YouVersion लोगो
खोज आइकन

लूका 1:5-25

लूका 1:5-25 NNRV

यहूदियाका राजा, हेरोदको पालोमा, अबियाका दलका जकरिया नाउँ भएका एक जना पूजाहारी थिए। तिनकी पत्‍नी हारून-वंशकी थिइन्‌। तिनको नाउँ एलीशिबा थियो। ती दुवै परमेश्‍वरको सामुन्‍ने धर्मी थिए, र परमप्रभुका सबै आज्ञा र धार्मिक-विधानहरूमा निर्दोष भई हिँड्‌थे। तर तिनीहरूको कोही सन्‍तान थिएन, किनभने एलीशिबा बाँझी थिइन्, र ती दुवैको उमेर ढल्‍किसकेको थियो। जब जकरिया परमेश्‍वरको सामुन्‍ने आफ्‍ना दलको पालोमा पूजाहारी काम गरिरहेका थिए, तब पूजाहारीका सेवाको रीतअनुसार चिट्ठा हाल्‍दा परमप्रभुको मन्‍दिरभित्र पसेर धूप बाल्‍ने काम जकरियालाई पर्‍यो। धूप बाल्‍ने बेलामा मानिसहरूको सारा भीड बाहिर प्रार्थना गरिरहेको थियो। परमप्रभुका एक जना स्‍वर्गदूत धूप-वेदीको दाहिनेपट्टि उभिरहेका देखा परे। जकरिया तिनलाई देखेर आत्तिए, र भयभीत भए। तर दूतले तिनलाई भने, “नडराऊ जकरिया, किनभने तिम्रो प्रार्थनाको सुनाइ भएको छ। अब तिम्री पत्‍नी एलीशिबाले तिम्रो निम्‍ति एउटा छोरो जन्‍माउनेछिन्, र तिमीले तिनको नाउँ यूहन्‍ना राख्‍नू। तिमीलाई रमाहट र आनन्‍द हुनेछ, र धेरै जना तिनको जन्‍ममा रमाउनेछन्‌। किनभने तिनी परमप्रभुको सामुन्‍ने महान्‌ हुनेछन्‌। तिनले दाखमद्य र अरू कुनै पनि मद्य कहिल्‍यै पिउनेछैनन्, र आफ्‍नी आमाको गर्भदेखि नै तिनी पवित्र आत्‍माले भरिपूर्ण हुनेछन्‌। तिनले इस्राएलका सन्‍तानहरूमा धेरैलाई तिनीहरूका परमप्रभु परमेश्‍वरतिर फर्काउनेछन्‌। बाबुहरूका मन छोरा-छोरीहरूतिर र अनाज्ञाकारीहरूलाई धर्मीहरूको बुद्धितिर फर्काउन र प्रभुको निम्‍ति योग्‍य तुल्‍याइएको एक जाति तयार पार्न उहाँको अगि तिनी एलियाको आत्‍मा र शक्तिमा जानेछन्‌।” तब जकरियाले दूतलाई भने, “यो मैले कसरी जान्‍ने? म बूढ़ो भएँ र मेरी पत्‍नीको उमेर पनि ढल्‍किसकेको छ।” स्‍वर्गदूतले तिनलाई भने, “म गब्रिएल हुँ, म परमेश्‍वरको सामुन्‍ने उभिरहन्‍छु। तिमीसँग कुरा गर्न र यो खुसीको समाचार सुनाउन म पठाइएको हुँ। जुन दिनसम्‍म यी कुरा पूरा हुँदैनन्, तबसम्‍म तिमी गूँगो हुनेछौ र बोल्‍न सक्‍नेछैनौ, किनभने तिमीले मेरा वचनमाथि विश्‍वास गरेनौ, जुन वचन आफ्‍नो समयमा पूरा हुनेछन्‌।” मानिसहरू जकरियालाई पर्खिरहेका थिए र मन्‍दिरमा ढिलो गर्दा चकित भए। तिनी बाहिर निस्‍केर आउँदा उनीहरूसँग बोल्‍नै सकेनन्‌ र तिनले मन्‍दिरमा दर्शन देखेछन्‌ भन्‍ने उनीहरूले बुझे। तिनले उनीहरूलाई इशारा गर्न लागे, अनि तिनी गूँगो भइरहे। तिनको सेवाका दिन समाप्‍त भएपछि तिनी आफ्‍नो घर गए। यसपछि तिनकी पत्नी एलीशिबा गर्भवती भइन्, र पाँच महिनासम्‍म लुकेर बसिन्‌ र यसो भनिन्, “मानिसहरूका बीचमा मेरो कलङ्क हटाउनलाई अब परमप्रभुले ममाथि यसरी कृपा गर्नुभएको हो।”