YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 4:27-36

यूहन्‍ना 4:27-36 NNRV

त्‍यति नै बेला उहाँका चेलाहरू आए, र उहाँलाई एउटी स्‍त्रीसँग कुरा गरिरहनुभएको देखेर छक्‍क परे, तर “तपाईं के चाहनुहुन्‍छ?” अथवा “तपाईं त्‍यस स्‍त्रीसँग किन बातचीत गर्दैहुनुहुन्‍छ?” भनेर कसैले सोधेनन्‌। तब त्‍यो स्‍त्री आफ्‍नो गाग्रो छोड़ेर नगरतिर गई, र मानिसहरूलाई भनी, “आओ, एक जना मानिसलाई हेर, जसले मैले गरेका सबै काम मलाई बताइदिनुभयो। कतै उहाँ नै ख्रीष्‍ट त हुनुहुन्‍न?” तब तिनीहरू नगरबाट निस्‍केर उहाँकहाँ गए। यसै बीचमा चेलाहरूले उहाँलाई यसो भनेर बिन्‍ती गरे, “रब्‍बी, भोजन गर्नुहोस्‌।” तर उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मसित खानलाई भोजन छ, जो तिमीहरूलाई थाहा छैन।” यसकारण चेलाहरूले आपसमा भने, “के कसैले उहाँलाई भोजन ल्‍याइदियो कि कसो?” येशूले तिनीहरूलाई भन्‍नुभयो, “मलाई पठाउनुहुनेको इच्‍छाअनुसार गर्नु, र उहाँको काम पूरा गर्नु नै मेरो भोजन हो। के तिमीहरू भन्‍दैनौ, ‘अझ चार महिना बाँकी छ, तब बाली काट्‌ने बेला आउँछ?’ म तिमीहरूलाई भन्‍दछु, आफ्‍ना आँखा उचालेर खेतबारी हेर, बाली कटनीको निम्‍ति पाकिसकेको छ। जसले बाली काट्‌छ त्‍यसले ज्‍याला पाउँछ, र अनन्‍त जीवनको लागि फल बटुल्‍छ, र छर्ने र कटनी गर्ने एकसाथ रमाउँछन्‌।