YouVersion लोगो
खोज आइकन

लेवीहरू 7:28-38

लेवीहरू 7:28-38 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

परमप्रभुले मोशालाई भन्‍नुभयो, “इस्राएलीहरूलाई भन्‌: ‘परमप्रभुको निम्‍ति मेलबलि चढ़ाउनेले मेलबलिको एक भाग बलिदानको रूपमा परमप्रभुकहाँ ल्‍याओस्‌। त्‍यसले परमप्रभुको निम्‍ति आगोद्वारा चढ़ाउने बलि आफ्‍नो हातले ल्‍याओस्‌। त्‍यसले बोसो, ह्याकुलोसमेत ल्‍याओस्, र ह्याकुलो परमप्रभुको सामु डोलाइने बलिको निम्‍ति डोलाओस्‌। पूजाहारीले बोसोचाहिँ वेदीमा जलाऊन्, तर ह्याकुलोचाहिँ हारून र तिनका छोराहरूको हुनेछ। दाहिने फिलाचाहिँ तिमीहरूले आफ्‍नो मेलबलिबाट भेटीको रूपमा पूजाहारीलाई दिनू। हारूनका छोराहरूमध्‍ये जसले मेलबलिको रगत र बोसो चढ़ाउँछ, दाहिने फिला त्‍यसको भाग हुनेछ। किनकि इस्राएलीहरूका मेलबलिबाट डोलाएको ह्याकुलो र उठाएको फिला मैले तिमीहरूबाट लिएर हारून पूजाहारी र तिनका छोराहरूलाई इस्राएलीहरूका तर्फबाट सदाको विधि स्‍वरूप दिएको छु’।” हारून र तिनका छोराहरू जुन दिन पूजाहारी पदमा परमप्रभुका सेवाको निम्‍ति हाजिर गरिएका थिए, त्‍यसै दिन परमप्रभुको निम्‍ति आगोद्वारा चढ़ाइएका बलिहरूबाट यो तिनीहरूको भाग ठहराइएको हो। जुन दिन उहाँले तिनीहरूलाई अभिषेक गर्नुभयो त्‍यही दिन तिनीहरूका निम्‍ति इस्राएलीहरूबाट यो भाग तिनीहरूले पाउने परमप्रभुले आज्ञा दिनुभयो। तिनीहरूका पुस्‍तौँ-पुस्‍तौँका निम्‍ति यो सदाको भाग हुनेछ। यी नै होमबलि, अन्‍नबलि, पापबलि, दोषबलि, अर्पणबलि र मेलबलिका विधि हुन्, जो परमप्रभुले मोशालाई सीनै पर्वतमा दिनुभएको थियो, जुन दिन सीनैको मरुभूमिमा परमप्रभुले इस्राएलीहरूलाई तिनीहरूका भेटी उहाँकहाँ ल्‍याउने आज्ञा गर्नुभएको थियो।

शेयर गर्नुहोस्
लेवीहरू 7 पढ्नुहोस्

लेवीहरू 7:28-38 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

याहवेहले मोशालाई भन्‍नुभयो, “इस्राएलीहरूलाई यसो भन्: ‘जसले याहवेहका निम्ति मेलबलि ल्याउँछ, त्यसले यसको केही भाग याहवेहका निम्ति आफ्नो बलिदानस्वरूप ल्याओस्। त्यसले याहवेहका निम्ति अग्निबलिको भेटी आफ्नै हातले ल्याओस्। त्यसले बोसो ह्‍याकुलोसितै ल्याओस्; अनि त्यस ह्‍याकुलोलाई विशेष भेटीको रूपमा याहवेहको सामु उचालिओस्। पुजारीले बोसो वेदीमाथि जलाओस्; तर ह्‍याकुलोचाहिँ हारून र त्यसका छोराहरूको हुनेछ। दाहिने फिलाचाहिँ तिमीहरूले आफ्नो मेलबलिबाट स्वेच्छा भेटीको रूपमा पुजारीलाई दिनू। हारूनको जुन छोराले मेलबलिको रगत र बोसो चढाउँछ, त्यो दाहिने फिलाको हकदार हुनेछ। मैले इस्राएलीहरूको मेलबलिबाट विशेष भेटीको रूपमा उचालिएको ह्‍याकुला र चढाएको फिला लिएर ती हारून पुजारी र त्यसका छोराहरूलाई इस्राएलीहरूबाट नियमित भागस्वरूप दिएको छु।’ ” याहवेहकहाँ अग्निबलिको भेटीको भाग यही हो, जुन पुजारी भई सेवा गर्नलाई हारून र त्यसका छोराहरूलाई प्रस्तुत गरिएको दिन तिनीहरूका निम्ति भाग लगाइएको थियो। तिनीहरू अभिषेक भएको दिन याहवेहले इस्राएलीहरूलाई पुस्तौँसम्म आफ्नो नियमित भाग तिनीहरूलाई दिनू भनी आज्ञा दिनुभयो। यसकारण होमबलि, अन्‍नबलि, पाप शुद्धीकरण बलि, दोषबलि, अर्पणबलि, भेटी र मेलबलिका नियमहरू यिनै हुन्, जुन याहवेहले मोशालाई सीनै पर्वतमा दिनुभएको थियो; त्यही दिन सीनैको मरुभूमिमा याहवेहले इस्राएलीहरूलाई उहाँका निम्ति भेटी ल्याउने आज्ञा गर्नुभएको थियो।

शेयर गर्नुहोस्
लेवीहरू 7 पढ्नुहोस्

लेवीहरू 7:28-38 पवित्र बाइबल (NERV)

परमप्रभुले मोशालाई भन्नुभयो, “इस्राएलका मानिसहरूलाई भन: जसले मेलबलि चढाउँछ, उसले बलिको निम्ति उपहार आफैं लिएर आउनुपर्छ। परमप्रभुलाई चढाउने भेटी आफ्नो हातमा लिएर परमप्रभुअघि छातीको ह्याकुलो बोसोसमेत डोलाउने बलिको रूपमा चढाउनुपर्छ। पूजाहारीले बोसो वेदीमा जलाउनु पर्छ तर हारून र उनका छोराहरूको हुन्छ। मेलबलिको निम्ति चढाएको बलिको दाहिने फिला चाहि पूजाहारीलाई दिइयोस्। हारूनका छोराहरू मध्ये एक जना पूजाहारी जसले आफ्नो भागबाट मेलबलिको रगत र बोसो चढाउँछ। मेलबलिको दाहिने फिला चाँहि पूजाहरीको हुन्छ। किनभने डोलाइने बलिको ह्याकुलो र मैत्रीबलिको दाहिने तिघ्राको उपहार जो मैले इस्राएलीहरूबाट लिएको थिएँ पूजाहारी हारून र उनका छोराहरूलाई नियमित उपहारको रूपमा दिएको छु।” जुन दिन हारून र तिनका छोराहरूलाई परमप्रभुको सेवा गर्न पूजाहारी पदमा नियुक्ति गरियो त्यसै दिनदेखि परमप्रभुको निम्ति आगोमा चढाइएका बलिहरूबाट तिनीहरूको भाग पाउँछन्। परमप्रभुले मानिसहरूलाई बलिको तिनीहरूको भाग सदा-सर्वदा पूजाहारीलाई दिनु भन्नु भएकोछ। उहाँले यी आज्ञाहरू त्यस दिन दिनुभयो जब उहाँले तिनीहरूलाई पूजाहारी नियुक्त गर्नुभयो। यिनीहरू नै होमबलि, अन्नबलि, पापबलि, दोषबलि, मैत्रीबलि अनि अपर्णबलिका नियमहरू हुन्। जुनदिन परमप्रभुले सीनै मरुभूमिमा इस्राएलीहरूलाई उहाँको निम्ति बलि ल्याउने आज्ञा दिनु भयो त्यही दिन परमप्रभुले मोशालाई यी आज्ञाहरू सीनै पर्वतमा दिनु भएको थियो।

शेयर गर्नुहोस्
लेवीहरू 7 पढ्नुहोस्

लेवीहरू 7:28-38 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

परमप्रभुले मोशालाई इस्राएलीहरूको लागि यी नियमहरू दिनुभयो। जसले मेलबलि चढाउँछ, त्‍यसको एक भाग उसले परमप्रभुकहाँ विशेष भेटीको रूपमा आफ्‍नै हातले बलि चढाउन ल्‍याओस्। त्‍यसले पशुको ह्याकुलो र बोसो ल्‍याएर परमप्रभुलाई विशेष भेटीको रूपमा चढाओस्। पूजाहारीले बोसो वेदीमा जलाओस् तर ह्याकुलो पूजाहारीहरूको हुनेछ। मेलबलिको रगत र बोसो चढाउने पूजाहारीलाई पशुको पछिल्‍लो दाहिने साँप्रो विशेष भेटीको रूपमा दिनू। पशुको ह्याकुलो एउटा विशेष भेटी र त्‍यसको दाहिने पछिल्‍लो साँप्रो एउटा विशेष दान हुन्, जुन परमप्रभुले इस्राएली जनसमुदायबाट लिएर पूजाहारीहरूलाई दिनुभएको हो। यी कुरा इस्राएलीहरूले सदाकालको निम्‍ति पूजाहारीहरूलाई दिनुपर्नेछ। यो परमप्रभुलाई चढाइएको बलिको एउटा भाग हो, जुन हारून र त्‍यसका छोराहरू पूजाहारी अभिषेक गरिएको दिनमा तिनीहरूलाई दिइएको थियो। त्‍यस दिन परमप्रभुले इस्राएलका जनसमुदायलाई भेटीको त्‍यो हिस्‍सा पूजाहारीहरूलाई दिनू भनी आज्ञा गर्नुभयो। यो इस्राएलीहरूले सदाको निम्‍ति मान्‍नुपर्ने नियम हो। यी नियमहरू होमबलि, अन्‍नबलि, पापबलि, दोषबलि, अभिषेक बलि र मेलबलिका व्‍यवस्‍था हुन्। इस्राएलीहरूलाई भेटी ल्‍याउने आदेश दिनुभएको दिन मरुभूमिमा सीनै पर्वतमाथि परमप्रभुले यी आज्ञाहरू मोशालाई दिनुभएको हो।

शेयर गर्नुहोस्
लेवीहरू 7 पढ्नुहोस्