तँलाई धिक्कार! अरीएल, अरीएल, सहर जहाँ दाऊदले बसोबास गर्थे। वर्षमाथि वर्ष थप्दै जाओ र चाड़हरू फेरो मार्दैआऊन्। तापनि म अरीएललाई घेरा हाल्नेछु र त्यो रुनेछ र त्यसले विलाप गर्नेछ, त्यो मेरो निम्ति वेदीको अगेनो हुनेछ। म तेरो चारैतिर छाउनी बनाउनेछु र धरहरा बनाएर तँलाई घेर्नेछु, र म तेरो विरुद्धमा घेरा हाल्ने काम गर्नेछु। तँ तल खसालिनेछस् र भूइँबाट बोल्नेछस्, तेरो अस्पष्ट शब्द धूलोभित्रबाट निस्कनेछ, तेरो सोर प्रेतको जस्तो पृथ्वीबाट निस्कनेछ, र तेरो बोलीले धूलोभित्रबाट कानेखुसी गर्नेछ। तर तेरा धेरै शत्रुहरूचाहिँ धूलोका मसिना कणजस्ता हुनेछन्, र निर्दयीहरूको भीड़चाहिँ उड़ाइएको भुसजस्तै हुनेछ। झट्टै पलभरिमा नै सर्वशक्तिमान् परमप्रभु गड्याङगुडुङ, भुइँचालो र ठूलो आवाज, भुमरी र आँधीबेहरी, भस्म गर्ने आगोको ज्वालासित आउनुहुनेछ। अरीएलको विरुद्धमा लड़ाइँ गर्न सारा जाति-जातिहरूका भीड़हरू, जसले त्यसको किल्लालाई आक्रमण गर्छन्, र त्यसलाई घेरा लगाउँछन्, ती सपनाझैँ, अर्थात् रातको दर्शनझैँ हुनेछन्। जसरी भोकाएको मानिसले सपनामा खाएको देख्छ, तर ब्यूझँदा त्यो भोकै हुन्छ, अथवा जसरी तिर्खाएको मानिसले सपनामा पानी पिइरहेको देख्छ, तर ब्यूझँदा घाँटी सुकिरहेको र तिर्खा नमेटिएको हुन्छ। सियोन पर्वतको विरुद्धमा लड्ने सबै जाति-जातिका भीड़हरूको दशा पनि त्यस्तै हुनेछ। आश्चर्यचकित, र छक्क पर, अन्धा भएर दृष्टिविहीन होओ। मतवाला त होओ तर दाखमद्यले होइन, धरमरिओ, तर जाँड़ले त होइन। परमप्रभुले तिमीहरूमा गहिरो निद्रा ल्याइदिनुभएको छ, र तिम्रा आँखा (अर्थात् अगमवक्ताहरू) बन्द गरिदिनुभएको छ, र तिम्रा शिर (अर्थात् दर्शन देख्नेहरू) ढाकिदिनुभएको छ।
यशैया 29 पढ्नुहोस्
सुन्नुहोस् यशैया 29
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यशैया 29:1-10
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू