लेवीहरू 18
18
यौनक्रियासम्बन्धि विधिहरू
1परमप्रभुले मोशालाई भन्नुभयो, 2“इस्राएलीहरूलाई भन्: ‘म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। 3तिमीहरूले प्रवास गरेको मिश्रीका रीतिथिति नमान्नू। अनि अब म तिमीहरूलाई कनान देशमा लैजाँदैछु, यसकारण त्यहाँका रीतिथिति र विधिहरू पनि नमान्नू। 4तिमीहरूले मेरा विधान र विधिहरू पालन गरेर त्यसअनुसार चल्नुपर्छ। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। 5तिमीहरूले मेरा यी विधिविधानहरू पालन गर्नू, किनभने ती पालन गर्ने मानिस तीद्वारा जीवित रहनेछ। म परमप्रभु हुँ। #नहे ९:२९; इज १८:९; २०:११-१३; लूक १०:२८; रोम १०:५; गला ३:१२
6“‘तिमीहरूमध्ये कसैले पनि आफ्नो नजिकको साइनो पर्नेसित सहवास नगरोस्। म परमप्रभु हुँ।
7“‘तेरी आमासित सहवास गरेर आफ्ना बुबालाई शर्ममा नपार्। त्यो तेरी आमा हो। त्यससित तैंले सहवास नगर्।
8“‘तैंले आफ्ना बुबाकी पत्नीसित सहवास नगर्। त्यसो गर्नाले तैंले आफ्ना बुबाको अपमान गर्छस्। #लेवी २०:११; व्य २२:३०; २७:२०
9“‘तैंले आफ्नी साक्खै दिदी-बहिनी अथवा आफ्ना आमा वा बुबापट्टिकी झट्केली छोरीसित सहवास नगर्— त्यो आफ्नै घरमा होस् कि बाहिर जन्मेर बढ़ेकी होस्। #लेवी २०:१७; व्य २७:२२
10“‘आफ्नो छोरापट्टिकी होस् कि छोरीपट्टिकी होस्, तैंले आफ्नी नातिनीसित सहवास नगर्। त्यसबाट तैंले आफ्नै अपमान गर्नेछस्।
11“‘तैंले आफ्नी सौतिनी आमापट्टिकी छोरीसित सहवास नगर्। त्यो तेरी बहिनी हो।
12“‘तैंले आफ्नी फुपूसित सहवास नगर्। त्यो तेरा बुबाकी नजिककी नातेदार हो। #लेवी २०:१९-२०
13“‘तैंले आफ्नी आमाकी दिदीबहिनीसित सहवास नगर्। त्यो तेरी आमाकी नजिककी नातेदार हो।
14“‘तैंले तेरी बड़ी-आमा कि काकीसित सहवास गरेर आफ्ना बुबाका दाजुभाइको अपमान नगर्। त्यो तेरी बड़ी-आमा अथवा काकी हो।
15“‘तैंले आफ्नी बुहारीसित सहवास नगर्। त्यो तेरो छोराकी पत्नी हो। तैंले त्यससित सहवास नगर्। #लेवी २०:१२
16“‘तैंले आफ्नी भाउजू वा भाइबुहारीसित सहवास गरेर आफ्नो दाजुभाइको अपमान नगर्। #लेवी २०:२१
17“‘कुनै स्त्री र त्यसकी छोरी दुवैसित तैंले सहवास नगर्। अनि त्यसको छोरा अथवा छोरीपट्टिकी नातिनीसित पनि सहवास नगर्। तिनीहरू नजिकका नातेदार हुन्। त्यसो गर्नु दुष्टता हो। #लेवी २०:१४; व्य २७:२३
18“‘तैंले आफ्नी पत्नीकै जीवनकालमा त्यसकी दिदी वा बहिनीलाई सौता ल्याएर सहवास नगर्।
19“‘कुनै स्त्रीका रजस्वलाको समयमा त्यससित सहवास नगर्। #लेवी २०:१८
20“‘तैंले परस्त्रीसित सहवास नगर्। त्यसरी तैंले आफूलाई अशुद्ध नपार्। #लेवी २०:१०
21“‘आफ्ना छोराछोरी मोलोखको निम्ति आगोमा चढ़ाएर आफ्ना परमेश्वरको नाउँ अपवित्र नपार्। म नै परमप्रभु हुँ। #लेवी २०:१-५
22“‘स्त्रीहरूसँगझैँ पुरुषसँग सम्भोग नगर्। त्यो घृणित कार्य हो। #लेवी २०:१३
23“‘कुनै पशु-प्राणीसित सम्भोग गरेर तैंले आफूलाई अशुद्ध नगर्। स्त्री पनि सम्भोग गर्नलाई पशु-प्राणीसित नसुतोस्। त्यो अस्वाभाविक दुराचरण हो। #प्रस २२:१९; लेवी २०:१५-१६; व्य २७:२१
24“‘यस्ता सबै कामहरूद्वारा तिमीहरू आफैलाई अशुद्ध नपार। म तिमीहरूका सामुन्नेबाट जुन जातिहरूलाई निकाल्दैछु तिनीहरू यी सबै कुरामा नै अशुद्ध भएका छन्। 25त्यसरी नै त्यो देश अशुद्ध भएको हो। अनि मैले त्यसमाथि त्यसका अधर्मको दण्ड उठाएँ, र देशले आफ्ना बासिन्दाहरूलाई उकेलेर फ्याँकिदियो। 26तर चाहे स्वदेशी होस्, चाहे तिमीहरूका बीचमा प्रवास गर्ने परदेशी होस्, तिमीहरूले मेरा विधिविधानहरू पालन गर्नू, र यस्ता घिनलाग्दा कामहरू नगर्नू। 27किनभने यस्तै सबै घिनलाग्दा कामहरू त्यस देशका पूर्वबासिन्दाहरूले गरे, र त्यो देश अशुद्ध भयो। 28मेरा विधिविधान पालन नगरेर यदि तिमीहरूले त्यस देशलाई अशुद्ध पार्यो भने त्यसका पूर्वबासिन्दालाई झैँ तिमीहरूलाई पनि त्यसले उकेलेर फ्याँकिदिनेछ।
29“‘कसैले यीमध्ये कुनै घृणित काम गर्यो भने त्यो आफ्ना मानिसहरूबाट बहिष्कार गरिओस्। 30यसकारण अघि-अघिकाहरूले गरिआएका घृणित काम तिमीहरूले चाहिँ नगर्नू र आफैलाई अशुद्ध नगर्नू भनी मैले दिएका आदेश पालन गर। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ’।”
अहिले सेलेक्ट गरिएको:
लेवीहरू 18: NNRV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012