YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 20:19-31

यूहन्‍ना 20:19-31 NNRV

त्‍यही दिन, अर्थात्‌ हप्‍ताको पहिलो दिनको साँझ, जब यहूदीहरूको डरले चेलाहरू ढोकाहरू बन्‍द गरेर भित्र बसेका थिए, येशू आएर तिनीहरूका माझमा उभिनुभयो, र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूलाई शान्‍ति!” यति भनेर उहाँले तिनीहरूलाई आफ्‍ना हात र कोखा पनि देखाउनुभयो। प्रभुलाई देखेर चेलाहरू अति खुसी भए। तब येशूले फेरि तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूलाई शान्‍ति! जसरी पिताले मलाई पठाउनुभयो, त्‍यसरी म पनि तिमीहरूलाई पठाउँदछु।” अनि यति भनेर उहाँले तिनीहरूमाथि श्‍वास फुकेर भन्‍नुभयो, “पवित्र आत्‍मा लेओ। जसका पाप तिमीहरू क्षमा गर्छौ, तिनीहरूलाई क्षमा हुन्‍छ, र जसका पाप तिमीहरू क्षमा गर्दैनौ क्षमा हुनेछैन। येशू आउनुहुँदा बाह्र जनामध्‍ये एक जना, दिदुमस भन्‍ने थोमाचाहिँ, तिनीहरूसँग थिएनन्‌। यसकारण अरू चेलाहरूले तिनलाई भने, “हामीले प्रभुलाई देख्‍यौं।” तर तिनले उनीहरूलाई भने, “जबसम्‍म म उहाँका हातमा कीलाहरूका डोब देख्‍दिनँ, र कीलाहरूका डोबमा मेरा औँला हाल्‍दिनँ, उहाँको कोखामा मेरो हात हाल्‍दिनँ, तबसम्‍म म विश्‍वास गर्नेछैनँ।” आठ दिनपछि उहाँका चेलाहरू फेरि घरभित्रै थिए। थोमा पनि तिनीहरूसँग थिए। ढोकाहरू बन्‍द थिए, तर येशू भित्र प्रवेश गर्नुभयो, र माझमा उभिएर भन्‍नुभयो, “तिमीहरूलाई शान्‍ति!” तब उहाँले थोमालाई भन्‍नुभयो, “तिम्रो औँला यहाँ राख, र मेरा हातहरू हेर। तिम्रो हात बढ़ाएर मेरो कोखामा हाल। शङ्का नगर, तर विश्‍वासी होऊ।” थोमाले उहाँलाई भने, “मेरा प्रभु, र मेरा परमेश्‍वर!” येशूले तिनलाई भन्‍नुभयो, “तिमीले मलाई देखेको कारणले ममाथि विश्‍वास गरेका हौ? धन्‍य हुन्‌ तिनीहरू, जसले मलाई देखेका छैनन्, र पनि विश्‍वास गर्छन्‌।” येशूले अरू धेरै चिन्‍हहरू चेलाहरूका सामुन्‍ने गर्नुभयो, जुनचाहिँ यस पुस्‍तकमा लेखिएका छैनन्‌। तर यी लेखिएका छन्, कि तिमीहरूले येशू परमेश्‍वरका पुत्र, ख्रीष्‍ट हुनुहुन्‍छ भनी विश्‍वास गर, र विश्‍वासद्वारा उहाँको नाउँमा तिमीहरूलाई जीवन प्राप्‍त होस्‌।