YouVersion लोगो
खोज आइकन

न्यायकर्ताहरू 2:10-19

न्यायकर्ताहरू 2:10-19 NNRV

त्‍यस जम्‍मै पुस्‍ताका सबै जना आफ्‍ना पिता-पुर्खाहरूसँग मिले। पछि एउटा अर्को पुस्‍ता आयो जसले परमप्रभुलाई चिन्‍दैनथ्‍यो न त उहाँले इस्राएलको निम्‍ति गर्नुभएको कामलाई पनि जान्‍दथ्‍यो। जे परमप्रभुको दृष्‍टिमा खराब थियो, इस्राएलीहरूले त्‍यही गर्न लागे, र बाल देवतालाई पूजा गर्न लागे। तिनीहरूलाई मिश्रदेशबाट निकालेर ल्‍याउनुहुने आफ्‍ना पिता-पुर्खाहरूका परमप्रभु परमेश्‍वरलाई त्‍यागेर तिनीहरू अरू देवताहरूका पछि लागे— अर्थात्, आफ्‍ना वरिपरि बस्‍ने जातिहरूका देवताहरूलाई पछ्याए। तिनीहरू ती देवताहरूका सामुन्‍ने निहुरे, र परमप्रभुलाई क्रोधित तुल्‍याए। तिनीहरूले परमप्रभुलाई त्‍यागेर बाल र अश्‍तोरेत देवताहरूलाई पुजे। परमप्रभुले आफ्‍नो क्रोधमा तिनीहरूलाई डाँकूहरू र लुट्‌नेहरूका शिकार तुल्‍याउनुभयो। उहाँले तिनीहरूलाई तिनीहरूका वरिपरिका शत्रुहरूका हातमा बेचिदिनुभयो, र तिनीहरू आफ्‍ना शत्रुहरूका सामुन्‍ने टिक्‍न सकेनन्‌। हरेक पल्‍ट तिनीहरू लड़ाइँ गर्न निस्‍कँदा परमप्रभुले आफ्‍नो गम्‍भीर चेताउनी दिनुभएअनुसार तिनीहरूमाथि विपत्ति ल्‍याउनुभयो, र तिनीहरू साह्रै सङ्कष्‍टमा परे। त्‍यसपछि परमप्रभुले तिनीहरूमाथि न्‍यायकर्ताहरू खड़ा गर्नुभयो, जसले तिनीहरूलाई यी डाँकाहरूका हातबाट बचाए। तर तिनीहरूले यी न्‍यायकर्ताहरूका कुरा पनि सुनेनन्‌। तिनीहरू व्‍यभिचारीसरह अरू देवताहरूको पूजा गर्न र उनीहरूका सामु निहुरन लागे। तिनीहरूले आफ्‍ना पिता-पुर्खाहरू हिँडेका परमेश्‍वरका आज्ञापालनको बाटो चाँड़ै नै छोड़िदिए। जहिले पनि परमप्रभुले तिनीहरूमाथि न्‍यायकर्ता खड़ा गर्नुभयो, परमप्रभु त्‍यो न्‍यायकर्तासँग हुनुहुन्‍थ्‍यो, र तिनी बाँचुञ्‍जेल उहाँले तिनीहरूलाई शत्रुहरूका हातदेखि बचाइराख्‍नुहुन्‍थ्‍यो। किनकि दुर्व्‍यवहार र अत्‍याचारमा पर्दा जहिले पनि तिनीहरूले सुस्‍केरा मार्दथे परमप्रभुले तिनीहरूमाथि दया गर्नुहुन्‍थ्‍यो। तर ती न्‍यायकर्ता मर्ने बित्तिकै तिनीहरू आफ्‍ना पुर्खाहरूभन्‍दा पनि अझ बढ्‌ता भ्रष्‍टाचारमा पर्दथे, र अरू देवताहरूलाई पुज्‍दै र उनीहरूका सामु निहुरिँदै आफ्‍नो भक्ति प्रकट गर्दथे। तिनीहरूले आफ्‍ना दुष्‍ट व्‍यवहार र हठी चाललाई छोड्‌न अस्‍वीकार गरे।