YouVersion लोगो
खोज आइकन

लेवीहरू 7:28-38

लेवीहरू 7:28-38 NNRV

परमप्रभुले मोशालाई भन्‍नुभयो, “इस्राएलीहरूलाई भन्‌: ‘परमप्रभुको निम्‍ति मेलबलि चढ़ाउनेले मेलबलिको एक भाग बलिदानको रूपमा परमप्रभुकहाँ ल्‍याओस्‌। त्‍यसले परमप्रभुको निम्‍ति आगोद्वारा चढ़ाउने बलि आफ्‍नो हातले ल्‍याओस्‌। त्‍यसले बोसो, ह्याकुलोसमेत ल्‍याओस्, र ह्याकुलो परमप्रभुको सामु डोलाइने बलिको निम्‍ति डोलाओस्‌। पूजाहारीले बोसोचाहिँ वेदीमा जलाऊन्, तर ह्याकुलोचाहिँ हारून र तिनका छोराहरूको हुनेछ। दाहिने फिलाचाहिँ तिमीहरूले आफ्‍नो मेलबलिबाट भेटीको रूपमा पूजाहारीलाई दिनू। हारूनका छोराहरूमध्‍ये जसले मेलबलिको रगत र बोसो चढ़ाउँछ, दाहिने फिला त्‍यसको भाग हुनेछ। किनकि इस्राएलीहरूका मेलबलिबाट डोलाएको ह्याकुलो र उठाएको फिला मैले तिमीहरूबाट लिएर हारून पूजाहारी र तिनका छोराहरूलाई इस्राएलीहरूका तर्फबाट सदाको विधि स्‍वरूप दिएको छु’।” हारून र तिनका छोराहरू जुन दिन पूजाहारी पदमा परमप्रभुका सेवाको निम्‍ति हाजिर गरिएका थिए, त्‍यसै दिन परमप्रभुको निम्‍ति आगोद्वारा चढ़ाइएका बलिहरूबाट यो तिनीहरूको भाग ठहराइएको हो। जुन दिन उहाँले तिनीहरूलाई अभिषेक गर्नुभयो त्‍यही दिन तिनीहरूका निम्‍ति इस्राएलीहरूबाट यो भाग तिनीहरूले पाउने परमप्रभुले आज्ञा दिनुभयो। तिनीहरूका पुस्‍तौँ-पुस्‍तौँका निम्‍ति यो सदाको भाग हुनेछ। यी नै होमबलि, अन्‍नबलि, पापबलि, दोषबलि, अर्पणबलि र मेलबलिका विधि हुन्, जो परमप्रभुले मोशालाई सीनै पर्वतमा दिनुभएको थियो, जुन दिन सीनैको मरुभूमिमा परमप्रभुले इस्राएलीहरूलाई तिनीहरूका भेटी उहाँकहाँ ल्‍याउने आज्ञा गर्नुभएको थियो।