यूहन्ना 20:19-31
यूहन्ना 20:19-31 पवित्र बाइबल (NERV)
हप्ताको पहिलो दिन थियो। चेलाहरू त्यो बेलुकी भेला भएका थिए। यहूदीहरूको डरले दैलोहरू बन्द थियो। तब येशू आउनु भयो र तिनीहरूका सामुने उभिनु भयो। येशूले भन्नुभयो “शान्ति तिमीहरूसँग रहोस्।” येशूले यति भने पछि उहाँले आफ्ना हात र कोखा देखाउनु भयो। तब चेलाहरूले प्रभुलाई देखेर अति खुशी भए। त्यसपछि येशूले फेरि भन्नुभयो, “शान्ति तिमीहरूसँग रहोस्। पिताले मलाई पठानु भयो। त्यस्तै प्रकारले अब म तिमीहरूलाई पठाइरहेछु।” यती भनिसके पछि, येशूले चेलाहरूमाथि श्वास फुकेर भन्नुभयो, “पवित्र आत्मा लेओ। यदि तिमीहरूले मानिसहरूका पाप क्षमा गरिदियौ भने तिनीहरूका पापहरू क्षमा हुनेछ। यदि त्यसो गरेनौ भने तिनीहरूका पापहरू क्षमा हुनेछैन्।” थोमा जसलाई दिदुमस भनिन्छ, येशू चेलाहरूकहाँ आउनु हुँदा थिएनन्। बाह्रजना मध्ये थोमा एकजना थिए। अरू चेलाहरूले थोमालाई भने, “हामीले प्रभुलाई देख्यौं।” थोमाले भने, “म त्यति बेला सम्म विश्वास गर्दिन जबसम्म काँटीले छेडिएका दागहरू उहाँको हातमा देख्दिन अनि औंला त्यो काँटीको दागहरूमा राख्दिन र उहाँको कोखामा मेरो हात राख्दिन।” एक हप्तापछि सबैजना चेलाहरू घरमा जम्मा भएका थिए। थोमा तिनीहरूसँग थिए। दैलो बन्द थियो, तर येशू आउनु भयो र तिनीहरू समक्ष उभिनु भयो। उहाँले भन्नुभयो, “शान्ति तिमीहरूमा रहोस्।” त्यसपछि येशूले थोमालाई भन्नुभयो, “आऊ तिम्रो औंला यहाँ छिराऊ। मेरा हातहरू हेर, तिम्रो हात मेरा कोखमा पसाउ। शंका गर्न छोड अनि विश्वास गर्न थाल।” थोमाले येशूलाई भने, “मेरा प्रभु र मेरा परमेश्वर!” येशूले थोमालाई भन्नुभयो, “तिमीले मलाई विश्वास गर्यौ किनभने तिमीले मलाई देख्यौ। ती मानिसहरू धन्य हुन् जस-जसले मलाई नदेखिकनै विश्वास गरे।” येशूले धेरै अरू चमत्कारहरू देखाउनु भएको उहाँका चेलाहरूले देखेका थिए। ती चमत्कारहरू यस पुस्तकमा लेखिएको छैन। तर ती कुराहरू लेखिए ताकि तिमीहरूले विश्वास गर्न सक्छौ कि येशू नै ख्रीष्ट हुन्; जो परमेश्वरको पुत्र हुन् भनि जब तिमीहरू उहाँलाई विश्वास गर्छौ, तिमीहरूले उहाँको नाममा जीवन पाउन सक्छौं।
यूहन्ना 20:19-31 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
त्यही दिन, अर्थात् हप्ताको पहिलो दिनको साँझ, जब यहूदीहरूको डरले चेलाहरू ढोकाहरू बन्द गरेर भित्र बसेका थिए, येशू आएर तिनीहरूका माझमा उभिनुभयो, र तिनीहरूलाई भन्नुभयो, “तिमीहरूलाई शान्ति!” यति भनेर उहाँले तिनीहरूलाई आफ्ना हात र कोखा पनि देखाउनुभयो। प्रभुलाई देखेर चेलाहरू अति खुसी भए। तब येशूले फेरि तिनीहरूलाई भन्नुभयो, “तिमीहरूलाई शान्ति! जसरी पिताले मलाई पठाउनुभयो, त्यसरी म पनि तिमीहरूलाई पठाउँदछु।” अनि यति भनेर उहाँले तिनीहरूमाथि श्वास फुकेर भन्नुभयो, “पवित्र आत्मा लेओ। जसका पाप तिमीहरू क्षमा गर्छौ, तिनीहरूलाई क्षमा हुन्छ, र जसका पाप तिमीहरू क्षमा गर्दैनौ क्षमा हुनेछैन। येशू आउनुहुँदा बाह्र जनामध्ये एक जना, दिदुमस भन्ने थोमाचाहिँ, तिनीहरूसँग थिएनन्। यसकारण अरू चेलाहरूले तिनलाई भने, “हामीले प्रभुलाई देख्यौं।” तर तिनले उनीहरूलाई भने, “जबसम्म म उहाँका हातमा कीलाहरूका डोब देख्दिनँ, र कीलाहरूका डोबमा मेरा औँला हाल्दिनँ, उहाँको कोखामा मेरो हात हाल्दिनँ, तबसम्म म विश्वास गर्नेछैनँ।” आठ दिनपछि उहाँका चेलाहरू फेरि घरभित्रै थिए। थोमा पनि तिनीहरूसँग थिए। ढोकाहरू बन्द थिए, तर येशू भित्र प्रवेश गर्नुभयो, र माझमा उभिएर भन्नुभयो, “तिमीहरूलाई शान्ति!” तब उहाँले थोमालाई भन्नुभयो, “तिम्रो औँला यहाँ राख, र मेरा हातहरू हेर। तिम्रो हात बढ़ाएर मेरो कोखामा हाल। शङ्का नगर, तर विश्वासी होऊ।” थोमाले उहाँलाई भने, “मेरा प्रभु, र मेरा परमेश्वर!” येशूले तिनलाई भन्नुभयो, “तिमीले मलाई देखेको कारणले ममाथि विश्वास गरेका हौ? धन्य हुन् तिनीहरू, जसले मलाई देखेका छैनन्, र पनि विश्वास गर्छन्।” येशूले अरू धेरै चिन्हहरू चेलाहरूका सामुन्ने गर्नुभयो, जुनचाहिँ यस पुस्तकमा लेखिएका छैनन्। तर यी लेखिएका छन्, कि तिमीहरूले येशू परमेश्वरका पुत्र, ख्रीष्ट हुनुहुन्छ भनी विश्वास गर, र विश्वासद्वारा उहाँको नाउँमा तिमीहरूलाई जीवन प्राप्त होस्।
यूहन्ना 20:19-31 नेपाली समकालीन संस्करण (NCV)
हप्ताको त्यो पहिलो दिनको साँझमा, चेलाहरू, यहूदी अगुवाहरूको डरले ढोकाहरू बन्द गरी भेला भएकै बेलामा येशू तिनीहरूका बीचमा आउनुभयो, र त्यहाँ उभिएर तिनीहरूलाई भन्नुभयो, “तिमीहरूलाई शान्ति होस्!” यति भनिसक्नुभएपछि येशूले आफ्ना हातहरू र कोखा तिनीहरूलाई देखाउनुभयो। तब प्रभुलाई देखेर चेलाहरू अत्यन्तै आनन्दित भए। येशूले तिनीहरूलाई फेरि भन्नुभयो, “तिमीहरूलाई शान्ति होस्! पिताले मलाई पठाएझैं, म पनि तिमीहरूलाई पठाउँदैछु।” त्यसपछि उहाँले तिनीहरूमाथि आफ्नो सास फुकिदिनुभयो र भन्नुभयो, “पवित्र आत्मा लेओ। यदि तिमीहरूले कसैको पाप क्षमा गर्यौ भने ती क्षमा हुन्छन्, र तिमीहरूले क्षमा गरेनौ भने, ती क्षमा हुनेछैनन्।” बाह्र चेलाहरूमध्ये एकजना “दिदुमस” भन्ने थोमा येशू आउनुहुँदा त्यहाँ थिएनन्। “हामीले प्रभुलाई देख्यौं” भनेर अरू चेलाहरूले थोमालाई भने। तर तिनले तिनीहरूलाई यसो भने, “उहाँको हातमा काँटीहरूका चोट नदेखेसम्म, र मैले मेरा औंलाहरू त्यहाँ नहालेसम्म, अनि उहाँको कोखामा हात नराखेसम्म, म यो कुरा विश्वास गर्नेछैनँ।” एक हप्तापछि उहाँका चेलाहरू फेरि घरमा भेला हुँदा, थोमा पनि तिनीहरूसँग थिए। ढोका बन्द भए तापनि येशू तिनीहरूका बीचमा आउनुभयो, र तिनीहरूका सामु उभिएर उहाँले भन्नुभयो, “तिमीहरूलाई शान्ति होस्!” त्यसपछि थोमालाई उहाँले भन्नुभयो, “तिम्रा औंलाहरू यहाँ राख, मेरा हातहरू हेर; र तिम्रा हात मेरा कोखामा राख। अबदेखि उसो, अविश्वासी नहोऊ, तर विश्वास गर।” थोमाले उहाँलाई भने, “मेरा प्रभु, मेरा परमेश्वर!” त्यसपछि येशूले तिनलाई भन्नुभयो, “तिमीले मलाई देखेको कारण विश्वास गरेका छौ; तर मलाई नदेखिकन पनि विश्वास गर्नेहरू धन्यका हुन्।” येशूले आफ्ना चेलाहरूका अघि अरू पनि धेरै अलौकिक चिन्हहरू गर्नुभयो, जुन यस पुस्तकमा लेखिएका छैनन्। तर यो लेखिएको छ कि, तिमीहरूले येशू नै परमेश्वरका पुत्र, ख्रीष्ट हुनुहुन्छ भनेर विश्वास गर; र विश्वास गरेको कारणले तिमीहरूले उहाँको नाउँमा जीवन प्राप्त गर्न सक।
यूहन्ना 20:19-31 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
त्यही आइतबारको दिन बेलुकी चेलाहरू यहूदी अगुवाहरूको डरले ढोका थुनेर बसिरहेका थिए। त्यति नै बेला येशू अचानक आएर तिनीहरूका बीचमा उभिएर भन्नुभयो, “तिमीहरूलाई शान्ति होस्!” अनि येशूले आफ्नो हात र कोखा देखाउनुभयो। प्रभुलाई देख्दा ती चेलाहरू खुसी भए। येशूले फेरि भन्नुभयो, “तिमीहरूलाई शान्ति होस्! जसरी मलाई मेरा पिताले पठाउनुभयो, त्यसरी नै म पनि तिमीहरूलाई पठाउँदै छु।” त्यसपछि उहाँले तिनीहरूमाथि आफ्नो सास फुक्नुभयो र भन्नुभयो, “अब पवित्र आत्मा लेओ। जसको पाप तिमीहरूले क्षमा गरिदिन्छौ, त्यसको पाप क्षमा भएर मेटिनेछ, तर जसको पाप तिमीहरूले क्षमा गरिदिँदैनौ, तिनीहरूले क्षमा पाउँदैनन्।” येशू चेलाहरूका बीचमा आउनुहुँदा जुम्ल्याहा भनिने थोमाचाहिँ त्यहाँ थिएनन्। अरू चेलाहरूले उनलाई ‘हामीले प्रभुलाई देख्यौं’ भनेर बताए। तर थोमाले भने, “जबसम्म म आफैंले उहाँका हातमा काँटीको डोब देख्तिनँ र आफ्नै औँलाले त्यो काँटीको डोब छुँदिनँ र मेरो हातले उहाँको कोखामा छाम्दिनँ, तबसम्म म विश्वासै गर्दिनँ!” एक हप्तापछि चेलाहरू घरमा ढोका थुनेर बसिरहेका थिए। यसपल्टचाहिँ थोमा पनि तिनीहरूसँगै थिए। ढोका थुनिएकै बेलामा येशूले तिनीहरूको बीचमा आएर भन्नुभयो, “तिमीहरूलाई शान्ति होस्!” थोमालाई आफ्नो हात देखाएर भन्नुभयो, “यहाँ हेर, तिम्रो औँलाले मेरा हातमा छोऊ र मेरो कोखामा छाम! शङ्का होइन तर विश्वास गर।” त्यही बेला थोमाले “हे मेरा प्रभु, हे मेरा परमेश्वर!” भन्दै येशूको पाउमा परे अनि येशूले भन्नुभयो, “थोमा, तिमीले त मलाई देखेर विश्वास गरेका छौ, तर नदेखी विश्वास गर्नेहरू कति धन्यका हुन्।” यस पुस्तकमा नलेखिएका धेरै अरू शक्तिशाली चिन्हहरू र कामहरू पनि येशूले चेलाहरूको सामु गर्नुभयो। तिमीहरूले मुक्ति दिने राजा परमेश्वरका पुत्र येशूमा विश्वास गर भनेर यो पुस्तक लेखिएको हो। उहाँमा विश्वास गरेर अनन्त जीवन पाओ।