YouVersion लोगो
खोज आइकन

अय्‍यूब 31:1-35

अय्‍यूब 31:1-35 NNRV

कुनै स्‍त्रीलाई कुदृष्‍टिले नहेर्ने मैले मेरा आँखासित वाचा बाँधे। मानिसको निम्‍ति परमेश्‍वरले स्‍वर्गबाट ठहराउनुभएको भाग कुनचाहिँ हो? उँभोबाट सर्वशक्तिमान्‌ले दिनुभएको सम्‍पत्ति? के दुराचारीको लागि नाश, खराबी गर्नेहरूको लागि विपत्ति होइन र? के परमेश्‍वर आफैले मेरा चाल देख्‍नुहुन्‍न र? र मेरो हरेक पाइला गन्‍नुहुन्‍न र? यदि म झूटा कुरामा हिँड़ेको छु अथवा मेरा पाउ छलको पछि हिँड़ेका भए, न्‍यायको तराजूमा परमेश्‍वरले मलाई तौलून्‌ र उहाँले जान्‍नुहुनेछ कि म निर्दोष छु। यदि मेरो पाइला सोझो बाटोदेखि तर्किएको छ भने, यदि मेरो मनले आँखाको इच्‍छाअनुसार गरेको छ भने अथवा मेरो हातमा मैला टाँसिएको छ भने, मैले रोपेको अन्‍न अर्काले खाओस्‌ र मेरा बाली जरैसमेत उखेलिऊन्‌! यदि मेरो हृदय कुनै स्‍त्रीले मोहित पारेको रहेछ भने अथवा मेरा छिमेकीहरूको ढोकामा म ढुकिबसेको छु भने, मेरी पत्‍नी अर्को मानिसको कमारी भइजाओस्‌ र अरू मानिसहरूले त्‍यससित सम्‍भोग गरून्‌। किनभने त्‍यो त दुष्‍ट कर्म हो, न्‍याय गरिने एउटा अपराध हो। त्‍यो ता भस्‍म गर्ने र नाश गर्ने आगो हुनेछ, चारैतिर मेरो बालीलाई खाने भयङ्कर आगो। “यदि मैले मेरो दास वा दासीलाई इन्‍साफ इन्‍कार गरेको भए, तिनीहरूले मकहाँ आफ्‍नो उजूर ल्‍याउँदा मैले त्‍यो इन्‍कार गरेको छु भने, परमेश्‍वरले मेरो सामना गर्नुहुँदा म के गरुँला? उहाँले लेखा लिनुहुँदा मैले के जवाफ दिने? गर्भमा मलाई रच्‍नुहुनेले तिनीहरूलाई पनि रच्‍नुभएको होइन र? के एउटै परमेश्‍वरले हामीलाई गर्भमा सृष्‍टि गर्नुभएको होइन र? यदि गरीबहरूलाई तिनीहरूले चाहेका कुरा इन्‍कार गरेको छु भने अथवा विधवाको आँखा आँसुले धमिल्‍याइदिएको छु भने, यदि मैले मेरो गाँस एकलै खाएको छु भने र टुहुरा-टुहुरीसित त्‍यो बाँड़ेको छैन भने— तर मैले त टुहुरो केटालाई त्‍यसको बुबालेजस्‍तै पालनपोषण गरें। र मैले आफू जन्‍मेको दिनदेखि नै विधवालाई डोर्‍याएँ। यदि मैले कसैलाई लुगाफाटाको अभावले नष्‍ट भएको अथवा कुनै गरीब मानिसलाई ओढ्‌ने नभएको देखेको छु भने, र मेरो भेड़ाको ऊनले त्‍यसलाई न्‍यानो पार्न नदिएको कारण त्‍यसले मलाई हृदयसमेतले प्रशंसा गरेको छैन भने, मानिसहरूले अदालतमा मेरो प्रभाव छ भनी जानेर पनि यदि मैले मेरो हात टुहुरा-टुहुरीहरूमाथि उठाएको छु भने, मेरो पाता काँधबाट खुस्‍कोस्, मेरो पाखुरा जोर्नीबाट खुस्‍कोस्‌! तर परमेश्‍वरको त्रास ममाथि साह्रै नै परेको थियो, अनि उहाँको महामहिमाको डरले गर्दा मैले यी सबै कुरा गर्न सकिनँ। “यदि मैले सुनमा मेरो भरोसा राखेको भए, वा ‘तँ मेरो सुरक्षा होस्‌’ भनी निखुर सुनलाई यो भनेको छु भने, यदि मैले मेरो धन-सम्‍पत्तिमा र सम्‍पत्तिको बढ्‌तीमा रमाहट गरेको भए, यदि मैले सूर्यको प्रतापलाई अथवा चन्‍द्रमाको सम्‍पूर्ण सौन्‍दर्यलाई हेरेर, मेरो हृदयलाई गुप्‍तमा बहकाएको भए र तिनलाई पूज्‍न मेरा हात उठाएको भए, ती ता इन्‍साफ गरिने योग्‍यका पाप हुनेथिए, किनभने स्‍वर्गमा हुनुहुने परमेश्‍वरको विरुद्धमा म अविश्‍वासी हुनेथिएँ। मेरा विरोधीहरूका विनाशलाई देखेर म रमाएको छु भने, अथवा दु:खले त्‍यसलाई घेर्दा म खुशी भएको छु भने, ‘त्‍यो मरिजाओस्‌’ भनी सराप दिएर मैले कहिल्‍यै पाप गरिनँ। मेरो निम्‍ति काम गर्ने सबै मानिसहरूले यो कहिल्‍यै नभनेको भए, “अय्‍यूबको भोजबाट को तृप्‍त भएको छैन र?” तर परदेशीहरूलाई राती सड़कहरूमा सुत्‍न परेको छैन, किनकि यात्रुको लागि मेरो घर सधैँ खुल्‍ला थियो। अरू मानिसहरूले आफ्‍ना पाप लुकाउन चेष्‍टा गरेझैँ, मैले मेरो हृदयमा मेरा पाप लुकाएको छु भने, किनकि भीड़ले के भन्‍लान्‌ भनी म डराएँ, र कुटुम्‍बहरूका गिल्‍लाको डरले, म चूप लागि बसें, घरभित्रै बसिरहेँ। (म जे भनिरहेछु कसैले सुनिदिने भए ता, म शपथ खाएर भन्‍दछु, कि एक-एक कुरा सत्‍य छ, सर्वशक्तिमान्‌ परमेश्‍वरले जवाफ देऊन्‌! मेरा विरोधीहरूले मेरो विरुद्धमा ल्‍याएका दोषहरू लेखिदेऊन्।