मलाई किन सोध्नुहुन्छ? मैले तिनीहरूलाई के भनें सो सुन्नेहरूलाई नै सोध्नुहोस्। मैले भनेका कुराहरू यिनीहरूलाई थाहा छ।”
येशूले यी कुरा भन्नुहुँदा नजिकमा उभिएका पहरेदारहरूमध्ये एक जनाले यसो भन्दै येशूलाई थप्पड़ लायो, “के प्रधान पूजाहारीलाई यसरी जवाफ दिन्छस्?”
येशूले त्यसलाई भन्नुभयो, “मैले बेठीक भनेको भए त्यसको प्रमाण देऊ, तर यदि मैले ठीकै भनेको हुँ भने मलाई किन हिर्काउँछौ?” तब हन्नासले उहाँलाई बाधिँएकै अवस्थामा प्रधान पूजाहारी कैयाफाकहाँ पठाए।
सिमोन पत्रुस उभिएर आगो ताप्दैथिए। तिनीहरूले तिनलाई भने, “के उनका चेलाहरूमध्ये एक जना तिमी पनि होइनौ?”
तिनले इन्कार गरेर भने, “म होइनँ।”
प्रधान पूजाहारीका कमाराहरूमध्ये एक जना, जसका नातेदारको कान पत्रुसले काटेका थिए, त्यसले सोध्यो, “के मैले तिमीलाई तिनीसँग बगैँचामा देखिनँ र?” तब फेरि पत्रुसले इन्कार गरे। अनि तुरुन्तै भाले बास्यो।
तब तिनीहरूले येशूलाई कैयाफाको घरबाट महलतिर लगे। त्यति बेला बिहानपख थियो। बिटुलिएर निस्तार-चाड़को भोज खान पाउँदैनौं भन्ने डरले तिनीहरू महलभित्र पसेनन्। यसकारण तिनीहरूकहाँ बाहिर निस्केर पिलातसले भने, “यस मानिसको विरुद्धमा तिमीहरू के अभियोग लाउँछौ?”
तिनीहरूले उनलाई भने, “यदि यो मानिस अपराधी नभए हामी यसलाई तपाईंकहाँ सुम्पनेथिएनौं।”
पिलातसले तिनीहरूलाई भने, “तिमीहरू यिनलाई लैजाओ, र तिमीहरूको आफ्नै व्यवस्थाबमोजिम यिनको इन्साफ गर।”
यहूदीहरूले उनलाई भने, “कुनै मानिसलाई प्राणदण्ड दिने अधिकार हामीलाई छैन।” उहाँको मृत्यु कुन रीतिले हुनेछ त्यसको सङ्केत दिएर उहाँले भन्नुभएको वचन पूर्ण होस् भनेर यसो भएको थियो।
पिलातस फेरि महलभित्र पसे, र उनले येशूलाई बोलाएर भने, “के तिमी यहूदीहरूका राजा हौ?”
येशूले जवाफ दिनुभयो, “तपाईं आफै यसो भन्नुहुन्छ, वा मेरो विषयमा तपाईंलाई अरू कसैले भने?”
पिलातसले जवाफ दिए, “के म यहूदी हुँ र? तिम्रै जाति र मुख्य पूजाहारीहरूले तिमीलाई मेरो हातमा सुम्पिदिए। तिमीले के गर्यौ?”
येशूले जवाफ दिनुभयो, “मेरो राज्य यस संसारको होइन। मेरो राज्य यस संसारको हुँदो हो त मेरा सेवकहरू मेरो निम्ति लड्नेथिए, र म यहूदीहरूका हातमा पर्नेथिइनँ। तर मेरो राज्य यस संसारको होइन।”
पिलातसले उहाँलाई सोधे, “के तिमी राजा नै हौ त?”
येशूले जवाफ दिनुभयो, “म राजा हुँ भनी तपाईं नै भन्नुहुन्छ। यसैको निम्ति म जन्मेको हुँ, र यसैको निम्ति सत्यको गवाही दिन म यस संसारमा आएको हुँ। प्रत्येक जो सत्यको पक्षमा छ, त्यसले मेरो सोर सुन्छ।”
पिलातसले उहाँलाई सोधे, “सत्य के हो?” यति भनेर उनी यहूदीहरूकहाँ बाहिर निस्केर गए, र तिनीहरूलाई भने, “म यिनमा केही दोष भेट्टाउँदिनँ। निस्तार-चाड़मा एक जनालाई मैले तिमीहरूका निम्ति छोडिदिने तिमीहरूको प्रथा छ। त के तिमीहरू चाहन्छौ, कि यहूदीहरूका राजालाई छोडिदिऊँ?”
तर तिनीहरू फेरि यसो भन्दै कराए, “यसलाई होइन, तर बारब्बालाई।” बारब्बाचाहिँ डाँकू थियो।