लेवीहरू 19
19
विभिन्न विधिविधानहरू
1परमप्रभुले मोशालाई भन्नुभयो, 2“सबै इस्राएली समुदायलाई भन्: तिमीहरू पवित्र होओ, किनभने म, परमप्रभु तिमीहरूका परमेश्वर, पवित्र छु। #लेवी ११:४४-४५; १ पत्र १:१६
3“‘तिमीहरू हरेकले आफ्ना आमा-बुबाको सम्मान गर्नू, र मेरो शबाथ पालन गर्नू। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। #प्रस २०:८,१२; व्य ५:१२,१६
4“‘मूर्तिहरू पुज्नतिर तिमीहरू नलाग, अनि तिमीहरूले ढलौटे देवताहरू पनि नबनाओ। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। #लेवी २६:१; प्रस २०:२३; ३४:१७; व्य २७:१५
5“‘तिमीहरूले मेलबलि चढ़ाउँदा आफू ग्रहणयोग्य हुने गरी चढ़ाओ। 6तिमीहरूले चढ़ाएकै दिन वा भोलिपल्टसम्म त्यो खाइओस्। तर पर्सिपल्ट केही उब्र्यो भने त्यो आगोमा जलाइओस्। 7पर्सिपल्टसम्म त त्यो खाइएको भए त्यो अशुद्ध हुन्छ। त्यो ग्रहणयोग्य हुनेछैन। 8त्यो खाने हरेक आफ्नो अधर्मको लागि आफै जिम्मेवार हुनेछ, किनभने त्यसले परमप्रभुको पवित्र कुरो अपवित्र पार्यो। अनि त्यो आफ्ना मानिसहरूबाट बहिष्कार गरिओस्।
9“‘जब तिमीहरू आफ्नो बाली काट्छौ, तब तिमीहरूले खेतको छेउसम्मै नकाट्नू। कटनीको शिला-बाला नबटुल्नू। #लेवी २३:२२; व्य २४:१९-२२ 10तिमीहरूले आफ्नो दाखबारीका फल निखारीकन नटिप्नू, अनि दाखबारीमा झरेका फलहरू नबटुल्नू। तीचाहिँ गरीब र परदेशीहरूका निम्ति छोड़िदेओ। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।
11“‘तिमीहरूले चोरी नगर्नू। #प्रस २०:१५-१६; व्य ५:१९-२०
“‘छल नगर्नू।”
“‘एक-अर्कासित झूट नबोल्नू।
12“‘तिमीहरूले मेरो नाउँमा झूटा शपथ नखानू। त्यसो गर्नाले तिमीहरूले आफ्ना परमेश्वरको नाउँ अपवित्र पार्नेछौ। म परमप्रभु हुँ। #प्रस २०:७; व्य ५:११; मत्ती ५:३३
13“‘तिमीहरूले आफ्नो छिमेकीलाई थिचोमिचो नगर्नू, र त्यसलाई नलुट्नू। #व्य २४:१४-१५
“‘ज्यालामा काम गर्नेको पैसा एक रात पनि तिमीहरूसँग नरहोस्।
14“‘बहिरालाई नसराप। अन्धाको अगाड़ि ठोकर लाग्ने कुरो नराख, तर आफ्ना परमेश्वरको भय मान। म परमप्रभु हुँ। #व्य २७:१८
15“‘तिमीहरूले अन्याय नगर। ठूलो होस् वा सानो होस्, मान्छे हेरेर होइन, तर सबै मान्छेको उचित न्याय गर। #प्रस २३:६-८; व्य १६:१९
16“‘मानिसहरूका बीचमा निन्दा नफैलाओ। “‘तिमीहरूले आफ्नो छिमेकीको जीवन जोखिममा नपार। म परमप्रभु हुँ।
17“‘आफ्नो भाइबन्धुसित दुश्मनी नराख। आफ्नो छिमेकीलाई खुल्लमखुल्ला हप्काओ, नत्रता तँ पनि त्यसको अपराधमा साझेदारी होलास्। #मत्ती १८:१५
18“‘आफ्ना आफन्तहरूसित बदला लिन नखोज र इबी नराख, तर आफ्नो छिमेकीलाई आफैलाई झैँ प्रेम गर। म परमप्रभु हुँ। #मत्ती ५:४३; १९:१९; २२:३९; मर्क १२:३१; लूक १०:२७; रोम १३:९; गला ५:१४; याक २:८
19“‘तिमीहरूले मेरा नियमहरू पालन गर। #व्य २२:९-११
“‘दुई भिन्न-भिन्न जातका पशुहरूलाई मिसिन नदेओ।
“‘आफ्नो खेतमा दुई किसिमका बीउहरू नछर।
“‘तिमीहरूले दुई किसिमका धागो मिसिएको लुगा नलगाओ।
20“‘मगनी भएकी तर छुटकारा नपाएकी तथा स्वतन्त्र नभएकी कमारीसित कसैले सहवास गर्यो भने, त्यसबारे जाँचपड़ताल गरिओस्। तिनीहरूलाई मार्नुचाहिँ हुँदैन, किनभने त्यो फुक्का थिइन। 21तर त्यस पुरुषले भेट हुने पालको ढोकामा आफ्नो दोषबलिको निम्ति एउटा भेड़ा परमप्रभुलाई चढ़ाउन ल्याओस्। 22अनि त्यस पापको निम्ति दोषबलिको भेड़ाद्वारा पूजाहारीले परमप्रभुको सामु प्रायश्चित गरून्, र त्यसको पाप त्यसलाई क्षमा गरिनेछ।
23“‘तिमीहरूले त्यस देशमा पुगेर कुनै प्रकारको खानु हुने फलको बिरुवा लगाएपछि तीन वर्षसम्म त्यसको फल खानु निषेध छ। 24चौथो वर्षमा चाहिँ सबै फल पवित्र हुनेछन्, र परमप्रभुमा प्रशंसाको भेटी हुनेछन्। 25तर पाँचौँ वर्षमा त्यसको फल तिमीहरूले खानु हुन्छ, र त्यसको उत्पादन बढ़ेर जानेछ। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।
26“‘तिमीहरूले कुनै पशु-पक्षी त्यसको रगतैसमेत नखानू। #उत ९:४; लेवी ७:२६-२७; १७:१०-१४; व्य १२:१६,२३; १५:२३; १८:१०
“‘तिमीहरूले शकून-अपशकून नमान्नू र टुनामुना नगर्नू।
27“‘तिमीहरूले आफ्नो कन्चटको कपाल नकाट्नू, अनि आफ्नो दाह्रीका कुना-कुना नछाँट्नू। #लेवी २:५; व्य १४:१
28“‘मरेका मानिसका निम्ति आफ्नो शरीरमा काटेर चोट नबनाउनू। अनि आफ्नो शरीरमा कुनै किसिमको छाप नबनाउनू। म परमप्रभु हुँ।
29“‘तिमीहरूका छोरीहरूलाई वेश्या तुल्याएर अशुद्ध नपार्नू, नत्रता देश वेश्यागमनतिर लाग्ला, र देश दुष्टताले भरिएला। #व्य २३:१७
30“‘तिमीहरूले मेरो शबाथ पालन गर्नू र मेरो पवित्रस्थानको आदर गर्नू। म परमप्रभु हुँ। #लेवी २६:२
31“‘तिमीहरू झाँक्री, बोक्सी र जादू-मन्त्र गर्नेतिर नलाग्नू। तिनीहरूसित सल्लाह लिएर तिमीहरूले आफूलाई अशुद्ध नपार। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। #व्य १८:११; १ शमू २८:३; २ राज २३:४; यशै ८:१९
32“‘बुढापाकाका सम्मानमा उठ र वृद्ध मानिसको आदर गर। तिमीहरूले परमेश्वरको भय मान। म परमप्रभु हुँ।
33“‘तिमीहरूसित वास गर्ने परदेशीसँग दुर्व्यवहार नगर्नू। #प्रस २२:२१; व्य २४:१७-१८; २७:१९ 34तिमीहरूले त्यसलाई आफ्नै देशमा जन्मेको जस्तै ठान्नू। तिमीहरूले त्यसलाई आफूलाई झैँ प्रेम गर्नू, किनभने तिमीहरू पनि मिश्रमा परदेशी थियौ। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।
35“‘तिमीहरूले नाप्दा, जोख्दा र भर्दा छल नगर्नू। #व्य २५:१३-१६; हितो २०:१०; इज ४५:१० 36तिमीहरूसँग ठीक-ठीक तराजू र ढक, र ठीक-ठीक नाप र तौलहरू राख्नू। तिमीहरूलाई मिश्रबाट निकालेर ल्याउने म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।
37“‘तिमीहरूले मेरा सबै विधिविधानहरू पालन गर। म परमप्रभु हुँ’।”
अहिले सेलेक्ट गरिएको:
लेवीहरू 19: NNRV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012