YouVersion लोगो
खोज आइकन

न्यायकर्ताहरू 7:16-25

न्यायकर्ताहरू 7:16-25 NNRV

तिनले ती तीन सय जना मानिसहरूलाई तीन दलमा विभक्त गरे, र हरेक मानिसलाई एउटा तुरही, र भित्र राँको भएको एउटा रित्तो गाग्रो दिए। तब तिनले तिनीहरूलाई भने, “मलाई हेर, मेरो पछि लाग। जब म छाउनीको छेउमा पुग्‍छु, तब म जसो गर्छु तिमीहरू पनि त्‍यसै गर। जब म र मेरा मानिसहरूले आफ्‍ना तुरही फुक्‍छौं, तब तिमीहरूले पनि छाउनीका चारैतिर तिमीहरूका तुरही फुक, र कराएर भन, ‘परमप्रभुको निम्‍ति र गिदोनको निम्‍ति’!” गिदोन र तिनीसँग भएका एक सय मानिसहरू राती दश बजे छाउनीको छेउमा पुगे। पहरा-चौकीको पालो भर्खर फेरेको थियो। तिनीहरूले आफ्‍ना तुरही फुके र आफ्‍ना हातमा भएका गाग्रा फुटाए। ती तीनै दल सबैले आ-आफ्‍नो तुरही फुके र गाग्रो फुटाए। देब्रे हातमा राँको र दाहिने हातमा तुरही लिएर तिनीहरूले कराए, “परमप्रभुको निम्‍ति र गिदोनको निम्‍ति तरवार!” हरेक मानिस आफू बसेको ठाउँमा नै छाउनीको चारैतिर उभिरहे, र सबै मिद्यानीहरू चिच्‍च्‍याउँदै भागे। ती तीन सय जनाले आ-आफ्‍नो तुरही फुक्‍दा, परमप्रभुले छाउनीभरि हरेकलाई एक-अर्काको विरुद्धमा उठाउनुभयो। तब मिद्यानी सेना सरेराको बेथ-शित्तामा, तब्‍बातका छेउको हाबिलमहोलाको सिमानासम्‍म भागे। नप्‍ताली, आशेर र सबै मनश्‍शेबाट इस्राएलीहरू बोलाइए, र तिनीहरूले मिद्यानीहरूलाई खेदे। गिदोनले एफ्राइमका सबै पहाड़ी देशभरि यो समाचार लिएर मानिसहरूलाई पठाए, “तल झरेर मिद्यानीहरूलाई नाश गर, र बेथ-बरासम्‍म यर्दन नदीका घाटहरू तिनीहरूका अगाड़ि कब्‍जा गर।” यसैले सबै एफ्राइमहरू बोलाइए, र बेथ-बरासम्‍म यर्दन नदीका घाटहरू तिनीहरूले लिए। तिनीहरूले दुई मिद्यानी शासक, ओरेब र जएबलाई पक्रे। ओरेबलाई तिनीहरूले ओरेबको चट्टानमा, र जएबलाई चाहिँ जएबको दाखको कोलमा मारे, र मिद्यानीहरूलाई खेदेको खेदेकै गरे। पछि तिनीहरूले ओरेब र जएबका टाउकाहरू यर्दन वारि गिदोनकहाँ ल्‍याए।