यहोशू 14:6-15
यहोशू 14:6-15 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब यहूदाका मानिसहरू गिलगालमा यहोशूकहाँ आए, र कनज्जी यपुन्नेका छोरा कालेबले तिनलाई भने, “परमप्रभुले कादेश-बर्नेमा मेरो र तपाईंको बारेमा परमेश्वरका मानिस मोशालाई भन्नुभएको कुरा त तपाईंलाई थाहै छ। परमप्रभुका दास मोशाले कादेश-बर्नेबाट यस देशको भेद लिन मलाई पठाउँदा म चालीस वर्षको थिएँ, र मैले आफूले बुझेअनुसारको समाचार तिनलाई ल्याइदिएँ। तर मसँगै जाने मेरा दाजुभाइहरूले मानिसहरूका मन भयभीत गराइदिए, तापनि म त पूर्णरूपले परमप्रभु आफ्ना परमेश्वरको पछि लागें। यसर्थ त्यसै दिन मोशाले शपथ खाएर मलाई यसो भने, ‘तिम्रा खुट्टाले जुन ठाउँमा टेकेर आएका छौ त्यो नि:सन्देह तिम्रो र तिम्रा सन्तानको अधिकारमा सदाको निम्ति हुनेछ, किनभने तिमी पूर्ण रूपले परमप्रभु मेरा परमेश्वरको पछि लागेका छौ’। “अब हेर्नुहोस्, इस्राएलीहरू उजाड़स्थानमा घुमफिर गर्दा परमप्रभुले मोशालाई यो कुरा भन्नुभएको बेलादेखि अहिले पैँतालीस वर्ष बितिसक्यो, र आफ्नो वचनअनुसार परमप्रभुले मलाई जीवितै राख्नुभएको छ। अब हेर्नुहोस्, म आज पचासी वर्षको भएको छु। तैपनि मलाई मोशाले पठाएको दिनमा म जति बलियो थिएँ, अहिले पनि उतिकै बलियो छु। लड़ाइँको निम्ति बाहिर जानलाई मेरो ताकत त्यस बेला जति थियो, अहिले पनि त्यत्ति नै छ। यसकारण अब यो पहाड़ी देश मलाई दिनुहोस्, जसको बारेमा परमप्रभुले त्यस दिन भन्नुभएको थियो। त्यहाँ अनाकीहरू रहन्छन्, उनीहरूका ठूला-ठूला गढ़ भएका सहरहरू छन् भन्ने तपाईंले त्यस बेला सुन्नुभएकै थियो। परमप्रभुको सहायताद्वारा उहाँको वचनअनुसार म उनीहरूलाई धपाउनेछु।” तब यहोशूले यपुन्नेका छोरा कालेबलाई आशिष् दिए, र तिनको अधिकारमा हेब्रोन दिए। यसकारण कनज्जी यपुन्नेका छोरा कालेबको अधिकारमा हेब्रोन आजसम्म भएको छ, किनभने तिनी पूर्ण रूपले इस्राएलका परमेश्वरको पछि लागेका थिए। हेब्रोनको नाउँ पहिले किर्यत-अर्बा थियो। यही अर्बा अनाकीहरूमध्ये सबैभन्दा महान् पुरुष थिए। तब त्यस देशलाई लड़ाइँबाट विश्राम मिल्यो।
यहोशू 14:6-15 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
एक दिन यहूदाका मानिसहरूले यहोशूलाई गिलगालमा भेट गरे। अनि कनज्जी यपून्नेका छोरा कालेबले तिनलाई भने, “याहवेहले तपाईं र मेरो विषयमा परमेश्वरका जन मोशालाई कादेश-बर्नेमा भन्नुभएको कुरा तपाईंलाई थाहै छ। याहवेहका सेवक मोशाले मलाई यो देशको भेद लिनलाई कादेश-बर्नेबाट पठाउँदा म चालीस वर्षको थिएँ। अनि मैले तिनलाई आफ्नो सत्य बयान दिएँ। तर मसँग माथि जाने मेरा दाजुभाइहरूले मानिसहरूको हृदय भयभीत तुल्याइदिए। तर मैलेचाहिँ याहवेह मेरा परमेश्वरलाई सम्पूर्ण हृदयले पछ्याएँ। यसकारण त्यस दिन मोशाले मसँग, ‘तेरा पाइलाले टेकेको देश सधैँको निम्ति तँ र तेरा सन्तानहरूका निम्ति उत्तराधिकारको भाग हुनेछ। किनकि तैँले याहवेह मेरो परमेश्वरलाई सम्पूर्ण हृदयले पछ्याएको छस् भनी शपथ खानुभएको थियो।’ “यसकारण जब इस्राएल उजाडस्थानमा भौँतारिँदै हिँडिरहेको बेला याहवेहले प्रतिज्ञा गर्नुभएझैँ, उहाँले यो कुरा मोशासँग भन्नुभएदेखि उसो उहाँले मलाई पैँतालीस वर्षसम्म जीवित राख्नुभएको छ। यसरी आजको दिन म पचासी वर्षको भएको छु! मोशाले मलाई जासुस गर्न पठाएको दिनमा जस्तै आज पनि म बलियो छु। म लडाइँमा जाँदा जति बलियो थिएँ, आज पनि त्यत्तिकै बलियो छु। अब त्यस दिन याहवेहले मलाई प्रतिज्ञा गर्नुभएझैँ, यो पहाडी मुलुक मलाई दिनुहोस्। त्यहाँ अनाकीहरू बस्दछन्। अनि तिनीहरूका सहरहरू ठूला र सुरक्षित छन् भनी तपाईं आफैँले सुन्नुभएको छ। तर याहवेहको सहायताले म तिनीहरूलाई धपाइदिनेछु।” तब यहोशूले यपून्नेका छोरा कालेबलाई आशिष् दिए। अनि तिनलाई तिनको उत्तराधिकारको रूपमा हेब्रोन दिए। यसरी त्यस दिनदेखि उसो हेब्रोन कनज्जी यपून्नेका छोरा कालेबको अधीनमा छ। किनकि तिनले याहवेह इस्राएलको परमेश्वरलाई सम्पूर्ण हृदयले पछ्याएका थिए। (हेब्रोनलाई किर्यत-अर्बा भनिन्थ्यो। अर्बाचाहिँ अनाकीहरू बीचका सबैभन्दा महान् मानिस थिए।) त्यसपछि देशलाई युद्धबाट विश्राम मिल्यो।
यहोशू 14:6-15 पवित्र बाइबल (NERV)
एकदिन यहूदाका कुल समूहबाट केही मानिसहरू गिलगालमा यहोशूकहाँ गए। ती मानिसहरू मध्ये एकजना कनज्जी-यपुन्नेका छोरा कालेब थिए। कालेबले यहोशूलाई भने, “परमप्रभुले कादेशबर्नेमा तपाईं र मेरो विषयमा उहाँको दास मोशालाई भन्नु भएका कुराहरू तपाईंलाई याद छ। हामी जहाँ जाँदै थियौं परमप्रभुका दास मोशाले मलाई भूमि हेर्न पठाउनुभयो। त्यस समयमा म चालीस बर्षको थिएँ। जब म फर्कें, जो यसको बारेमा ईमान्दारी साथ मैले अनुभव गरेको थिएँ। मैले मोशालाई भने। ती अन्य मानिसहरू जो मसित गएका थिए तिनीहरूले मानिसहरूलाई ती कुराहरू भने जसले तिनीहरूलाई भयभीत तुल्याए। तर म साँच्ची नै विश्वास गरें कि परमप्रभुले त्यो भूमि हामीलाई दिनुहुनेछ। यसकारण त्यसदिन मोशाले मसित एउटा प्रतिज्ञा गरे। तिनले भने, ‘त्यो भूमि जहाँ तिमी गयौ त्यो तिम्रो हुनेछ। तिम्रा छोरा-छोरीहरू सदाका निम्ति त्यो भूमिको मालिक हुनेछन्। म त्यो भूमि तिमीलाई दिनेछु। किनभने तिमीले साँच्चै नै परमप्रभु, मेरा परमेश्वर माथि विश्वास गरेका छौ।’ “अहिले, परमप्रभुले भन्नु भए अनुसार पैंतालीस बर्ष सम्म उहाँले मलाई जीवित राख्नु भएको छ। त्यस समयमा हामी सबै मरुभूमिमा बिनाकाम घुमि-हिँड्यौं। अहिले म पचासी बर्ष पुगें। म अझै उतिकै बलियो छु जतिबेला मोशाले मलाई बाहिर पठाएका थिएँ। म त्यसबेला जस्तै आज पनि युद्ध गर्न सक्छु। यसर्थ अब मलाई त्यो पहाडी देश दिनुहोस् जो परमप्रभुले धेरै अघि मलाई वचन दिनु भएको थियो। त्यससमय तपाईंले सुन्नु भयो कि शक्तिशाली अनाकी मानिसहरू त्यहाँ बस्थे। अनि शहरहरू अत्यन्त ठूला र सुरक्षित थिए। तर अब, हुन सक्छ, परमप्रभु मेरो साथ हुनुहुन्छ अनि परमप्रभुले भन्नु भए झैं त्यो भूमि म लिने छु।” यहोशूले यपुन्नेका छोरा कालेबलाई आशीर्वाद दिए। यहोशूले तिनलाई आफ्नै हुने गरी हेब्रोन शहर दिए। अनि त्यो शहर अझ पनि कनिज्जी यपुन्नेका छोरा कालेबको अधीनमा छ किनभने उसले परमप्रभु इस्राएलका परमेश्वर प्रति विश्वास गरे अनि उहाँको आदेश पालन गरे। पहिले त्यो शहरलाई कितर्यर्बा भनिन्थ्यो। शहरको नाउँ अनाकी मानिसहरू मध्ये सबै भन्दा महान मानिस अर्बाको नाउँमा राखिएको थियो। त्यसपछि, त्यो भूमिमा शान्ति छायो।
यहोशू 14:6-15 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
एक दिन यहूदा कुलका केही मानिसहरू गिलगालमा यहोशूकहाँ आए। तिनका बीचबाट एक जना कनज्जी यपुन्नेको छोरो कालेबले उनलाई भने, “परमेश्वरका भक्त जन मोशालाई परमप्रभुले कादेश-बर्नेमा म र तपाईंबारे के भन्नुभयो, सो तपाईं जान्नुहुन्छ। परमप्रभुको सेवक मोशाले मलाई कादेश-बर्नेबाट यस देशको भेद लिन पठाउँदा मेरो उमेर चालीस वर्ष थियो। मैले तिनलाई आफ्नो सत्य बयान ल्याइदिएँ। तरै पनि मसँग जाने मानिसहरूले हाम्रा मानिसहरूलाई डरमा पारे। तर मैले विश्वाससाथ परमप्रभु मेरा परमेश्वरको आज्ञा मानें। मैले त्यसो गरेको हुनाले मोशाले मलाई प्रतिज्ञा गरेका थिए कि मैले पाइला टेकेको देश निश्चय म र मेरा सन्तानले सम्पत्तिका रूपमा पाउनेछौं। तर अहिले हेर्नुहोस्, परमप्रभुले मोशालाई त्यसो भन्नुभएको पैँतालीस वर्ष भइसक्यो। त्यो बेला इस्राएलीहरू उजाड-स्थानका बीच नै घुमफिर गरिरहेका थिए। त्यसपछि आजसम्म परमप्रभुले आफ्नो प्रतिज्ञाअनुसार मलाई जिउँदै राख्नुभएको छ। मलाई हेर्नुहोस्! म पचासी वर्ष पुगिसकें अनि मोशाले पठाउँदा जति बलियो थिएँ, आज म उत्तिकै बलियो छु। लडाइँको निम्ति बाहिर जानलाई मेरो ताकत त्यस बेला जति थियो, अहिले पनि त्यतिकै छ र अब मलाई त्यो पहाडी देश दिनुहोस्, जुन परमप्रभुले म र मेरा मानिसहरूले आफ्नो बयान दिएको दिन मलाई दिने प्रतिज्ञा गर्नुभएको थियो। हामीले त्यस बेला तपाईंहरूलाई भनेका थियौं कि अनाकी भनिने दैँत्यहरू जस्ता त्यहाँ ठूल्ठूला पर्खाल लाएका सहरहरूमा बस्दथे। हुन सक्छ परमप्रभु मसँग रहनुहुनेछ र उहाँको वचनअनुसार म तिनीहरूलाई धपाउनेछु।” यहोशूले यपुन्नेको छोरो कालेबलाई आशीर्वाद दिए र हेब्रोन सहर उनको सम्पत्तिको रूपमा दिइहाले। हेब्रोन अझ पनि कनज्जी यपुन्नेको छोरा कालेबका सन्तानका हातमा छ किनकि उनले विश्वासयोग्यसाथ परमप्रभु इस्राएलका परमेश्वरको आज्ञापालन गरेका थिए। त्यसअघि हेब्रोनलाई किर्यत-अर्बाको सहर भनिन्थ्यो। (अर्बा अनाकीहरूमध्ये सबैभन्दा महान् थियो।) त्यसपछि देशमा शान्ति भयो।