YouVersion लोगो
खोज आइकन

यहोशू 3

3
यर्दन नदी तरेका
1यहोशू बिहान सखारै उठे, र तिनी र सबै इस्राएलीहरू शित्तीम छोड़ेर यर्दनमा आए, जहाँ पारि तर्नभन्‍दा पहिले तिनीहरू वास बसे। 2तीन दिनपछि अधिकृतहरू छाउनीका बीच-बीचमा गए, 3र मानिसहरूलाई यसो भनेर आज्ञा गरे, “जब तिमीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरको करारको सन्‍दूक, र त्‍यो बोकेर लैजाने पूजाहारीहरू र लेवीहरूलाई देख्‍छौ, तब तिमीहरू आ-आफ्‍नो ठाउँ छोड़ेर त्‍यसको पछि लाग। 4यसरी जानुपर्ने बाटो तिमीहरूले थाहा पाउँछौ— किनभने त्‍यो बाटो तिमीहरू पहिले हिँड़ेका छैनौ। तर तिमीहरू र त्‍यसको बीचमा करीब एक हजार मिटरको अन्‍तर राख। त्‍यसको नजिक नआओ।”
5यहोशूले मानिसहरूलाई भने, “तिमीहरू आफैलाई पवित्र बनाओ, किनकि भोलि तिमीहरूका बीचमा परमप्रभुले उदेकका काम गर्नुहुनेछ।”
6यहोशूले पूजाहारीहरूलाई यसो भने, “करारको सन्‍दूक उठाएर मानिसहरूका अगिअगि हिँड़।” तब तिनीहरूले करारको सन्‍दूक उठाए र मानिसहरूका अगिअगि हिँड़े।
7अनि परमप्रभुले यहोशूलाई भन्‍नुभयो, “जसरी म मोशाको साथमा थिएँ त्‍यसरी नै म तेरो साथमा पनि छु भनी यिनीहरूले थाहा पाउनलाई आजको दिनदेखि सारा इस्राएलीहरूको नजरमा तँलाई उठाउनेछु। 8करारको सन्‍दूक बोक्‍ने पूजाहारीहरूलाई तैंले यस्‍तो आज्ञा गर्नू, ‘तिमीहरू यर्दनका पानीको किनारमा आइपुग्‍नासाथ यर्दनमा खड़ा रहनू’।”
9यहोशूले इस्राएलीहरूलाई भने, “यता आओ, र परमप्रभु तिमीहरूका परमेश्‍वरका वचन सुन। 10“जीवित परमेश्‍वर तिमीहरूका बीचमा हुनुहुन्‍छ र उहाँले निश्‍चय नै तिमीहरूका सामुन्‍नेबाट कनानी, हित्ती, हिव्‍वी, परिज्‍जी, गिर्गाशी, एमोरी र यबूसीहरूलाई धपाउनुहुनेछ भन्‍ने तिमीहरूले यसैबाट थाहा पाउनेछौ। 11हेर, सारा पृथ्‍वीका परमप्रभुका करारको सन्‍दूक तिमीहरूका अगिअगि यर्दनमा जानेछ। 12अब इस्राएलका कुलहरूबाट बाह्र पुरुष, कुलैपिच्‍छे एक-एक पुरुष गरी छान। 13जब सारा पृथ्‍वीका परमप्रभुका करारको सन्‍दूक बोक्‍ने पूजाहारीहरूका पैताला यर्दनको पानीमा पर्छ, त्‍यही बेला माथिदेखि बगेर आउने यर्दनको पानी थामिनेछ, र रास लागेर अड़िरहनेछ।”
14यसकारण जब यर्दन तर्नलाई मानिसहरूले आ-आफ्‍ना पालहरू उठाए, पूजाहारीहरू करारको सन्‍दूक बोकेर मानिसहरूका अगि लागे। 15कटनीको अवधिभरि यर्दनमा बाढ़ी आइरहन्‍छ। तापनि सन्‍दूक बोक्‍ने पूजाहारीहरू यर्दनमा आइपुगेर तिनीहरूका खुट्टाले किनारको पानीमा छुने बित्तिकै 16माथिबाट आएको पानी धेरै पर, सार्तानको नजिक आदम भनिने सहरनेरै थामिएर एउटा रास भएर अड़्यो, र अराबाको समुद्र, अर्थात्‌ खारा समुद्रमा#3:16 अर्थात्‌ मृत सागरमा बगेर जाने पानी पूर्ण रूपले काटिएर सुक्‍यो। यसर्थ मानिसहरू यरीहोको पारिबाट पार तरे। 17सारा इस्राएलीहरू ओबानो जमिनमाथिबाट तरेर त्‍यस जातिका सबै मानिसहरू यर्दन पार नगरुञ्‍जेलसम्‍म परमप्रभुका करारको सन्‍दूक बोक्‍ने पूजाहारीहरू यर्दनको बीचमा ओबानो जमिनमा स्‍थिर भई खड़ा रहे।

अहिले सेलेक्ट गरिएको:

यहोशू 3: NNRV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्