न्यायकर्ताहरू 7:16-25
न्यायकर्ताहरू 7:16-25 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिनले ती तीन सय जना मानिसहरूलाई तीन दलमा विभक्त गरे, र हरेक मानिसलाई एउटा तुरही, र भित्र राँको भएको एउटा रित्तो गाग्रो दिए। तब तिनले तिनीहरूलाई भने, “मलाई हेर, मेरो पछि लाग। जब म छाउनीको छेउमा पुग्छु, तब म जसो गर्छु तिमीहरू पनि त्यसै गर। जब म र मेरा मानिसहरूले आफ्ना तुरही फुक्छौं, तब तिमीहरूले पनि छाउनीका चारैतिर तिमीहरूका तुरही फुक, र कराएर भन, ‘परमप्रभुको निम्ति र गिदोनको निम्ति’!” गिदोन र तिनीसँग भएका एक सय मानिसहरू राती दश बजे छाउनीको छेउमा पुगे। पहरा-चौकीको पालो भर्खर फेरेको थियो। तिनीहरूले आफ्ना तुरही फुके र आफ्ना हातमा भएका गाग्रा फुटाए। ती तीनै दल सबैले आ-आफ्नो तुरही फुके र गाग्रो फुटाए। देब्रे हातमा राँको र दाहिने हातमा तुरही लिएर तिनीहरूले कराए, “परमप्रभुको निम्ति र गिदोनको निम्ति तरवार!” हरेक मानिस आफू बसेको ठाउँमा नै छाउनीको चारैतिर उभिरहे, र सबै मिद्यानीहरू चिच्च्याउँदै भागे। ती तीन सय जनाले आ-आफ्नो तुरही फुक्दा, परमप्रभुले छाउनीभरि हरेकलाई एक-अर्काको विरुद्धमा उठाउनुभयो। तब मिद्यानी सेना सरेराको बेथ-शित्तामा, तब्बातका छेउको हाबिलमहोलाको सिमानासम्म भागे। नप्ताली, आशेर र सबै मनश्शेबाट इस्राएलीहरू बोलाइए, र तिनीहरूले मिद्यानीहरूलाई खेदे। गिदोनले एफ्राइमका सबै पहाड़ी देशभरि यो समाचार लिएर मानिसहरूलाई पठाए, “तल झरेर मिद्यानीहरूलाई नाश गर, र बेथ-बरासम्म यर्दन नदीका घाटहरू तिनीहरूका अगाड़ि कब्जा गर।” यसैले सबै एफ्राइमहरू बोलाइए, र बेथ-बरासम्म यर्दन नदीका घाटहरू तिनीहरूले लिए। तिनीहरूले दुई मिद्यानी शासक, ओरेब र जएबलाई पक्रे। ओरेबलाई तिनीहरूले ओरेबको चट्टानमा, र जएबलाई चाहिँ जएबको दाखको कोलमा मारे, र मिद्यानीहरूलाई खेदेको खेदेकै गरे। पछि तिनीहरूले ओरेब र जएबका टाउकाहरू यर्दन वारि गिदोनकहाँ ल्याए।
न्यायकर्ताहरू 7:16-25 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
अनि तिनले ती तीन सय मानिसहरूलाई तीन दलमा बाँडे। तिनले तुरहीहरू र भित्र राँकाहरू भएका रित्ता गाग्राहरू तिनीहरू सबैका हातमा राखिदिए। अनि तिनले तिनीहरूलाई भने, “मतिर ध्यान देओ।” मेरो पछि-पछि लाग। जब म छाउनीको किनारमा पुग्छु, तब मैले गरेझैँ गर। जब म र मसित भएका सबैले आफ्ना तुरही फुक्छौ, तब छाउनीका चारैतिरबाट तिमीहरूका तुरही फुकेर चिच्याउनू, “याहवेहका निम्ति र गिदोनका निम्ति!” गिदोन र तिनीसँग भएका एक सय मानिसहरू मध्यरात अगि छाउनीको छेउमा पुगे। त्यति बेला पहरेदारको पालो भर्खर फेरिएको थियो। तिनीहरूले आफ्ना तुरही फुके, र आफ्ना हातमा भएका गाग्राहरू फुटाए। ती तीनै दल सबैले आ-आफ्नो तुरही फुके, र गाग्राहरू फुटाए। तिनीहरूले देब्रे हातमा राँको समाते र दाहिने हातमा तुरही लिएर तिनीहरूले कराए, “याहवेहको निम्ति र गिदोनको निम्ति तरवार!” प्रत्येक मानिसले छाउनीको चारैतिर आ-आफ्नो मोर्चा सम्हालेको बेला सबै मिद्यानीहरू चिच्याउँदै भागे। जब तीन सय वटा तुरहीहरू फुकिए, तब याहवेहले मानिसहरूलाई आफ्ना तरवार लिएर छाउनीभरि एक-अर्कालाई हमला गर्न लगाउनुभयो। त्यो फौज तब्बातको छेउमा भएको अबेल-महोलाको सिमानासम्म सरेरातिरको बेथ-शित्तामा भाग्यो। नप्ताली, आशेर र सम्पूर्ण मनश्शेबाट इस्राएलीहरू बोलाइए, र तिनीहरूले मिद्यानीहरूलाई लखेटे। गिदोनले एफ्राइमको पहाडी मुलुकभरि यसो भन्दै दूतहरू पठाए, “मिद्यानीहरूका विरुद्धमा ओर्लिआओ, र बेथ-बारासम्म तिनीहरूको सामु यर्दनको पानीलाई घेरा लगाओ।” यसरी एफ्राइमका सारा मानिसहरूलाई बोलाइए, र तिनीहरूले यर्दनको पानीलाई बेथ-बरासम्मै लिए। तिनीहरूले मिद्यानीहरूका दुई जना शासकहरू ओरेब र जीबलाई दाखको कोलमा पक्रे। तिनीहरूले ओरेबलाई ओरेबको चट्टानमा र जेबहलाई जीबको दाखको कोलमा मारे। तिनीहरूले मिद्यानीहरूलाई खेद्दै गए, र ओरेब र जेबहका शिरहरू यर्दन वारि गिदोनकहाँ ल्याए।
न्यायकर्ताहरू 7:16-25 पवित्र बाइबल (NERV)
तब गिदोनले ती 300 मानिसहरूलाई तीन समूहमा विभाजन गरे। गिदोनले प्रत्येक व्यक्तिलाई एक-एक वटा तुरही र रित्तो भाँडो दिए। प्रत्येक भाँड भित्र जल्दै गरेको राँको थियो। तब गिदोनले मानिसहरूलाई भने, “मलाई हेर अनि म जसो गर्छु त्यसै गर। शत्रुको छाउनीको किनार तर्फ मेरो अनुशरण गर। जब म छाउनीको किनारमा पुग्छु, म जसो गर्छु ठीक त्यस्तै गर। तिनका मानिसहरूले शत्रुको छाउनीमा घेरा हाले। म अनि मेरो साथका समस्त मानिसहरूले आफ्ना तुरही बजाउने छौ। जब हामी हाम्रा तुरही बजाउँछौं, तिमीहरूले पनि आ-आफ्ना तुरही बजाऊ। त्यसपछि यी शब्दहरूमा कराऊः ‘परमप्रभु अनि गिदोनका निम्ति!’” यसरी गिदोनसँग 100 मानिसहरू शत्रुको छाउनीको किनार तिर गए। शत्रुले रक्षक बद्लि गरेकै पछि तिनीहरू त्यहाँ आए। यो रातको मध्य अवधि थियो। गिदोन अनि तिनका मानिसहरूले तुरही बजाए अनि भाँडो फुटाए। मानिसहरूले आफ्ना देब्रेहातमा राँको लिए अनि दाहिने हातमा तुरही लिएका थिए। ती मानिसहरूले तुरही बजाएको बेला तिनीहरू कराए, “परमप्रभुको निम्ति एक तरवार अनि गिदोनको निम्ति एक तरवार।” गिदोनका मानिसहरू जहाँ तिनीहरू थिए त्यहीं छाउनीको वरिपरि बसे, तर छाउनी भित्र मिद्यानका मानिसहरू कराउँदै भाग्न शुरू गरे। जब गिदोनका 300 मानिसहरूले आफ्ना तुरही बजाए परमप्रभुले मिद्यानका मानिसहरूलाई तिनीहरूका तरवारद्वारा एक-अर्कालाई मार्न लाउनुभयो। शत्रुका सेना बेतशित्ता शहरतिर भागे, जो सरेरा शहर तर्फ थिए। ती मानिसहरू हाबिल-महोला शहरको सीमानासम्म भागे जो तब्बात शहरको नजिकमा थियो। तब नप्ताली, आशेर अनि मनश्शेका सबै कुल समूहका सैनिकहरूले मिद्यानका मानिसहरूलाई खेदे। गिदोनले एप्रैमका समस्त पहाडी देश भरि समाचार लिएर दूतहरू पठाए। दूतहरूले भने, “तल झर अनि मिद्यानका मानिसहरूलाई आक्रमण गर। बेतबरा अनि यर्दन नदीलाई अधिकारमा लेऊ। मिद्यानका मानिसहरू त्यहाँ पुग्न अघिबाट नै यसो गरिहाल।” यसर्थ तिनीहरूले एप्रैम कुल समूहका सबै मानिसहरूलाई बोलाए। बेतबरासम्म यर्दन नदी तिनीहरूले अधिकार गरे। एप्रैमका मानिसहरूले दुइजना मिद्यानी अगुवाहरूलाई पक्रे। यी दुइ अगुवाहरूका नाउँ ओरेब अनि जेएब थियो। ओरेबलाई एप्रैमका मानिसहरूले ओरेबको चट्टान नामक स्थानमा हत्या गरे। जएबलाई तिनीहरूले जएबको दाखको कोल नाउँको स्थानमा हत्या गरे। एप्रैमका मानिसहरूले मिद्यानका मानिसहरूलाई खेदे। तर तिनीहरूले पहिला ओरेब अनि जएबको शिरकाटे अनि ती शिरहरू गिदोन कहाँ लगे। गिदोन त्यस स्थानमा थिए जहाँ मानिसहरू यर्दन नदीपारी तर्थे।
न्यायकर्ताहरू 7:16-25 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
उनले आफ्ना तीन सय मानिसहरूलाई तीन दलमा बाँडे। हरेक मानिसलाई उनले एउटा तुरही र एउटा भित्रपट्टि राँको बलेको गाग्रो दिए, र भने, “जब म शत्रुको छाउनीछेउमा पुग्छु, मलाई हेर्नू र म जसो गर्छु, त्यसै गर्नू। मेरा दल र मैले तुरही फुक्दा तिमीहरूले पनि छाउनीको चारैतिर आफ्ना तुरही फुक्नू र कराएर यसो भन्नू ‘परमप्रभुको निम्ति र गिदोनको निम्ति!” गिदोन र उनीसँग भएका एक सय मानिसहरू मध्यरात हुनभन्दा केही अघि छाउनीको छेउ आइपुगे। शत्रुका पहराहरू भर्खरै मात्र साटिएका थिए। तिनीहरूले तुरही फुके र आफूले बोकेको गाग्रो फुटाए। अनि अरू दुई दलले पनि त्यसै गरे। सबैले आफ्ना देब्रे हातमा राँको समाते, दायाँ हातमा तुरही लिए र कराएर भने, “परमप्रभुको निम्ति र गिदोनको निम्ति तरवार!” प्रत्येक मानिस आफ्नो ठाउँमा छाउनीको चारैतिर उभिरह्यो अनि शत्रुका सारा सेना चिच्च्याउँदै भागे। गिदोनका मानिसहरूले तुरही फुकेको बेलामा परमप्रभुले शत्रुलाई आपसमा एक-अर्कालाई तरवारले हानाहान गर्न लाउनुभयो। तिनीहरू सरेरातर्फ भागे र बेथ-शित्ता र तब्बातछेउको हाबिल-महोला सहरसम्म पुगे। तब नप्ताली, आशेर कुल र मनश्शे कुलका दुवैपट्टिका मानिसहरूलाई बोलाउन पठाइयो। तिनीहरू आएर मिद्यानीहरूलाई खेदे। एफ्राइम पहाडी देशभरि गिदोनले मानिसहरू पठाएर खबर गरे, “तल आएर मिद्यानीहरूसँग लडाइँ गर। यर्दन नदी र बेथ-बरासम्म खोलाहरू हातमा लेओ र मिद्यानीहरू पार गरी भाग्न नसकून्।” एफ्राइमहरू एकसाथ आए र यर्दन नदी र बेथ-बरासम्म खोलाहरू हात पारे। तिनीहरूले ओरेब र जएब नाम गरेका मिद्यानी अगुवाहरूलाई पक्रे र ओरेबलाई ओरेबको चट्टानमा र जएबलाई जएबको दाखको कोलमा मारे। तिनीहरूले मिद्यानीहरूलाई खेदि नै रहे अनि ओरेब र जएबका शिर गिदोनकहाँ ल्याए। गिदोन त्यस बेला यर्दनको पूर्वपट्टि थिए।