-11 NNRV

उहाँ कुनै एक ठाउँमा प्रार्थना गरिरहनुभएको थियो। उहाँले प्रार्थना गरिसक्‍नुभएपछि चेलाहरूमध्‍ये एक जनाले उहाँलाई भने, “हे प्रभु, यूहन्‍नाले आफ्‍ना चेलाहरूलाई सिकाएझैँ हामीलाई पनि प्रार्थना गर्न सिकाउनुहोस्‌।” उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले प्रार्थना गर्दा यसो भन, “‘हे पिता, तपाईंको नाउँ पवित्र गरिओस्, तपाईंको राज्‍य आओस्‌। हाम्रो दैनिक भोजन हामीलाई प्रतिदिन दिनुहोस्‌। हाम्रा पाप हामीलाई क्षमा गरिदिनुहोस्, किनकि हामी पनि हाम्रा विरुद्धमा अपराध गर्नेहरूलाई क्षमा गर्दछौं। हामीलाई परीक्षामा नलैजानुहोस्‌’।” अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मानिलेओ, तिमीहरूमध्‍ये कसैको एक जना मित्र छ। तिनी मध्‍यरातमा उनीकहाँ गएर भन्‍दछन्, ‘मित्र, मलाई तीन वटा रोटी पैँचो देऊ। किनकि मेरा एक जना साथी यात्राबाट मकहाँ आएका छन्, र तिनलाई खान दिन मसँग केही छैन।’ “उनले भित्रबाट जवाफ दिएर भन्‍छन्, ‘मलाई नझिँज्‍याऊ। ढोका अब बन्‍द भइसकेको छ, र मेरा केटाकेटीहरू मसँग ओछ्यानमा छन्‌। म उठेर तपाईंलाई केही दिन सक्‍दिनँ।’ म तिमीहरूलाई भन्‍दछु, मित्रताको नाताले उनले उठेर तिनलाई केही नदेलान्, तर तिनले खुरन्‍धार मागिरहेकाले उठेर उनले खाँचो परे जति तिनलाई दिनेछन्‌। “म तिमीहरूलाई भन्‍दछु, माग, त तिमीहरूलाई दिइनेछ। खोज, त तिमीहरूले भेट्टाउनेछौ। ढकढक्‍याओ, त तिमीहरूका निम्‍ति खोलिनेछ। किनकि हरेक जसले माग्‍छ त्‍यसले पाउँछ, जसले खोज्‍छ त्‍यसले भेट्टाउँछ, र जसले ढकढक्‍याउँछ त्‍यसको निम्‍ति खोलिनेछ। “तिमीहरूमध्‍ये कुनचाहिँ बुबा होला, जसको छोराले रोटी माग्‍दा त्‍यसलाई ढुङ्गा देला, कि माछा माग्‍दा माछाको सट्टा सर्प देला?