YouVersion लोगो
खोज आइकन

यहोशू 14:6-15

यहोशू 14:6-15 NNRV

तब यहूदाका मानिसहरू गिलगालमा यहोशूकहाँ आए, र कनज्‍जी यपुन्‍नेका छोरा कालेबले तिनलाई भने, “परमप्रभुले कादेश-बर्नेमा मेरो र तपाईंको बारेमा परमेश्‍वरका मानिस मोशालाई भन्‍नुभएको कुरा त तपाईंलाई थाहै छ। परमप्रभुका दास मोशाले कादेश-बर्नेबाट यस देशको भेद लिन मलाई पठाउँदा म चालीस वर्षको थिएँ, र मैले आफूले बुझेअनुसारको समाचार तिनलाई ल्‍याइदिएँ। तर मसँगै जाने मेरा दाजुभाइहरूले मानिसहरूका मन भयभीत गराइदिए, तापनि म त पूर्णरूपले परमप्रभु आफ्‍ना परमेश्‍वरको पछि लागें। यसर्थ त्‍यसै दिन मोशाले शपथ खाएर मलाई यसो भने, ‘तिम्रा खुट्टाले जुन ठाउँमा टेकेर आएका छौ त्‍यो नि:सन्‍देह तिम्रो र तिम्रा सन्‍तानको अधिकारमा सदाको निम्‍ति हुनेछ, किनभने तिमी पूर्ण रूपले परमप्रभु मेरा परमेश्‍वरको पछि लागेका छौ’। “अब हेर्नुहोस्, इस्राएलीहरू उजाड़स्‍थानमा घुमफिर गर्दा परमप्रभुले मोशालाई यो कुरा भन्‍नुभएको बेलादेखि अहिले पैँतालीस वर्ष बितिसक्‍यो, र आफ्‍नो वचनअनुसार परमप्रभुले मलाई जीवितै राख्‍नुभएको छ। अब हेर्नुहोस्, म आज पचासी वर्षको भएको छु। तैपनि मलाई मोशाले पठाएको दिनमा म जति बलियो थिएँ, अहिले पनि उतिकै बलियो छु। लड़ाइँको निम्‍ति बाहिर जानलाई मेरो ताकत त्‍यस बेला जति थियो, अहिले पनि त्‍यत्ति नै छ। यसकारण अब यो पहाड़ी देश मलाई दिनुहोस्, जसको बारेमा परमप्रभुले त्‍यस दिन भन्‍नुभएको थियो। त्‍यहाँ अनाकीहरू रहन्‍छन्, उनीहरूका ठूला-ठूला गढ़ भएका सहरहरू छन्‌ भन्‍ने तपाईंले त्‍यस बेला सुन्‍नुभएकै थियो। परमप्रभुको सहायताद्वारा उहाँको वचनअनुसार म उनीहरूलाई धपाउनेछु।” तब यहोशूले यपुन्‍नेका छोरा कालेबलाई आशिष्‌ दिए, र तिनको अधिकारमा हेब्रोन दिए। यसकारण कनज्‍जी यपुन्‍नेका छोरा कालेबको अधिकारमा हेब्रोन आजसम्‍म भएको छ, किनभने तिनी पूर्ण रूपले इस्राएलका परमेश्‍वरको पछि लागेका थिए। हेब्रोनको नाउँ पहिले किर्यत-अर्बा थियो। यही अर्बा अनाकीहरूमध्‍ये सबैभन्‍दा महान्‌ पुरुष थिए। तब त्‍यस देशलाई लड़ाइँबाट विश्राम मिल्‍यो।